विमल लामिछाने
दमक । जलवायु परिवर्तन र वातावरण विनाशले मानव अस्तित्वलाई नै चेतावनी दिइरहेको छ । वर्षायाममा पानी पर्न नसकेर उब्जाउ हुने खेतीयोग्य जमिनपनि कतिपय स्थानमा बाँझै रहे । अहिले धान पाक्ने सिजनमा परेको पानीले भने क्षति पुर्याइरहेको छ ।
यो वर्षमात्रै हिँउद लागेसँगै बेमौसमी वर्षा भइरहेको छ । यो वर्षको दशैंछेकमात्रै तराईमा बाढी र पहाडमा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । अहिले पनि हिमाली जिल्लाहरुमा हिमपात र उपत्याकासमेतमा पानीले असर पुर्याएका समाचारहरु आइरहेका छन् । यो सबै हुनुमा वातावरणीय प्रतिकुलता र पर्यावरणको असर नै हो ।
सहरीकरणले विकास र रोजगारीका नयाँ अवसर सिर्जना गरे पनि यसको छायाँमा वातावरणीय विनाश बढ्दो छ । सहरका कारखानाबाट निस्कने धुवाँ, अस्पताल र घरायसी फोहोर, सडेगलेका वस्तु र विषालु पदार्थले वायु, जल र माटो प्रदूषित बनाइरहेका छन् । जलवायु परिवर्तन, हरितगृह प्रभाव, अम्ल वर्षा, ओजोन तह क्षय जस्ता समस्या अहिले सहरको अनिवार्य चिन्ता बनेका छन् ।
मानवको अस्तित्व केवल उसको शारीरिक वा बौद्धिक क्षमतामा होइन, बरु उसको वरिपरिको वातावरण र प्रकृतिसँगको सम्बन्धमा पनि निर्भर हुन्छ । वनजङ्गल, जलस्रोत, माटो, वायु, जीवजन्तु र वनस्पति नै मानव जीवनका आधारस्तम्भ हुन् । यी प्राकृतिक स्रोतहरू सुरक्षित रहँदा मात्र मानव सभ्यता दिगो रहन्छ । तर आज यही प्रकृति मानवको स्वार्थ, असन्तुलित विकास र असावधानीको कारण संकटमा परेको छ ।
विश्वभर सहरीकरण तीव्र गतिमा अघि बढिरहेको छ । संयुक्त राष्ट्रसंघको विश्व सहरी प्रतिवेदन २०२४ अनुसार सन् २०३० सम्म विश्व जनसङ्ख्याको करिब ६० प्रतिशत मानिस सहरमा बस्नेछन् । नेपाल पनि यस प्रवृत्तिबाट अछुतो छैन । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०७८ सम्ममा नेपालमा सहरमा बसोबास गर्ने जनसङ्ख्या १७ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।
मानवले आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै कुरा ग्रहण गर्छ । त्यसैले प्रकृतिलाई विनाश होइन, विकासका माध्यमबाट उपयोग गर्नुपर्छ । स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोग, कार्बन उत्सर्जनमा कमी, हरित सहरको अवधारणा र फोहोर व्यवस्थापनको सुधार जस्ता उपायहरू नै दिगो सहरी जीवनको आधार हुन् ।
नेपालका सहरहरूमा प्रदूषण नियन्त्रण र जलवायु अनुकूलनका कार्यक्रमहरू विस्तार गर्न आवश्यक छ । विद्युतीय सवारीसाधन, ऊर्जा दक्ष उद्योग, र हरित भवन प्रवद्र्धन गरेर वातावरणमैत्री जीवनशैलीलाई प्राथमिकता दिनुपर्छ । वनक्षेत्रको वैज्ञानिक व्यवस्थापन, भू–उपयोग योजनाको कार्यान्वयन र नवीकरणीय ऊर्जामा लगानीले जलवायु संकटको समाधानमा ठोस योगदान पु¥याउन सक्छ ।
वातावरण संरक्षण सरकार वा विज्ञको मात्र जिम्मेवारी होइन, प्रत्येक नागरिकको साझा उत्तरदायित्व हो । जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रियता, र युवा सहभागितामार्फत हरित आन्दोलनलाई सशक्त बनाउने समय आएको छ ।
सहरको सुन्दरता केवल उँचो भवन वा फराकिला सडकमा होइन, स्वच्छ हावा, हरियो वन र सुरक्षित जलस्रोतमा निहित हुन्छ ।
त्यसैले सहरलाई स्मार्ट मात्र होइन, हरित र मानवीय सहर बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।
उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह
संखुवासभा । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो ।
प्रतिकूल मौसमका कारण मङ्गलबार देखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताईन् । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले आग्रह गरेकी छन् ।
उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ ।
मकालु आधार शिविरमा नेपालीसहित दुई सयबढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभन्दा बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् ।