हे युवा !
हिजोआज किन मौन छौ बोल्दैनौ किन ?
के भो तिमीलाई ?
ढाट्ने छल्ने चाटुकारहरुले पो ढाटेकी क्या हो ?
किन मौन छौ ?
हिजो चुनावमा गाउँ – गाउँ , सहर–सहर
संजीवनी बुटी सुघेर हिडिरहेका थियौ त
निधारमा रातो टीका र कफन भिरेर
तिम्रै लाल रङ्गहरुको भोट माग्दै थियौ
न भोक न तिर्खा भएपनि कुर्लिदैथ्यौ
हिजोको आश्वासन
आज पुगेन कि क्या हो ?
तिमीलाई रोजगार दिने
बुबाआमालाई सानोतिनो जागिर
मिलाइदिने बाचा
के पुर्याइदिएनन तिम्रै गोजीका नेताहरूले ?
कि दलाल गर्नेहरुको भीडमा तिमी परेनौ ?
अझै घचघच्याउ तिम्रा आशा निमोठ्नेहरुलाइ
जागिर दिलाइदिनेछन
उनीहरूको लवेदा समाउ
उठ बस गरिराख
छोडदै नछोड,
बाचा हिजोको कबोल्न लगाउ
बुझ उनको दैनिकी दिनचर्या
अहिले बुझ्दैछौ कि नाइ ?
कि होसहवास हारायो तिम्रो ?
बोल्न नसक्ने भयौ कि कसो ?
बोल्न त बोल
बोल्ने, लेख्ने र खोज्ने अधिकार छ तिमीलाई
नहिच्किचाउ सत्य – तथ्य बोल
फन्दामा पो परिन्छ कि भन्ने सोच्दै नसोच
उसले के भन्ला कि
फलानोले के भन्ला कि
सब कुरा छोडिदेउ
अतितका विरासत भुल्दै नभुल
उठाउ तिम्रा संघर्षशील हातहरु
मुट्ठी नखुम्च्याउ
अघि बढाउ तिम्रा हिजोका साथहरु
मिलाउ तिम्रा हातहरु ………………………….?
यी आवाज हुन हिजोका युवाहरूको हो । जसलाई राजनीतिक दलहरुले आफ्नो अभिष्ट पूरा नहुन्जेल सडकमा मसाल जुलुसदेखि लिएर चौतर्फी घेराबन्दीका निम्ति आवाज बुलन्द गर्न लगाए, हिजोका दिनमा । आज ती आवाजहरु आक्रोशित छन, यत्रतत्र छरिएका छन । यी आवाजहरु हामी सामाजिक संजालका भित्तामा, ट्विटर, टिकटक, अनलाइन खबर, पत्रपत्रिकामा युवाहरूको आक्रोश दलहरुप्रति कति राम्रो या नराम्रो रहेछ भन्ने कुरा हामी बोध गर्न सक्छौ । आखिर युवाहरुको जोश, जागरमा किन यति आक्रोश बढ्यो भन्ने कुरा हामीलाई थाहै छ । हिजोका दिनमा सत्ताको लिस्नो चढ्नेहरुले युवाहरुलाइ किन प्रयोग गरे उनीहरूलाई प्रयोग गरेपनि जागिर दिलाउनका निम्ति के – के गरे ? त्यो नेताहरूमै सिमित हुनुपर्ने हो तर त्यो भने हुन सकेन । उनीहरूलाई गोटी मात्रै बनाइयो । पर्चा पम्प्लेट टास्न, हुटिङ्ग गर्न, जयजयकार गर्न, भित्तामा टासिएका पोष्टर च्यात्न, सडक जाम गर्न, टायर बाल्न, एकआपसमा झैझगडा गर्न मात्र युवाहरूलाई प्रयोग गरिएको देखियो । उनीहरू स्वयंलाई यस्ता गर्नै नहुने कार्यमा संलग्न दलहरुले लगाएका कारणले गर्दा आजका युवायुवतीहरु कोहि उच्छृङ्खल बन्न पुगे त कोही बिद्रोही स्वभावका बन्न पुगे । युवाहरूलाई प्रशस्त विविध बिषयकि तालिम दिएर रोजगारको सिर्जना गरिदिएको भए आज युवा बेरोजगारीको समस्याको चाङ्ग यसरी थुप्रीने थिएन । अहिले उनीहरूको मन बिभाजित छ हिजोका पुराना पिढीहरुले राजनीतिमा भोगेको दुःख र पीडा दलहरुले बुझेर समायोजन गर्न सकेनन । वास्तवमा यही भएर होला धेरै युवाहरु राजनीतिको “र” सुन्न मनपराउदैनन । तपाईं हेर्नुहोस, बुझ्नुहोस , केर्नुहोस कि प्रत्येक दलहरुमा युवा नेतृत्वले कुनैपनि ठूलो पद ग्रहण गर्न सकेका छैनन सबै पार्टीमा बयोबृद्द ब्यक्तिहरुकै बोलवाला छ । प्रत्येक पार्टीभित्र टीके प्रथा र हजुरी अनि नातावाद कृपावादले जरो गाडिसकेको छ । यतिसम्म गाज्या छ कि पुनः अवस्थामा आउन सक्नेवालै छैन । आशाहरु तुहिए, निराशा सर्वत्र छाउन थाल्यो । हातमा योग्यता छ, सीप छ, जागर छ तर मन चाहिँ गोलमटोल छ, युवाहरूको । सबैको नेत्रज्योति तिनै युवाहरूमा छ तर सबै युवाहरु आज न घरको न घाटको भएर मुग्लान जाने लर्कोमा छ । तपाईंले देख्नुभाकै होला, गाउँ, नगर, महानगर, उपमहानगर जहाँ जानुहोस सबैतिर बिदेश जाने युवायुवतीहरुको लर्को छ सिफारिस माग्ने लाइनको । उनीहरू भन्ने गर्छन हिजोआज नेपालमा कुनैपनि सरकारले हामी युवाहरुको लागि आकर्षक योजनाहरु ल्याउन सकेन । कति सरकारले सस्तो लोकप्रियताका लागि स्वरोजगारको फाराम भर्न लगाएपनि सरकारले केही ब्यबसाय गर भन्ने नाममा सस्तो ब्याज दरमा कुनै रकम निकासा गरेन । भाषणमा जति कुर्लिएपनि आश्वासन जस्ताको त्यस्तै रहयो । कुनै पनि राम्रो काम सरकारले ल्याउन सकेन । “ मुखमा रामराम बगलीमा छुरा “ भनेझैं युवा केन्द्रीकृत योजनाहरु रद्दी टोकरीमा परेपछि आज युवाहरुले कुनैपनि सरकारको बिश्वासै गर्न छाडेका छन । नगरुन पनि कसरी ? हिजो चुनाव ताका गरेका प्रतिवद्दता आज कता हराए ? उनीहरू जीवनभर यसरीनै बेरोजगार भएर बसिरहनुपर्ने कि कुनै योजनाहरु उनीहरूलाई हितकरका लागि आकर्षक नयाँ योजना सरकारले ल्याएर युवाहरूको भावनामा अझै मलजल गर्न सक्नुपथ्र्यो । त्योपनि गर्न सकेन, युवाहरूलाई केन्द्रित कुनैपनि राम्रा – राम्रा योजनाहरु अहिलेसम्म बनेका सरकारले ल्याउन नसकेकै हुनाले युवाहरूमा मौनताबोध दिनप्रतिदिन मौलाउदै गयो ।
बिगतका सरकारले युवाहरुलाइ कहिले स्वरोजगारको फारम भराउने त कहिले वैदेशिक रोजगारका लागि निःशुल्क बिदेश पठाइदिने नयाँ – नयाँ कुटनीतिक भ्रम गरिरहेकै कारण हिजोदेखि आजसम्म बनेका सरकार विधानत ः असफल हुँदैछन । अब हुने मिसन – ८४ को निर्वाचनमा युवाबर्गहरुको लागि जनतासामु भोट माग्न जाने मिसन मुद्दा के लैजाने ? यस यक्ष प्रश्नको उत्तर आगामी दिनमा राजनीतिक दलहरुले दिन सक्ने अवस्था छैन, यो लेखेर राखे हुन्छ कि दलहरुको आनेकाने कुरा अब टेर्नेवाला छैन यो युवा जमातहरुको पुस्ता । यहाँ कोहीकसैले ललिपप नखुवाए हुन्छ कि अबको पुस्ता जन्मदै आधुनिकता बोकेर जन्मिएको छ । उनीहरूलाई तपाईं हामीले आँखामा छारो नहाले हुन्छ ।
कविको कुनो –
नजाउ युवा यो जन्मभूमि नेपाल छोडेर
पसिना र श्रम फिजाउ यहीँ मेहेनत गरेर
तिमी जागे देश अझै माथि उठनेछ
तिमी सुस्ताए देश पछि झुक्नेछ
उठ उठ जाग हे युवा
यही पसिना बगाउ
दश औंला फिजाउ
जहाँ नेपाली माटो हासेको छ
त्यहीँ नाच त्यहीँ हास
तिमी हासे देश हास्छ
तिमी उठे देश जुर्मुराउछ
तिमी जुटे देश अझै अग्लिएर उठनेछ ।