देश–समाज राष्ट्रिय समाचार

विश्व ध्यान दिवस योग र ध्यान गर्दै मनाइयो

जीवन पद्धतिका रुपमा अपनाउनुपर्नेमा जोड
दमक/ प्रथम विश्व ध्यान दिवस देशभर विविध कार्यक्रमहरु गरी मनाइएको छ । योग र ध्यानका पारखीहरुले सरकारका उच्चपदस्थ व्यक्तित्व, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा विभिन्न पेशाकर्मीहरुलाई बोलाएर सो दिवस हर्षोल्लासका साथ मनाएका हुन् । यसैक्रममा झापाको दमकमा पनि शनिबार सो दिवस मनाइयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले दमक–५ स्थित धनेश्वर वचत तथा ऋण सहकारी संस्थाको सभाहलमा तीन दिवशीय राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रमको उद्घाटन दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईले गरेकी छन् । प्रशिक्षण कार्यक्रम विहान ११ देखि दिउँसो १ र बेलुकी साढे ६ देखि साढे ८ बजेसम्म दैनिक संचालन भइरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी दमक उप–प्रमुख भट्टराईले योग र ध्यानले अहिले विश्व मानव समुदायको ध्यान तानिरहेको र स्वस्थ जीवनशैलीको लागि यि दुवै कुरा रामवाण जस्तै भइरहेको बताइन्  । उनले प्रकृति र प्राकृतिक आहार विहार, जीवनशैली र दैनिकीले मानिसको शरीर र मन दुवैलाई स्वस्थ राख्ने भएको र त्यसका लागि उपर्युक्त ज्ञान, उर्जा र अभ्यासको तरीका योग र ध्यानबाट मात्रै मिल्ने पनि प्रष्ट पारिन् । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, दमक–५ का वडाध्यक्ष इन्द्रकुमार गुरुङ, धनेश्व वचतका अध्यक्ष टंक सिटौला, ब्रह्मकुमार राजयोग दमक सेवा केन्द्रकी प्रमुख संचालिका ब्रह्मकुमार राधा दिदी लगायतले शुभकामना मन्तव्य राखेका थिए  । कार्यक्रममा नृत्य र गीत समेत प्रस्तुत गरिएको थियो । राजयोग प्रशिक्षक ब्रह्मकुमार राजीव कर्णले विहानी र सन्ध्या सत्रमा प्रशिक्षण दिइरहेका छन् ।
ध्यान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रसित विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । शनिबार सैनिक मञ्च(टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमितरुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पनि सुझाए । ध्यान प्राकृतिक ढंगले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको संकल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताए ।
‘नियमित सही आहार बिहार गरेर हामीले आरोग्य जीवन बिताउनुपर्छ । सकभर बिरामी परेर उपचारका लागि अस्पताल जानु नपरोस् भन्ने सोच राख्नुपर्छ । स्वस्थ्य र शान्तिमय विश्व निर्माणमा हामी सबै लाग्नुपर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “सरकारका तर्फबाट ध्यान र योगका लागि गर्नुपर्ने काममा मेरो ध्यान पुगेको छ । स्वार्थीपन त्यागेर एकाग्रतामा ध्यान गर्नु हरेक समस्याको समाधानको उपाय पनि हो ।” कार्यक्रममा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराएका थिए । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्टूसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । सो अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम पनि आयोजना गरिएको छ । राष्टूसङ्घले ऐतिहासिक मान्यता दिइ हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।

Author

You may also like