देश–समाज राजनीति विचार/वहस स्थानीय

जेन–जीलाई असान्दर्भिक बनाउने कसरत पो हुँदैछ कि !

नयाँ तीन दलीय, इनताकाको तुलनात्मक रूपले सकारात्मक–नकारात्मक बहुचर्चित, गठबन्धनले टेक्न प्रारम्भ गरेको ’खुट्टी हेर्दै’ भविष्यका प्रति जन–भावनाको धरती नै झस्किने अवस्था प्रादुर्भाव भएको छ ! अर्थात् , राज्यका प्रति दलहरूको निम्नतम् जिम्मेवारी भनेकै राज्य–निर्धारित नीति र त्यसकोआवश्यकतागत अवधारणालाई जगेर्ना गर्नु र व्यवहारमा उतार्नु हो । प्रसंग – हाल आमसञ्चारबाट सतही प्रशंसा, समर्थन तथा आलोचना छत्ताछुल्ल भइरहेको, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र बालेन साहा पक्षीय समूहको बिलय भएपछिको सो पार्टीको पहिलो ओैपचारिक राजनीतिक पाइलोको हो । अथवा, प्रसंग – त्यो पार्टीले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा बुझाएको सूचीमा पारेका व्यक्तिहरूका अनुहार र तिनमा निहित सो तीन–काँधे दल रास्वपालाई ’पुराना दलहरू’–भन्दा कस्तो ’भिन्न’ वा कस्तो ’नयाँ’ देखायो? भन्ने पनि हो । समानुपातिक सांसदको नीतिगत अवधारणाको उत्पति त उपेक्षित, उत्पीडित आदि सीमान्तकृत पीडित–प्रताडितहरूको, राष्ट्रिय नीति–निर्माता मानिने संसद वा समग्रमा राज्य–व्यवस्थापनको दोस्रो जिम्मेवार निकायमा, प्रतिनिधित्व थियो । तर, जेन–जीको ’सानोतिनो प्रलयकारी नै मान्न मिल्ने क्रान्ति’–ले ल्याएको परिवर्तनले आँकेको मूलतः ’जनअपेक्षा अनुकूल सुशासन’–कै डिङ हाँक्तै बनेको हालको थप ’गठबन्धित शक्तिशाली’ –?) राष्ट्रिय स्वतन्त्र पार्टीले उपर्युक्त राष्ट्रिय नीतिको खिल्ली उडाएको छ । अथवा, उसले आफूलाई नयाँ ’जनमुखी परिवर्तन’–को भाष्यभूमिमाथि उभिएको भन्दै पुराना ठूला स्वेच्छाचारी पार्टीहरूकै व्यहोरा अनुशरण गर्दै आफ्नो तर्फबाट समानुपातिक प्रतिनिधित्वका लागि निर्वाचन आयोगमा देशका ओैसद अगुवा–सम्भ्रान्त र सेलिब्रिटीहरूका नाम पठाउनु भनेकै दुत्कार्य विषय थियो । यसको देशव्यापी बिडम्वनापूर्ण आलोचनामा निफन्निरहेको अवस्थामा भएको सुधारले शुरूको सो ’प्रवृतिगत गल्ती’–लाई छोप्नु भनेको आँखा छोपेर लँगौटी फुकाले जस्तै होइन र ? ’सबभन्दा ठूलो र दोस्रो ठूलो जनाधारशाली’–को भ्यागुते दम्भ राखिराखेका पार्टीहरू क्रमशः नेपाली कङरेस र एमालेले पूर्व र वर्तमान राष्ट्रपतिहरूका छोरा–छोरी,पूर्व पटके मन्त्रीहरू र धनी–धनाड्य सेठ–साहूका पत्नी–नातेदारहरूलाई समेत समानुपातिको उम्मेदवार बनाएर संविधान–निर्दिष्ट पद्धतिकै उछितो काडेका छन् । उनीहरूले चलाउँदै आएका यस्ता बिधि–मिचुवा अधिनायकीय चाल–चलनबाट असन्तुष्ट र आक्रोशित जन–मानसको उत्सर्जनबाट नागरिक कित्तामा आवर्तित मनोविज्ञानको सिँढी उक्लेर राजनीतिको फसल सपार्दै आएकाहरू बटुलिएर बनेको आजको रास्वपा पनि उनीहरूभन्दा के भिन्न भए त ? अतः यही गाईजात्रे प्रस्तुतीलाई नै देश र देशवासी हरेक स्थितिका प्रति इमानदार कलम र बाणीहरूले ’देश अक्करिलो संकटतर्फ धकेलिँइरहेको’ विषाद पोखिआएका हुन् । तर, जसका प्रति ’नयाँ शक्ति’–हरू संवेदनशील हुन्छन् र सुधारका आभा देख्न पाइन्छ भन्ने जुन जनाशा थियो त्यो पनि क्रमशः भिमलाएर फेरि पनि धोकामै परिणत हुने परिस्थिति देखिँदो छ । यसले हाल–साविकमा शासक बनेर देश र देशवासीलाई छक्याई–छक्याई उदरपूर्ति गर्ने ’सत्तारूपी’ जालीझेली खेलका कुलतीहरूलाई बाँकट्टे खेल्ने मनग्गे मौका मिलेको देखिन्छ ! र, उनीहरू फेरि पनि निर्बाध उफ्रीपाफ्रीमा प्रस्तुत छन्–जुन दृश्यले जतिसुकै उद्विग्नता प्रक्षेपण गरिरहेको भए पनि देश र देशवासी हार्दै गएका छन् । हार्नेले जित्नेलाई करैले पनि श्रेष्ठ मान्नैपर्ने परम्परा त छँदैछ नै !
अन्यथा, आफूलाई ’नयाँ’ र ’वैकल्पिक’ दल भनिरहेकाहरूका ’दलपति’ वा मुखियाहरूले पनि, ’विदेशी शक्तिहरूले कान समाएर उठबस गराइरहेको देखिने’, पुरानाहरूकै लय समाउनुलाई अरू के भन्ने त ? अन्यथा, ’सार्थक वैकल्पिक शक्ति’–ले नागरिक कित्ताको नेपालमा राजनीतिक पेशाका अगुवा र पिछेलग्गुहरूले जस्तै विभाजनकारी लक्षण प्रक्षेपण गर्न थाल्नुलाई कसरी बुझ्नु ? देशको परिभाषामा ’देशवासी’–जनता !)–को स्थान सरासर भूगोलपछिको दोस्रो होइन र ?
र, यस परिप्रेक्ष्यमा नढाँटी भन्ने हो भने, देश र देशवासीले ठूला दलहरूलाई मान्दै गइरहनु परेको अवस्थाको पुनर्सूत्रपातले ’सरकारी कर जसरी पनि तिर्नु परिरहे जस्तो’, एक किसिमको , ’सर्वाेपरि बाध्याता’–को स्थितितिर ’देश’–ले धकेलिनै पर्ने हुँदै गएको देखिन्छ ! जताततै लथालिङ्ग, भताभुङ्ग ; जताततै भ्रष्टाचार, कमिशनखोरी, घुसखोरी ; जताततै नाता–कृपावादको बोलवाला ; जताततै महगी, मिसावटखोरी–नफाखोरी इत्यादिले रूवाइरहेको भूइँ–नागरिकका रोदन–क्रन्दनले देशको भूगोल ग्रस्त छ । त्यसो भए २०४७ सालदेखि आजसम्म कस्तो प्रजातन्त्र, कस्तो लोकतन्त्र वा कस्तो गणतन्त्र जन–धरातलको आभ्यासिक यथार्थमा रहेछ? त्यसो भए भ्रष्टाचारमुक्त जनगणमुखी सुशासनको जेन–जी आग्रह आच्छादित नेपाल विलोम मोडतिर धकेलिनु केको संकेत हो त ? विज्ञ–अभिज्ञ प्रायः सबै वर्ग र कित्ता–कान्लाका नेपाली आ–आफ्नै बोधशक्ति बमोजिम अलमल्लमा परेका छन् । यही विकराल स्थितिमाथि मौकापरस्त घोडा चढेर उक्सिएका ’वैकल्पिक’ नामक मुखुन्डोधारीहरूले नै यसरी जेन–जी पुस्ताको साहसिक विद्रोहबाट प्रादुर्भूत देशको यो ताजा वर्तमानमा जेन–जीकै राजनीतिक प्रकरणमाथि नै बलात् थिचोमिचो गरी त्यसलाई असान्दर्भिक बनाइरहेको ठहर्दैन र ? अतः अहिले यस्ता अनगिन्ती प्रश्नहरू मुखर छन् !–जसको कैरन छोटो हुन सक्तैन ! त्यसैले, बस्, आजलाई यत्ति नै !!….
+++++++++++

Author

You may also like