दमकका सबै वडामा जारी, रोकथाम र पुनःस्थापनाको कार्यक्रम
पंकज दाहाल

दमक/ अपाङ्गगता भएकाहरुको सुविधाका लागि यतिबेला दमकमा वडागत रुपमा शिविर संचालन भइरहेको छ । अपाङ्गगता भएकाहरुप्रति स्थानीय सरकारको जिम्मेवारी महशूस होस् र उनीहरुको हक, हित र कल्याणको काममा सरकार स्वयं लागोस् भनेर यस्तो शिविर संचालन गर्ने वातावरण तयार गरिएको दमक अपाङ्ग सहयोग समितिले जनाएको छ । शिविरमा अपाङ्गता भएकाहरुका लागि परिचय–पत्र नविकरण, स्तरवृद्धि या स्तरन्यूनीकरण, आवश्यकता पहिचान र स्वास्थ्य जाँचको कार्य भइरहेको छ । यसबाट अपाङ्गता भएकाहरुले सरकारले पनि आफूहरुको हक, हित र कल्याणको कार्यमा सरिक भएको महशूस भइरहेको दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष तथा चालू शिविर संचालन समन्वय समितिका सदस्य खगेन्द्र बहादुर भट्टराईले बताएका छन् ।
यस्ता शिविरहरु झापामा मात्र होइन, कोशी प्रदेशको तेह्रथुम र ताप्लेजुङमा पनि संचालन भइरहेका छन् । दमकका १० वटै वडामा यही पुसको १ देखि शुरु भइएको शिविर १० गतेसम्म जारी रहनेछ । शुक्रबार वडा नम्वर ५ का लागि स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालयमा शिविर संचालन भएको हो । यसपछि दिनैपिच्छे क्रमैसँग वडा नं. १० सम्म शिविरहरु संचालन हुने दमक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिएकी छन् । अपाङ्गता भएकाहरु सबैलाई शिविर संचालन हुने ठाउँसम्म जाने गाह्रो भएपनि उनीहरुका संरक्षणकर्ता, स्याहारकर्ता तथा अभिभावक र सन्तानहरुले त्यहाँसम्म पुर्याइरहेका थिए । हिंड्न र जान नसक्नेहरुलाई शिविर संचालन भएकै समयमा पायक पारेर घरमै गएर पनि सेवा दिइएको जनाइएको छ ।
अपाङ्गगता भएकाहरुलाई अवस्थामा सुधार हुने र कमजोर हुने आधारमा परिचय पत्रको हेराफेरी समेत गरिँदै आएको छ । उनीहरुलाई रातो, निलो, पहँेलो र सेतो कार्ड वितरण गर्ने सरकारको नीति छ । कार्डअनुसार पूर्ण अपाङ्गता (पूर्ण अशक्त) भएकालाई मासिक ४ हजार, अति अशक्तलाई मासिक २ हजार १ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताका रुपमा दिइँदै आएको छ ।
स्थानीय…….मध्यम अपाङ्गगता भएका र सामान्य प्रकृतिको विचलन भएकालाई भने भत्ता दिइएको छैन । शिविरमा परिचय पत्र नविकरण गरिँदा नगरपालिका धाउनुपर्ने बाध्यता र कष्टबाट उनीहरुलाई उन्मुक्ति मिलेको छ ।
आवश्यकता पहिचान भन्नाले अपाङ्गता भएकाहरुलाई के आवश्यक छ सो कुराको बोध गरेर सेवा सुविधा दिनु भन्ने बुझिन्छ । दमक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भण्डारी भन्छिन्– कसैलाई कृत्रिम हातखट्टा चाहिएको हुन्छ । कसैलाई ह्वील चेयर, ट्वाइलेट चेयर, वाकर, श्रवणयन्त्र, चश्मा , सेतो छडी, लौरो लगायतका सामग्री आवश्यक हुन्छ । ति सबै किसिमका सामग्रीहरु उपलब्ध भएको अवस्थामा शिविरमै र पछि दिन मिल्नेलाई समयअनुकूल पारेर प्रदान गर्दछौं ।’ अपाङ्गता भएकालाई आवश्यक सबै प्रकारका सहायता सामग्रीहरु शिविरमै या त्यसपछि उपलब्ध गराउनु पनि अहिलेको शिविरको उद्देश्य रहेको छ । त्यसका अलावा पढ्न नसक्नेहरुलाई पत्ता लगाएर घरमै शिक्षक पठाएर पढाउने पनि अहिलेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले व्यवस्था गर्नेछ ।
शुक्रबारको शिविरमा सामान्यः स्वास्थ्य जाँचका साथै अन्य पाँच किसिमका विशेषज्ञ स्वास्थ्य सेवाहरु शिविर स्थलमै उपलब्ध थियो । जसमा फिजियोथेरापी, मानसिक स्वास्थ्य सेवा, आँखा परीक्षण, नाक, कान र घाँटी परीक्षण र जनरल फिजिसियनको सेवा रहेको थियो । यि सबै सेवाहरु शिविर अवधिभर रहने बताइएको छ । अहिलेको यो कार्यक्रम करुणा फाउण्डेशन, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सम्बन्धित स्थानीय पालिका जस्तो दमक नगरपालिकाको लागत साझेदारीमा प्रदान गरिन थालेको हो । दमक नगरपालिकामा भने यस्तो शिविर ६ वर्षअघि मात्र गरिएको थियो, तर यसपटक भने करुणा फाउण्डेशन र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको लागत साझेदारीमा ३ वर्षका लागि सम्झौता भएर यो कार्यक्रम गरिएको बताइएको दमक नगर प्रमुख राम कुमार थापा तथा उप–प्रमुख रेगिना भट्टराई प्रसाईले बताए ।
दमकमा वि.सं. २०६८ को जनगणनामा १९२७ अपाङ्गता भएको तथ्यांक रहेकोमा हाल १४०३ जना भने सम्पर्कमा रहेको नगरपालिकाले जनाएको छ । वडा नम्वर ५ मा भने १७२ मध्ये ९६ जना सम्पर्कमा रहेको नगरपालिका महिला, बालबालिका तथा तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ । विगतमा साविकका बनियानी, बाह्रदशी र पृथ्वीनगर गाविसमा यस्तो शिविर पाइलट प्रोजेक्टका रुपमा संचालन गर्दा भनेजस्तो नतिजा नआएको र स्थानीय तह जिम्मेवार नदेखिएकाले जिम्मेवार बनाउन र सरकारलाई अपाङ्गता भएकाहरुको सहज जीवनयापनका लागि अहिले आएर यो कार्यक्रम ल्याइएको दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष भट्टराईले प्रष्ट पारे । शुक्रबारको शिविरमा दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा सदस्यहरु, वडा सचिव निधिनारायण ढुंगेल लगायतको पनि सक्रिय सहभागिता रहेको थियो ।