दमक/ सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिँदै छ । पर्साको वीरगन्जमा बयान सकिएपछि उनलाई विमान मार्फत् काठमाडौं हुँदै पोखरा लगिँदै छ । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए।
पर्सा जिल्ला सरकारी वकील कार्यालयमा बिहान १० बजेदेखि लिइएको बयान दिउँसो २ बजे सकिएको थियो । बयानका क्रममा लामिछानेसँग ५० वटाभन्दा बढी प्रश्न गरिएको जिल्ला सरकारी वकील कार्यालयले जनाएको छ । बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो ।
वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्न लामिछानेलाई सोमबार वीरगन्ज पुर्याइएको थियो । सहकारी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई यसअघि बयानका लागि कास्कीदेखि रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।
झापाबाट पक्राउ परेका छुटे
गौरादहमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नियमित तथा शान्तिपूर्ण आन्दालनका क्रममा पक्राउ परेका २९ जना नेता कार्यकर्ता छुटेका छन् । ताजपुरिया समाज कल्यणण परिषद्को कार्यक्रममा सरिक हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो । गौरादहमा १८, कन्काईमा ९ र कमलमा २ जना पक्राउ परेका थिए । ती सबैलाई राति छोडिएको प्रहरीले जनाएको छ । हिजो गौरादह –५, स्थित स्कुलचौनमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट गौरादह बजारमा आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रधानमन्त्री ओलीलाई गौरादह बजारस्थित झापा बेकरी हाउस अगाडि रास्वपाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
त्यसक्रममा रास्वपाका गौरादह नगर सभापति जगत अधिकारी, पार्टीका गौरादह नगर सभापति जगत अधिकारी, गौरादह नगर सचिव प्रविण वस्नेत, क्षेत्र नं. ५ की क्षेत्रीय सदस्य निर्मला शर्मा, दमक नगर उप–सभापति प्रतिमा दाहाल, गौरीगंज गाउँपालिका सचिव उद्धवप्रकाश गौतम, दमक नगर सचिव प्रविण पाठक,गौरादह ७ का वडा सभापति ऋषिराम प्रसाई ,पार्टी सदस्यहरु अनिश सुवेदी, टंक खनाल,गणेशराज पाण्डे, छत्रपति भट्टराई ,छत्रवहादुर कार्की , गौरादह ३ का वडा सभापति कमल बस्नेत, गौरादह ५ का वडा सभापति भवानीप्रसाद फुयाल, पार्टी सदस्य बावुराम दाहाल, नगर सदस्य खेमप्रसाद लुईटेल, गौरादह ४ का वडा सचिव दिपक सापकोटा र वडा नं ४ का सभापति युवराज खड्का रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको थियो ।त्यस्तै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने रास्वपाका थप ९ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । गौरादहको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बिर्तामोडतर्फ आउँदै गर्दा कन्काईको सुरुङ्गामा रास्वपाका नेता कार्यकर्ताहरुले नाराजुलुसहित कालो झण्डा देखाएका थिए ।
त्यसक्रममा ९ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा रास्वपाका झापा जिल्ला उपसभापति प्रकाश पाठक, बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती, क्षेत्र नं.२ का क्षेत्रीय सचिव दिपक दाहाल, झापा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति शम्भु सुस्केरा, शिवसताक्षी नगर कोषाध्यक्ष रमेश घिमिरे, कोशी प्रदेश कानुन बिभाग प्रमुख सुरेशकुमार पोख्रेल, भद्रपुर नगर संयोजक लक्ष्मण बस्नेत, भद्रपुर नगर सभापति प्रेम न्यौपाने र क्षेत्र नं. २ क्षेत्रीय सभापति कमलमोहन उप्रेती रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो ।
त्यस्तै दमक –३ स्थित बेलडाँगी खानेपानी आयोजना उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाई कमल –५, पाडाजुँगी चोकमा प्लेकार्डसहित कालो झण्डा देखाउने दुईजना पक्राउ परेका थिए । पक्राउ परेर इलाका प्रहरी कार्यालय दमकमा राखिएका कमल –४ बस्ने सरोज भट्टराई र वडा नं ५ बस्ने सुमन श्रेष्ठलाई राति ८.२० बजे रिहा गरिएको प्रहरीले जनाएको छ ।