देश–समाज मुख्य समाचार

पश्चिम नेपालमा भुकम्प जान सक्ने चेतावनी

काठमाडौँ । शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो । त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा जति परकम्प गइसकेको छ ।
नेपालको गोरखादेखि पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने शक्ति थुप्रिएको छ । तर पूर्वसतर्कता कमजोर हुँदा जनधनको जोखिम बढ्दै गएको भूकम्पविद्हरूले औँल्याउनुभएको छ ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युटको ठुलो भूकम्प गएपछि मध्य क्षेत्रमा शक्ति केही मत्थर अवस्थामा छ । नेपालको पूर्वतर्फ पनि ठुलो भूकम्पको खतरा उत्तिकै छ । पूर्वभन्दा बढी उच्च जोखिममा रहेको पश्चिमी भू–भागमा विगत केही वर्षयता साना तथा मझौला भूकम्पले निरन्तर धक्का दिइरहेको छ । गत वर्ष जाजरकोटमा गएको ६.४ म्याग्नेच्युटको मझौला भूकम्पले ठुलो जनधनको क्षति गरायो । त्यसअघि र पछि पनि बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ ।
बाजुरामा २०७९ साल माघ १० गते बिछ्या केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस भूकम्पको ४ म्याग्नेच्युटमाथिका सात वटा परकम्प गएका थिए । त्यसपछि २०८० साल वैशाख १४ गते ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
त्यसको ४ म्याग्नेच्युटमाथिका नौ वटा परकम्प भएका थिए । शनिबार भने कालीकोट–बाजुरा सिमानाको गोत्री केन्द्रबिन्दु हो । मानव बस्तीदेखि टाढा देउरा हिमालको काखमा रहेको लेकमा केन्द्रबिन्दु परेकाले पनि पहिलेको तुलनामा क्षति कम भएको तिमिल्सिनाले जानकारी दिए । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले कहिले जान्छ थाहा हुन्न । अधिकारीले भने, “अनि भूकम्प एउटै गतिमा जान्छ भन्ने पनि हुन्न, पश्चिम नेपाल भूकम्पका दृष्टिले सक्रिय ठाउँ भएकाले पूर्व सतर्कता अपनाउनुको विकल्प छैन ।”
पश्चिम नेपालको भूगोलमुनि ठुलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि जान सक्ने दाबी उनको छ । भूकम्प गएपछि हारगुहार गर्ने र पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिले भविष्यमा ठुलो क्षति बेहोर्नुपर्ने दिन आउन सक्ने चेतावनी उनको छ ।
वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार चार दिनयता पश्चिम नेपालमा लगातारजसो भूकम्प गइरहेको छ । पुस २ गते बझाङमा ४.३ म्याग्नेच्युटको भूकम्प गयो । भोलिपल्ट पुस ३ गते त्यसको परकम्पका रूपमा बझाङमै ४.१ म्याग्नेच्युटको भूकम्प गयो ।
पुस ४ गते मनाङमा ४.७ म्याग्नेच्युटको अर्को भूकम्प गयो । त्यसपछि शनिबार पुस ६ गते बझाङमा भूकम्प गएको हो । सुदूरपश्चिम र कर्णालीका नजिक नजिकका क्षेत्रमा भूकम्प गइरहेकाले सतर्क रहन भूकम्पविद् कोइरालाले आग्रह गरे । त्यसअघि गत महिना मङ्सिर ६ गते मनाङ र कास्की सिमाना केन्द्र भएर ४.२ म्याग्नेच्युटको भूकम्प गएको थियो । अझ अगाडि दोलखा, बैतडी, बझाङ, दैलेखलगायतका स्थानमा सोही आसपासमा भूकम्प गएका थिए ।
ठुलो भूकम्प जानुपर्ने ठाउँमा अहिले गइरहेको जस्तो साना भूकम्पले जमिनमुनिको पूरै शक्ति निःसृत हुँदैन । किनभने ८ म्याग्नेच्युटबराबरको भूकम्पको शक्ति निस्कन ६ म्याग्नेच्युटको ६ हजार वटा भूकम्प जानुपर्ने हुन्छ । आमनागरिक र सरकारी निकाय सचेत रहेर पूर्वतयारीका विकल्पहरू खोज्न ढिला गर्न नहुने उनको सुझाव छ । “पहाडी इलाकामा बनेका माटो र ढुङ्गाको जडान भएका घरहरूको भर हुन्न, त्यसैले भूकम्प गइरहने क्षेत्रका बासिन्दाले बलियो बासको व्यवस्थामा ध्यान दिनु पर्छ ।”

Author

You may also like