दमक । फागुन २१ का लागि तोकिएको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले तयारी तिव्र पारेको छ । स्वभाविकै रुपमा अहिले कसैलाई बढि चुनाव लागेको छ भने, त्यो निर्वाचन आयोगलाई हो । राजनीतिक दलहरु पनि यस तर्फ अघि बढि सकेका छन् । समानुपातिक तर्फको सुची बुझाएसँगै दलहरुमा प्रत्यक्ष तर्फका उम्मेद्वार छनौटको चटारो शुरु भएको छ । केहिजिल्लाहरुबाट सम्भावित उम्मेद्वारहरुको सुची केन्द्रमा पठाउने क्रम शुरु भएको छ, केहिमा जारी छ । अहिले चुनावी मार्गमा निर्वाचन आयोग अघि अघि र दलहरु पछि पछि देखिएका छन् ।
निर्वाचनमा देश होमिई रहेका बेला सुरक्षा चुनौती बढाउने गरि कतिपय घट्नाहरु हुन थालेका छन् । झापामा एक शंकास्पद बस्तु भेटियो र सेनाले नष्ट बनायो । सुनसरीमा तस्करी नियन्त्रणका लागि भन्दै सुरक्षाकर्मीले गोली चलायो, एक जनाको ज्यान गयो । मधेश प्रदेशका विभिन्न ठाउँमा पनि सुरक्षा प्रवन्धलाई चुनौती दिने गरि केहि घटनाहरु भएका छन् भने कतिपय नेतााहरुले निर्वाचनको वातावरण अझै बनि नसकेको पनि बताई रहेका छन् । त्यसैले देशमा बन्दै गएको निर्वाचनको वातावरण विथोलिन नदिन राज्य जिम्मेवार बन्नु पर्ने देखिएको छ । यस्तै थप सुरक्षा प्रवन्ध मिलाउन, सामाजिक रुपमा देखा पर्ने चुनौतीहरुलाई व्यवस्थापन गर्न, नागरिकमा डर–त्रास पैदा हुने गतिविधिहरु नियन्त्रणमा राख्न आवश्यक देखिन्छ ।
बिराटनगर र वीरगञ्जमा प्रदर्शन
निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न घटनाका कारण कतिपय ठाउँमा बिरोध प्रदर्शनहरु भई रहेका छन् । प्रत्यक्ष रुपमा यस्ता प्रदर्शनका विषय चुनावसँग नजोडिए पनि सुरक्षा व्यवस्थामा चुनौती दिने घट्नाहरुले निर्वाचनको माहोल विथोल्न सहयोगी भुमिका खेल्ने निश्चित छ ।
यसै क्रममा सुनसरीको लौकीमा सुरक्षाकर्मीको गोली प्रहारबाट सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनालाई लिएर विराटनगरको सीमा क्षेत्रमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । युवाहरु अगुवाइमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादती र बढ्दो महँगीको विरुद्धमा प्लेकार्ड बोकेर उनीहरुले बिरोध जनाएका हुन् ।
यस्तै टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । त्यहाँ असन्तुष्ट समुहले बिरोध प्रदर्शन गरेको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थितिका कारण सतर्कता बढाइएको बताए । केही दिन अगाडि जनकपुरमा टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरिएको थियो । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती भिडीयो पोष्ट गर्नेलाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरु आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बम बताउँछन् । त्यस पछि यस क्षेत्रमा तनाव पैदा भएको हो ।
दलहरुका आफ्नै तर्क
राजनीतिक दलहरुले भने चुनावी वातावरणलाई लिएर आआफ्नै तर्क गरि रहेका छन् । प्रमुख मध्येको एक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथिको स्थानहद सरकारले फुकुवा गरेको छैन । मुख्यनेताहरुलाई नियन्त्रणमा राखेर कसरी चुनावको वातावरण बन्छ ? भनेर ति दलका नेताहरुले बताई रहेका छन् । एमालेले संसद पुनस्र्थापना भए मात्र राजनीतिक निकास निस्कने बताई रहे पनि उसले समेत चुनावको तयारी भने अघि बढाई रहेकै छ ।
यसै क्रममा आईतबार
जनकपुरमा नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताए । ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् । लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् । त्यो हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ ?’ उनको प्रश्न थियो । उनले विगतमा संसद विघटन हुँदा सर्वोच्चले पूर्वावस्थामा फर्काएको स्मरण गर्दै अहिले पनि सोही अवस्थामा पुर्याएर निकास दिनुपर्ने धारणा राखे ।
तर केहि दिन संखुवासभा आएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने क्रमिक रुपमा निर्वाचनको वातावरण बन्दै गएकाले राजनीतिक निकाशका लागि निर्वाचननैं एक मात्रै विकल्प रहेको दावि गरेका थिए । नेपाली कांग्रेस अहिले महाधिवेशनको अन्तरकलहमा फसेकाले उसका शिर्षनेताहरुले चुनावी वातावरण बारे केहि बोल्न भ्याएका छैनन् । तर उसले पनि उम्मेद्वार छनौटको काम भने अघि बढाएको छ । राप्रपा आगामी चुनावकै लागि थप बलियो भएर अघि सरि रहेको छ भने रास्वपामा अन्यनेतााहरु समेत सहभागी भई बलियो विकल्पको रुपमा उदाउने प्रयासमा छन् ।
ओली–प्रचण्ड भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको बताइएको छ । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।
राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा।प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेतारू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन् । यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । तर, नेताहरूले भेटका विषयबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।