देश–समाज राजनीति समाचार स्थानीय

राप्रपाले दमक नपामा ज्ञापनपत्र बुझाए

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले शुक्रबार दमकसहित जिल्लाका सबै १५ स्थानीय तहमा एकैसाथ ज्ञापनपत्र बुझाउँदै किसान, मजदुर, सुशासन र विकाससँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।
सोही क्रममा क्षेत्र नं. ५ (ख) राप्रपा झापाले दमक नगरपालिकालाई १४ बुँदे ज्ञापनपत्र बुझाउँदै किसान, विकास निर्माण, सेवा प्रवाह र सुशासनसँग सम्बन्धित विविध समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
नगर प्रमुखलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रमा कृषकका लागि समयमा मल, बिउबिजन र कीटनाशक औषधिको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने माग प्रमुख रूपमा राखिएको छ। किसानले उत्पादन गरेका खाद्य तथा नगदे बालीको न्यूनतम समर्थन मूल्य नपाइरहेको भन्दै उचित मूल्य सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको दीर्घकालीन व्यवस्थापन र जग्गाधनी प्रमाण–पत्र वितरणमा तीव्रता दिनुपर्ने माग गरिएको छ। स्वास्थ्य बीमा प्रणालीमा देखिएको अन्योल हटाई सेवा सहज, सर्वसुलभ र झन्झटरहित बनाउन तथा यसअघिको निःशुल्क स्वास्थ्य बीमा निरन्तरता दिन पनि ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य र विद्युतमा कर लगाउने हालको नीतिको विरोध गर्दै तत्काल फिर्ता लिनुपर्ने माग गरिएको छ। बजारमा मूल्यवृद्धि तीव्र भएको भन्दै प्रभावकारी बजार अनुगमन, मूल्यसूची अनिवार्य प्रदर्शन र कालोबजारी नियन्त्रण गर्न पनि आग्रह गरिएको छ ।
यसैगरी ग्यास आपूर्ति सहज बनाउन, सिलिन्डरमा कम ग्यास हुने गुनासो नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने, र नगरभित्रका विकास योजनाहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने माग गरिएको छ। बेरुजु रकम नियन्त्रण, असुली प्रक्रिया कडाइका साथ अघि बढाउन पनि ज्ञापनपत्रमा जोड दिइएको छ ।
नगरपालिकाबाट हुने कर तथा दस्तुरहरू जनमैत्री बनाउन, घर नक्सा पास प्रक्रिया सुलभ बनाउन र निःशुल्क नक्सा पास नीति कार्यान्वयन गर्न पनि माग गरिएको छ । दमक बहुउद्देश्यीय पार्क र चिसापानी–रवि सडक जस्ता दीर्घकालीन विकास योजनालाई प्राथमिकतामा राखी तत्काल निर्माण अघि बढाउन आग्रह गरिएको छ । ज्ञापनपत्रमा यी सबै विषयलाई सम्बोधन गरी स्थानीय सरकारलाई जनउत्तरदायी, पारदर्शी र विकासमुखी बनाउन पहल गर्न नगरपालिकासँग अनुरोध गरिएको छ । ज्ञापनपत्र क्षेत्र नं. ५ ख झापाका अध्यक्ष ताराप्रसाद अधिकारीले नगरप्रमुख रामकुमार थापालाई हस्तान्तरण गरेका थिए ।

Author

You may also like