देश–समाज मुख्य

हात्तीको त्रास कायमै, भकारी जोगाउनै मुस्किल


दमक/ झापाका किसानलाई पाकेको बाली र भकारी जोगाउन मुस्किल परेको छ । झापाको उत्तरी क्षेत्रका किसान यतिबेला जंगली हात्तीको डरका कारण रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बंगालतर्फबाट हुल बाँधेर आउने जंगली हात्तीले खेतबारीमा पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बन्दै गएको हो ।
शुक्रबार राति अर्जुनधारा नगरपालिका–६ स्थित खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा जंगली हात्तीले बाली खाएर तथा कुल्चेर पूर्ण रूपमा नष्ट गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो । हात्तीको त्रासका कारण यतिबेला जिल्लाका अधिकांश स्थानमा किसानले खेतमा पाकेको बाली सुरक्षाकर्मीको पहरामा भित्र्याउनुपर्ने अवस्था छ ।
गत हप्ता मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान लक्ष्मी घिमिरेको खेतको पाकेको धान हात्तीबाट जोगाउन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हतारहतार काटेर घर भित्र्याइयो । तर, घिमिरेको चिन्ता अझै हटेको छैन ।
मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सयौँ किसान यतिबेला यस्तै त्रासमा बाँचिरहेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामबरत यादवका अनुसार भारतको आसाम र पश्चिम बङ्गालको जङ्गल हुँदै मेची नदी तरेर नेपाल पस्ने हात्तीहरूको परम्परागत जैविक मार्ग (करिडोर) अवरुद्ध हुँदा समस्या जटिल बन्दै गएको हो ।
उनले मङ्सिर महिना धान पाँक्ने भएकाले खानाको खोजीमा हात्ती बस्ती पस्ने क्रम अधिक बढ्ने बताए । विशेषगरी बाहुनडाँगी क्षेत्रमा लगाइएको ‘सोलार फेन्सिङ’ (विद्युतीय तारबार) ठाउँ–ठाउँमा बिग्रनु र हात्तीले वैकल्पिक बाटो प्रयोग गर्नुले बस्तीमा क्षति बढेको निमित्त प्रमुख यादवको भनाइ छ ।
पीडित किसानले बिग्रेका विद्युतीय तारबारको तत्काल मर्मत गर्न, सधैँभरि साइरन तथा उज्यालोको व्यवस्था मिलाउन र बालीनालीको उचित तथा छिटो क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन् ।
मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले रातको समयमा गस्ती बढाउन ‘र्यापिड रेस्पोन्स टिम’ (द्रुत प्रतिकार टोली) परिचालन गरिए पनि हात्तीको सङ्ख्या ठूलो हुँदा नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।
०
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त
दमक÷ मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपका सरोज यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै मधेसको नयाँ मुख्यमन्त्रीमा जसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको हो ।
यही २९ गते प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।
तर प्रदेश प्रमुखको कार्यालय दिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मङ्सिर ५ गते शनिबार बिहान ८ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न समय दिइएको थियो ।
तर, उक्त समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताका हैसियतमा जनता समाजवादी पार्टी नेपालका सांसद यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Author

You may also like