देशमा गणतन्त्र स्थापनापश्चात आएको दमकको स्थानीय सरकारले दमकका निम्ति महत्वपूर्ण योगदान गर्ने जाती वा समुदाय खोज्दै गर्दा धिमालहरु अगाडि देखिएपछि उनीहरु पहिलो नागरिक घोषणा गरियो । त्यो घोषणा भएको ७ वर्ष पुगिसक्दा पनि धिमाल बाहेक अरुको हुन नसक्नु पीडादायी रहेको वक्ताहरुले औल्याए ।
धिमाल व्यवस्थापन समिति उर्लाबारी नगरसमितिका सचिव तथा धिमाल जाति विकास समितिका महासचिव मातृका धिमालले दमक नगरपालिकाको गल्लि, गल्लि र चोक चोकमा धिमालले मात्र होइन, यहाँ बसोबास गर्ने सबै समुदाय, विभिन्न जातजातिहरुले यो सातौ स्थापना दिवस मनाउनु पथ्र्यो । कसैले एउटा सानो विवाह पार्टी गर्दा देखिने तामझामले आजको यो कार्यक्रमलाई फिक्का बनाइदिएको महसुस भएको पनि उनले बताए । उनले भने– त्यो बेला दल दल र घना जंगल रहेको दमकलाई सहरमा रुपान्तरण गरेर यहाँहरुलाई बसोबासका लागि योग्य भूमि निर्माण गर्ने धिमालहरु अहिले जनजनको मनमा बस्नु पर्दथ्यो । यो समुदायका मात्रै नभएर दमकबासीका लागि दमकका पहिलो नागरिक घोषणाको विषयलाई गौरवमय र साझा बनाइनु पर्दथ्यो तर त्यसो हुन नसक्नु दुःखदायी रहेको बताए ।
हो साँच्चै नै पृथ्वीनारायण शाहले भने झै नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो । यो फुलबारीमा फुल्ने हरेक फुलहरु यस देशका गहना हुन । सम्पत्ति हुन । यहाँ बसोबास हरेक सबैका आ–आफ्ना संस्कार, संस्कृति, विधि र विधान छन यहि कारणले पनि विदेशीहरु नेपाली संस्कृतिको व्याख्या गर्ने गर्दछन् र हेर्न आउने गरेका छन् । विभिन्न जातजाति, भाषाभाषीको फूलबारीका रुपमा चिनिएको नेपाल सांस्कृतिक रूपमा अन्य विकसित मुलुकहरू भन्दा अगाडि छ। विविध जातिहरूका यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई आफ्ना जातीय संस्कृति, भाषा, भेषभुषा, परम्परा र रितिरिवाजलाई सकारात्मक सन्देशसहित पुस्तान्तरण गर्नुपर्ने दायित्व पनि हामीले बोकेका छौं । त्यसै पनि भावी पुस्ताका लागि इतिहास खुल्ला किताब हो । मौलिक पर्वहरू जोगाई राख्न हरेक समुदायलाई चलायमान गराउन राज्य निकै चनाखो बन्दै स्वच्छ, निष्पक्ष, भाइचारा, एकताका कार्यक्रम ल्याएर सबैलाई एकत्रित गर्न सक्ने ल्याकत सरकारमा हुन आवश्यक देखिन्छ ।
बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक हाम्रो देशमा फरक–फरक धर्म अंँगाल्ने धर्मावलम्बीका फरक–फरक पर्व तथा परम्परा छन् । धर्म संस्कृतिमा विविधता एवं धार्मिक तथा सामाजिक सहिष्णुता नेपाल र नेपालीका विशेषता हुन् । संस्कृति समाजका ऐना हुन् । समाजको पहिचान संस्कृतिले बोकेको हुन्छ र त्यही संस्कृतिमै सभ्यता र पुर्खाको इतिहास मिसिएको हुन्छ । सभ्य र सचेत समाजमा संस्कृतिका नकारात्मक पक्षलाई परिमार्जन गर्दै जगेर्ना, उत्थान र संरक्षणमा लाग्न आवश्यक देखिन्छ ।
विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी कसैले भुल्न हुन्न । सबैका साझा सम्पत्तिका रुपमा विभिन्न जातजाति, धर्म र समुदायका संस्कार, संस्कृतिको गजेर्ना, उत्थान र संरक्षणका निम्ति स्थानीय सरकारका सचेत, निष्पक्ष र स्वच्छ भएर सबैका लागि स्थानीय सरकारको अनुभुत गराउन सक्नु पर्दछ । अरुलाई पाखा लगाएर एउटालाई मात्र गर्ने वा केहीलाई गर्ने र केहीलाई नहेर्ने परिपाटीले हाम्रा संस्कृतिमाथि अतिक्रमण हुन सक्छ, वा लोप हुन सक्ने देखिन्छ । जातजातिका संस्कृति समुदायबीचको एकता अनि प्रेमको प्रतीक बन्न र बनाउन सक्नु पर्दछ । सांस्कृतिक उत्सवहरूले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन गरेको हुन्छ । असत्य परित्याग गर्दै सत्य अवलम्बन गर्ने प्रेरणा प्राप्त होस भनेर भर्खरै दशैंमा मान्यवरबाट टिका ग्रहण गर्दै विजया दशमी २०८१ लाई बिदा गरिसकेका छौं । यस्ता मौलिक परम्पराबाट हामीले शिक्षा लिनुपर्ने हुन्छ । सबै जातजातिका संस्कृतिलाई लोप हुन नदिन र तिनीहरुका संस्कृतिको माध्यमबाट एकता, भाइचाराको सम्बन्ध स्थापित गरिरहनका निम्ति पनि स्थानीय सरकारले सबै जातजाति, धर्म र समुदायका निम्ति आवश्यक कार्यक्रम, योजना, नीति र निर्णय गर्न आवश्यक देखिन्छ । यिनैको माध्यमबाट उनीहरुको रोजीरोटी, शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउन सक्नु पर्दछ । तबमात्र सभ्य, सुसंस्कृति र स्वाभिमानी समाजको निर्माण हुनसक्छ ।