देश–समाज लेख विचार/वहस

इस्लामिक जिहाद र हिन्दु इसाईमाथिको हिंसा

सत्येन्द्रलाल कर्ण
बंगलादेशका अल्पसंख्यक हिन्दु र ईसाई समुदायमाथि बांगलादेशी मुसलमानहरुको चरणबद्ध हिंसा जारी छ । बांगलादेशका जमाएते ईस्लामिक संगठनका कार्यकर्ताहरुले ग्रामीण क्षेत्रहरुमा रहेका हिन्दु बस्तीहरुमा समेत हिंसा र उत्पात् मच्चाइरहेको भिडियो र खबरहरु निरन्तर रुपमा संचार माध्यमहरुमा आइरहेका छन् । सनातन कालदेखि रहँदै आएका हिन्दु समुदायका बांगलादेशी महिला र पुरुषहरु बलात्कार र हिंसाका सिकार भइरहेका छन् । आगजनी, लुटपाट, विध्वंश र बर्वादीको अवस्थामा पुगिसकेका लाखौंलाख हिन्दु परिवारहरु बांगलादेश छोड्ने अवस्थामा पुगिसकेका छन् । उनीहरुको करोडौँ अरबौँको सम्पत्ति आगोमा स्वाहा भईसकेको छ । उनीहरुको धन सम्पत्ति लुटिएको छ । व्यापार, पसल तोडफोड र आगजनीको सिकार भइरहेको छ । हिन्दुहरुका प्रसिद्ध धार्मिक स्थलहरु, देवी देवताका मन्दिरहरु, पूजा स्थलहरु तथा शक्तिपीठहरुलाई अपवित्र बनाउने र विध्वंश मच्चाउने कार्यहरु लगातार भइरहेको छ । बांगलादेशको सरकार, पुलिस प्रशासन, सेना, अदालत, सामाजिक संघ संस्था तथा संगठनहरुले समेत पनि यस्ता घटनाहरु प्रति जिम्मेवारी बोध नगरेको अवस्था छ । बांगलादेश सरकारका प्रमुख सल्लाहाकार मोहम्मद युनुस यतिखेर आतंकवादी संगठन जमाएते ईस्लामको कठपुतली सरकार जस्तो बनेका छन् । बांगलादेशको सेना, प्रहरी नागरिक प्रशासन र नागरिक समाजमा उनले नोबेल पुरस्कारबाट प्राप्त गरेको सम्मान र ख्याति, हैसियत, पहुँच तथा प्रभाव न्यूनतम विन्दुमा पुगिसकेको छ । बांगलादेशमा धर्म निरपेक्षताको भावना अहिले पूर्ण रुपमा समाप्त भइसकेको छ । त्यहाँका हिन्दु समुदाय प्रति लक्षित अमानवीय हिंसा र आक्रमणको बढ्दो घटनाक्रमहरुले सम्पूर्ण विश्वका शान्तिप्रिय नागरिकहरुको ध्यान आकर्षित हुन थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बांगलादेशमा भएको अलोकतान्त्रिक सत्ता परिवर्तन र त्यसबाट सिर्जित हत्या दमन र नरसंहारको तांडब नृत्यको कडा भन्दा कडा शब्दमा आलोचना र निन्दा गरिसकेका छन् । मोदीले बांगलादेशका सरकार संग त्यहाँका अल्पसंख्यक नागरिकहरुमाथि भइरहेको हत्या र हिंसालाई रोकेर अविलम्ब मानव अधिकार बहाली तथा शान्ति सुरक्षा गर्न पटक पटक अपिल गरिरहेका छन् । नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बांगलादेशी हिन्दु र इसाई समुदायमाथि नस्लीय हिंसाको निन्दा गरेका छन् तथा धार्मिक हिंसालाई यथाशिघ्र रोकेर अल्पसंख्यकहरुको जीउधनको सुरक्षाको लागि सरकार संग माग गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि धर्म र सम्प्रदायको आधारमा हिंसा मच्चाउने कार्यलाई घोर निन्दा र भत्र्सना गरेको छ ।
तर आजपनि बांगलादेशमा खुलेआम हिन्दुहरुका घरमा आगो लगाईँदै छ । हिन्दुहरुको बलजफ्ती धर्मान्तरण भईरहेको छ । पूजास्थललाई आगो लगाईंदै देवी देवताका मूर्तिहरुलाई अपमानित गर्ने प्रयासहरु तिब्र रुपमा भइरहेको छ । सरकार बाट नै प्रत्यक्ष र परोक्ष रुपमा समर्थन पाइरहेका चरमपन्थी धार्मिक समूहहरुले त्यहाँका अन्य धार्मिक समुदायको पहिचान सदा सर्वदाको लागि मेटाउने प्रयासहरु गर्न थालेका छन् । बांगलादेशमा सरकारी पदहरुमा काम गर्ने हिन्दुहरुलाई खोजी खोजी राजीनामा गर्न लगाइंदै छ । यस्तो अवस्थामा बांगलादेशमा अल्पसंख्यक समुदायहरुको मानव हक अधिकार, नागरिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता लगायतका अधिकारहरु सबै पूर्णरुपमा समाप्त पारिंदै छ । बांगलादेशमा पनि अन्य इस्लामिक मुलुकहरु जस्तै सरिया कानुन चलाउने तयारी गर्न खोजिंदै छ जुन आफैँमा अलोकतान्त्रिक र संविधान विरोधी कार्य हो । साँच्चिकै अर्थमा बांगलादेश यतिबेला नेतृत्वविहीन अवस्थामा छ । त्यहाँका राजनीतिक दलहरु पाखा लाग्दै छन् । राजनीतिक दलहरुका नेता र कार्यकर्ताहरुमाथि पनि दमन र हिंसा जारी छ । बांगलादेशका पूर्व प्रधानमन्त्री सेख हसिना वाजेदका सरकारका कैयौं सांसद मन्त्री र कार्यकर्ता माथि पूर्वाग्रह र प्रतिशोधका लागि आक्रमण भइरहेको छ ।
सन् १९४७ मा बेलायतको औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरी भारत बाट टुक्रिएको पाकिस्तान इस्लामिक देशको रुपमा रहन गयो भने भारत समावेशी लोकतान्त्रिक मुलुकको रुपमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश बन्न सफल भयो । भारत र पाकिस्तान बीच पाकिस्तानको स्थापना कालदेखि नै ठूलो शत्रुता र वैमनस्य रहेको पाइन्छ । जसको परिणम स्वरुप भारत र पाकिस्तान् बीच ठूलो ठूलो युद्ध भइसकेको छ । भारत र पाकिस्तान बीच अहिले पनि जम्मु कस्मिरको विवाद चलिरहेको छ । कस्मिरको सम्पूर्ण भूभागलाई आफ्नो अधिनमा पार्न दुवै देश बिच अघोषित युद्ध निरन्तर रुपमा चलिरहेको छ । धर्मको आधारमा भारतबाट छुट्टिएर पाकिस्तान बनाउन सफल देखिएपनि पाकिस्तानले पूर्वी पाकिस्तानका बांगला भाषी मुस्लिमहरुलाई धर्मको आधारमा जोडेर राख्न सकेन । भाषाको आधारमा विभेद र दमन हुन थालेपछि पूर्वी पाकिस्तान जुन अहिले बांगलादेश बनेको छ, त्यसमाथि ठूलो सैन्य बल संचालन गरेर पाकिस्तान सरकारले बांगला भाषी मुसलमानहरुलाई नरसंहार गर्न खोजेको थियो जसको परिणाम स्वरुप पूर्वी पाकिस्तानबाट एक करोडभन्दा बढी बांगला भाषी भारतको शरणमा पुगेका थिए । यसैको निहुँमा सन् १९७१ मा भारत र पाकिस्तान बीच ठूलो युद्ध भएको थियो । पाकिस्तानको पूरै ढाका शहरलाई भारतीय फौजले चारैतिरबाट घेरा हाली एक लाख भन्दा बढी पाकिस्तानी फौजलाई आत्मसमर्पण गर्न बाध्य तुल्याएको थियो । त्यसैको प्रतिफलको रुपमा अहिलेको बांगलादेशको जन्म हुन पुग्यो । पाकिस्तानी सेनाको आक्रमणबाट बांगलाभाषी जनतालाई भारतले सुरक्षा प्रदान गरी बांगलादेशलाई मान्यता दिलाउन र सहयोग गर्न जुन भूमिका खेलेको थियो त्यसको परिणाम स्वरुप नै भारत र बांगलादेश संग घनिष्ट सम्बन्ध स्थापित भएको थियो ।
स्वतन्त्र बांगलादेशमा पनि धर्म निरपेक्ष सरकारहरुले लामो समय सम्म राज्य संचालन गर्ने अवसर पाए । तर अहिले विश्वकै इस्लाम धर्मावलम्बीहरुको अवस्था फेरिएको छ । उनीहरुले ईस्लाम् धर्म बाहेकका अरु धर्मलाई इस्लाम विरोधी मान्दछन् । तथा उनीहरु सेक्युलर हुन सक्दैन भन्ने कुरा विश्वभरिका इस्लामिक स्टेटहरुमा घट्ने गरेका घटनाक्रमबाट थाहा हुन्छ । बांगलादेशमा झण्डै नेपालकै हिन्दुहरुको जनसंख्या बराबर जनसंख्या अहिले पनि बांगलादेशमा रहेको पाइन्छ । तर तिनीहरु धार्मिक कारणले नै हिंसा र दमनको सिकार हुनु आफैंमा उदेकलाग्दो र दुःखदायी कुरा हो । दुईवटा भिन्न भिन्न संस्कृति र संस्कारका मानिसहरु परस्पर प्रितिपूर्वक बस्न सके पो सेक्युलरिज्मले सार्थकता पाउँछ । कुनै समयमा दुँनीयाको एकमात्र हिन्दु राष्ट्र रहेको नेपाललाई विदेशी राष्ट्रहरुको दबावमा परेर धर्म निरपेक्ष देश बनाइयो ।
तर विश्वका हिन्दुहरुमाथि भईरहेको दमन र हिंसाको विरोधमा सरकारले दुई शब्द पनि बोल्न नसक्नु लाजमर्दो कुरा हो । सिमाना पारिका देश भारतमा सरकारले नै हिन्दुहरुको एकताका लागि अपील गरिरहेका छन् । धर्म रहँदा संस्कृति रहन्छ । संस्कृति रहँदा संस्कार रहन्छ । संस्कार रहँदा परम्परा रहन्छ । परम्परा रहँदा सनातन धर्म रहन्छ । सनातन धर्म रहँदा देश रहन्छ भन्ने कुराहरुमाथि गहन चिन्तन गर्ने बेला आइसकेको छ । कुनै समयमा अविभाजित भारतमा दुर्गा भवानी ढाकेश्वरी देवी शक्तिपीठको नामबाट नै स्थापना भएको ढाका शहरका हिन्दु धर्मावलम्बीहरु यतिबेला आफ्नो अस्तित्वको अन्तिम लडाइँ लड्दैछन् । सरकारले फिलिस्तीनको बारेमा बोल्न पाउँछ भने बांगलादेशका हिन्दुहरुको बारेमा बोल्न किन मुख लुकाउँछ भन्ने कुरा विचारणीय छ । बांगलादेशी हिन्दुहरुको जीवन रक्षाका लागि विश्वभरिका हिन्दुहरुले एकजुटता देखाउनु र बांगलादेशका सरकार माथि मानवअधिकार बहाली गर्नका लागि दवाब बनाउनु आवश्यक छ ।

Author

You may also like