देश–समाज समाचार स्थानीय

वर्षाले जनजीवन प्रभावित, कोशीका अधिकांश जिल्लामा क्षति

दमक । अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनेको छ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । देशभर साधारणतयादेखि मध्यम र कतिपय स्थानमा अधिक वर्षा भएको छ । देशभर बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ ।
मोन्था चक्रवातको असर मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौंमा ४० मिलिमिटर वर्षा भएको छ ।
कोशीमा कहाँकहाँ भयो क्षति ?
असामान्य वर्षाका कारण किसानहरूले भर्खर थन्काउने क्रममा रहेका धानबाली र नयाँ लगाइएका तोरीबालीमा ठूलो क्षति पुगेको छ । तराईदेखि हिमालसम्मका क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लामा धानबाली पानीमा डुबानमा परेका छन् । कतिपय किसानले काटिसकेको धान भित्रियाउन नपाई खेतमै डुबेको छ । अधिकांश किसानको पाकिसकेको धान पनि डुबानमा परेको छ ।
पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुड., पाँचथर, इलामा, धनकुटा, संखुवासभा, भोजपुर लगायत जिल्लाका धेरैजसो स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने धान बाली पहिरोले विगारेको छ ।
वर्षाको असरले विराटनगर महानगरपालिकाका अधिकांश विद्यालय शुक्रबार बन्द गरियो। इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिम र यातायात समस्या ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । वर्षा नरोकिएपछि शुक्रबार मोरङ र सुनसरीका अधिकांश शैक्षिक संस्था बन्द भए ।
लगातारको वर्षाका कारण तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ । विशेषगरी मेची राजमार्ग र कोशी राजमार्गका कतिपय सडक खण्डमा पहिरो र पानीको बहावले आवागमन अवरुद्ध भएको छ । कोशी राजमार्गको भेडेटार नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ भने मेची राजमार्गको इलाम राजदुवाली खण्ड अवरुद्ध बनेको छ । यस्तै तमोर करिडोर लगायतका सडक पनि अवरुद्ध बनेका छन् ।
कोशीका चार सडकखण्ड अवरुद्ध
झापा । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ४ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको र हालसम्म कुनै पनि अवरुद्ध सडक खुल्न नसकेको तथा वैकल्पिक मार्ग पनि उपलब्ध नभएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा पर्ने नावाखोलामा आएको बाढीले तमोर–कोरिडोर सडकखण्ड अवरुद्ध भएको छ । नावाखोलामा पानीको बहाव अत्यधिक बढेकाले सडकमा क्षति पुगेको छ। नजिकको प्रहरी इकाई अप्रचो नावाखोलाले अवस्थाको निगरानी गरिरहेको छ ।
ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भन्डारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । खोलामा पानीको बहाव बढेकाले सडकमा क्षति पुगेको छ। यस क्षेत्रमा प्रहरी चौकी हर्कपुर परिचालन भएको छ ।
इलाम जिल्लाको इलाम नगरपालिका–१ राजदुवालीस्थित मेची राजमार्गमा र इलाम नगरपालिका–१० शिल्पुरदेखि इलाम नगरपालिका–८ तिल्केनीसम्मको भित्री सडकखण्ड वर्षाका कारण अवरुद्ध भएका छन्। यस ठाउँमा जमिन चिरा परेर बाटो धसिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाम (जिप्रका इलाम) ले स्थितिको अवलोकन गरिरहेको छ। धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–५ लुम्फुजुङस्थित रवि राके भेडेटार भित्री सडकखण्ड पनि वर्षाका कारण भाँसिएर अवरुद्ध भएको छ । यस क्षेत्रमा प्रचौ डाँडाबजार (प्रहरी चौकी डाँडाबजार) नजिकै छ । हालसम्म कुनै पनि सडकखण्ड खुल्ने मिति तय भएको छैन भने यी सबै स्थानमा कुनै वैकल्पिक मार्ग उपलब्ध नभएकाले यात्रुहरूलाई असहज भएको छ ।

Author

You may also like