देश–समाज मुख्य शिक्षा समाचार

गर्मीले बालबालिकाहरु बढी प्रभावितः विद्यालयहरु धमाधम बन्द हुँदै

दमक/ अत्यधिक गर्मीका कारण विद्यालय सञ्चालनमै असर पर्न थालेपछि तराई क्षेत्रमा जनस्वास्थ्यप्रति चिन्ता बढेको छ । महोत्तरी, कपिलवस्तुसहित देशका विभिन्न स्थानीय तहले उच्च तापक्रमका कारण नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिने क्रम बढ्दो छ । महोत्तरीमा बर्दिबास नगरपालिका, गौशाला नगरपालिकालगायत अन्य स्थानीय तहले समेत विद्यालय बन्द गरिसकेका छन् । घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाए। विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन् ।
यता झापासहित पूर्वी तराईका जिल्लामा पनि गर्मीले जनजीवन कष्टकर बनाएको छ ।
झापासहित पूर्वी तराईका जिल्लामा लगातार चार दिनदेखि चर्को घाम लागिरहेकाले तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, बिरामी तथा दैनिक ज्यालादारी मजदुर बढी प्रभावित बनेका छन्। दिनको समयमा घरबाहिर निस्कनसमेत कठिन हुने अवस्था सिर्जना भएको स्थानीयवासी बताउँछन् । अत्यधिक तातो हावाका कारण सर्वसाधारण घरबाहिर ननिस्कन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो दिनहरूमा डिहाइड्रेसन, टाउको दुख्ने, चक्कर लाग्ने, र गर्मीजन्य थकान जस्ता समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू बढी जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् ।
अत्यधिक गर्मीका कारण सडक, बजार र सार्वजनिक स्थानहरूमा मानिसहरूको चहलपहल घटेको छ। दिउँसोको समयमा यातायात तथा व्यापारिक गतिविधि समेत प्रभावित भएको देखिन्छ। धेरै स्थानमा मजदुरहरूले काम गर्ने समय छोट्याउन बाध्य भएका छन् भने निर्माण क्षेत्रका कामहरू पनि सुस्त बनेका छन् । स्वास्थ्य विज्ञहरूले पर्याप्त पानी पिउन, हल्का र सुती कपडा लगाउन, अत्यधिक घाममा ननिस्कन र आवश्यक परे छायाँमा बस्न सुझाव दिएका छन्। साथै, शारीरिक श्रम गर्नेहरूले समय मिलाएर काम गर्नुपर्ने उनीहरूको भनाइ छ ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा गर्मीको तीव्रता बढ्दै गएको विज्ञहरूको विश्लेषण छ। दीर्घकालीन रूपमा हरियाली संरक्षण, वातावरणीय सन्तुलन र सहरी क्षेत्रमा ताप कम गर्ने उपाय अपनाउन आवश्यक रहेको उनीहरूले जोड दिएका छन् ।
बढ्दो गर्मीका कारण जनस्वास्थ्य, शिक्षा, रोजगारी र दैनिक जीवनमा प्रत्यक्ष असर देखिन थालेको अवस्थामा सरोकारवालाहरूले पूर्वसूचना प्रणाली, स्वास्थ्य सेवा तयारी, सार्वजनिक खानेपानी व्यवस्था तथा समुदायस्तरमा सचेतना अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। विशेषज्ञहरूले अत्यधिक घाममा ननिस्कन, प्रशस्त पानी पिउन, रसिलो खानेकुरा सेवन गर्न र लूबाट बच्ने उपाय अपनाउन सबैलाई आग्रह गरेका छन् ।

Author

You may also like