देश–समाज राष्ट्रिय विचार/वहस स्थानीय

पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरु साझा बन्नुपर्छ : निर्मला शर्मा, अध्यक्ष, पत्रकार महासंघ

२८ वर्षदेखि निरन्तर पत्रकार महासंघको सदस्य हो । पत्रकार महासंघको केन्द्रीय कमिटीमा बसेर पनि काम गरेको, पटक–पटक केन्द्रीय नेतृत्वमा जान प्रयास गरेको र महासंघको हरेक क्रियाकलापमा सहभागी भएको छु । पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने पहरेदारी भूमिका भएको संस्था पनि हो । म यसलाई नागरिक अगुवा संस्थाको रुपमा पनि चिन्छु ।
म अध्यक्षमा निर्वाचित हुनु अघिसम्म पनि केन्द्रीय सल्लाहकारको रुपमा थिए। महासंघका हरेक गतिविधिमा म परिचित छु । त्यस्तो गाह्रो त छैन । तर पत्रकार महासंघमा आइसकेपछि यो सबै पत्रकारहरुको साझा संस्था हो र हामी साझा मुद्दामा एक हुनु पर्छ भनेर म देशैभरका पत्रकारहरुलाई अपिल पनि गर्न चाहन्छु । जुनजुन शाखाहरु छन्, त्यसमा आबद्ध सबैले अब साझा मुद्दामा एकतावद्ध भएर काम गर्नुपर्छ ।
पत्रकार महासंघ पत्रकारहरुको एउटा ट्रेड युनियन जस्तै संस्था हो । देशैभरका पत्रकारहरुको पेसागत र भौतिक सुरक्षाका लागि हामीले सधैं दत्तचित्त भएर लाग्न जरुरी छ । मेरो अर्को एजेन्डा भनेको व्यावसायिक र जवाफदेही पत्रकारितालाई कसरी अझबढी मजबुत बनाउने भन्नेमा केन्द्रित छ । हामीमा पछिल्लो समय सञ्चार क्षेत्रको परिभाषा पनि फरक भइरहेको छ । जुन व्यावसायिक पत्रकारिता प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन हुँदै अहिले अनलाइन भएर डिजिटल माध्यममा आएका छन् । अब भने महासंघले खेल्ने भूमिका पनि फरक हुनुपर्छ । डिजिटल सुरक्षाका लागि पनि पत्रकार महासंघले काम गर्नुपर्ने हुन्छ । धेरै पत्रकारहरुलाई यो न्यू मिडिया टेक्नोलोजीमा अभ्यस्त बनाउनका लागि महासंघले राज्यसँग मिलेर वा कहिले काहीँ निजी क्षेत्रसँग सहकार्य गरेर पत्रकारहरुलाई तालिम दिन आवश्यक छ। मेरो ध्यान यसमा केन्द्रित हुनेछ ।
अहिलेकै उदाहरण दिने हो भने वैशाखमा महाधिवेशन भयो, जेठमा निर्वाचन हुनुपर्ने, ६ महिनासम्म निर्वाचन हुन सकेन । यसलाई ट्रयाकमा ल्याउन जरुरी छ । अर्को भनेको सदस्यताको चुनौती ठुलै छ। पत्रकारभन्दा पनि बाहिरकालाई बढी सदस्य बनाइएको छ भन्ने जुन आरोप छ, त्यसलाई शुद्धीकरण गर्न या कार्यसमितिले प्रयास गर्छ। सबै पत्रकारहरुलाई यो हाम्रो महासंघ, पत्रकारहरुको मात्रै महासंघ हो भनेर बनाउन आवश्यक छ । असम्भव पनि छैन ।
पत्रकारिताबाट वञ्चित गराउन भन्दा पनि पत्रकारितामा आकर्षण घट्दै गएको छ । जो व्यावसायिक पत्रकार हुनुहुन्छ, जसले फुलटाइम पत्रकारिता गर्नुहुन्छ, सक्षम हुनुहुन्छ उहाँहरूमा आकर्षण घट्दो क्रममा छ । यो महसुस मलाई छ । त्यसको बाबजुद पत्रकार महासंघको सदस्यता वितरणमा अलि बढी राजनीतिकरण भयो कि भन्ने कुरामा सचेत बनाएको छ  । अब हामी सबै पत्रकारहरुलाई सदस्यता दिने र महासंघलाई सबैको आकर्षणको केन्द्र पनि बनाउने । महासंघका दुई/तीन वर्षयताका कार्यक्रमहरु हेर्नुभयो भने कार्यसमितिमा बसेकाहरु अब माथिल्लो नेतृत्वमा पुग्ने होडबाजीमा मात्रै भएको पाउनु हुन्छ । अब त्यसको अन्त्य हुनुपर्छ । राम्रा र निष्ठावान पत्रकारहरुबीच आफूलाई परिचित बनाउँदै राम्रा काम गरेका पत्रकारले सधैं चुनाव जित्न सक्छ भन्ने मलाई लाग्छ। त्यसैले हाम्रो हैन राम्रोलाई पत्रकारको सदस्य बनाउँ भन्ने चुनौती पनि छ। त्यसमा हाम्रो कार्यसमितिको पहल पनि हुनेछ ।
मैले पत्रकारिता गरेको ३० वर्ष भयो, योबीचमा मलाई कहिलेपनि मुखपत्रको ट्याग लागेन । मैले गर्ने कर्मक्षेत्रमा त्यो देखिन पनि मैले दिइन । अब म महासंघको नेतृत्वमा पुगे, त्यस्तो देखिन कहाँ दिन्छु र म । लोकतन्त्रको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ दत्तचित्त भएर लाग्छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि दलहरु पनि लागिरहेकै छन्। उनीहरुले पनि त अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काममा लाग्छन् भन्ने मलाई लाग्दैन। बैचारिकरुपमा कोही व्यक्तिले आमनिर्वाचनमा मतदान गर्ने आधारमा हामीले महासंघ दलगतरुपमा विभाजित छ भनेर भन्न चैँ मिल्दैन । अब नेतृत्वमा पुगेपछि स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्नु पर्छ, जुन हामी सक्छौं । निर्मला शर्मा कुनै दलबाट टिपेर ल्याएको उम्मेदवार हैन । ३० वर्षदेखि म मिडियामा नै छु त । अहिले मात्र हैन तीन वर्ष अघि पनि म अध्यक्षमा नै प्रतिस्पर्धा गरेकै हो त । अमुक व्यक्ति त हैन म । अहिले निर्वाचित भएको कार्यसमितिमा सबै श्रमजीवी पत्रकारहरु हुनुहुन्छ । पार्टीसँग नजिक रहेका पेसागत संघसंगठनहरु हुन् । यो त अहिले मात्र हैन । विगत लामो इतिहास हेर्ने हो भने मैले थाहा पाउँदा देखि नै यसरी नै निर्वाचन हुँदै आइरहेको छ । यो कार्यसमितिमा पनि सबै हाम्रा उम्मेदवारले मात्र जितेनन् । विजयी र पराजित हुने सबै पत्रकारहरुका राम्रा योजनाहरुलाई समेटेर अघि बढ्छौं । अब हामी पत्रकारहरुको छाता संस्थाभित्र प्रवेश गरेका छौं । यहाँ अब प्रेस चौतारी, युनियन, सेन्टर अथवा अन्य केही पनि हुँदैन । सबै साथीहरुलाई यसरी नै काम गर्न जिल्लादेखि केन्द्रसम्मका साथीहरुलाई आग्रह पनि गर्छु ।
हामी साझा घोषणापत्र लिएर मैदानमा गएका थियौं । हाम्रा एजेन्डा पत्रकारका लागि मात्रै छन् । जुन जुन संगठनहरु छन् उनीहरु पनि पत्रकारहरुको हकहितकै लागि खोलिएका हुन्। उनीहरुले यी यी पत्रकार जिताउँ है भनेर भन्नु अस्वाभाविक पनि हैन । अहिलेको निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचन प्रणाली थियो। पहिला पार्षद् छनोट गरेर मतदान हुने गथ्र्यो। अहिले भने संगठनहरुले राम्रा व्यक्ति छनोट गरेर उम्मेदवार बनाएर त्यहाँसम्म पुर्‍याउनुलाई चैँ नकारात्मक रुपमा लिनु हुँदैन ।
विविध कारणले मलाई भोट नहाल्नु भएको होला केही केही साथीहरूले तर शुभेच्छा भने सबै साथीको थियो मप्रति । अब पत्रकार महासंघमा परिवर्तन चाहिएको छ । सधैं एउटै व्यक्ति कति पटक निर्वाचनमा पठाउने ? नयाँ बिचार र योजना लिएर जाने व्यक्ति चाहिन्छ भनेर उहाँहरुले मलाई भन्नु भएको थियो । त्यसैले मसँगै अध्यक्षका प्रत्याशीहरूले पनि तपाईं जित्नुहोस् है भन्ने शुभेच्छा भने व्यक्त गर्नुभएको थियो । त्यसैले मलाई भोट नदिने व्यक्ति कमैमात्र हुनुहुन्थ्यो । अब भने म साझा अध्यक्ष भएँ । भोट दिने र नदिने सबैको भावनालाई कदर गर्दै पत्रकार महासंघलाई अघि लैजाने प्रण गर्छु । मैले उहाँहरुप्रति कहीँ पनि कतैपनि असहज महसुस गर्नु हुँदैन । लोकतन्त्रमा निर्वाचन प्रणालीलाई हामीले मान्नु पर्छ । यो सुन्दर पक्ष पनि हो। यहाँ हार र जित कसैको पनि छैन । मात्र पत्रकार महासंघले जितेको छ । त्यसैले सबैको भावनालाई समान अवसर र कदर गर्दै अघि बढ्ने उद्देश्य छ मेरो ।
पत्रकारहरुको पेसागत हकहितको कुरा गर्दैगर्दा, त्यसलाई सुक्ष्मरुपमा हेर्ने हो भने महिला पत्रकारहरुले पनि सहजरुपमा काम गर्ने वातावरण पाउनुहुन्छ भन्ने लाग्छ मलाई। श्रमजीवी पत्रकार ऐन छ तर सबै मिडियाले कार्यान्वयन गरेका छैनन् । कोभिडपछि धेरै मिडियामाथि आर्थिक संकट पनि आएको छ। त्यसले पनि महिला पत्रकारहरु पलायन भएका छन्। अर्कोतर्फ समाजपनि परिवर्तन हुन जरुरी छ। कतिपय ठाउँमा महिलाले त्यो वातावरण नपाउनुमा ऊ समाचार कक्षमा समाचारको अपडेटसहित उपस्थित हुन नसक्नु पनि हो । यो भनेको सामाजिक कारण नै हो । अर्कोतर्फ पत्रकारिताको क्रममा ३० वर्षसम्म मैले भोगेका कुराहरु नै महिला पत्रकारहरुको साझा समस्या हुन् भन्ने मलाई लाग्छ । महिलाहरुको सकारात्मक विभेदको नीति लिएर पत्रकार महासंघका हरेक कार्यक्रमहरुमा हामी प्राथमिकता दिन्छौं ।
(नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मासँग नागरिककर्मी तेजेन्द्र काफ्लेले गरेको कुराकानीमा आधारित सम्पादीत सामग्री)

Author

You may also like