दमक/ सोमबार साँझ भएको कक्षा १२ को परीक्षाको परीक्षाफलअनुसार झापाको दमकमा रहेका संस्थागत विद्यालयका ८३ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने त्यो भन्दा कम ६२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएको पाइएको छ । यसबाट सामुदायिकमा अध्ययन गर्ने विद्यार्थीभन्दा संस्थागत निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नतिजा राम्रो आएको छ ।
संस्थागत विद्यालयका २ हजार २३८ विद्यार्थीहरुले परीक्षा दिएकोमा १ हजार ८६२ जना ग्रेडेड भएर पास भएका छन् भने ३७६ जनाको ननग्रेडमा रिजल्ट निस्किएको छ । नगग्रेडेड हुनेहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले मौका अर्थात् ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति आगामी भदौ २८ र २९ गते हुनेगरी तोकिसकेको छ । अर्कातर्फ सामुदायिक विद्यालयका ८५० जना विद्यार्थीले परीक्षा दिएकोमा ५२७ जना उत्तीर्ण भएको तथ्यांक प्राप्त भएको दमक नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक तर्फ ३२३ जना ननग्रेडेडमा परेका छन् । यो आंकडालाई मिसाएर हेर्दा दमकमा रहेका कक्षा १२ सम्मका विद्यालयको कुल परिणाम जोड्दा भने समग्रमा सामुदायिक र संस्थागत गरेर दुवै तर्फबाट ७७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसअनुसार जम्मा ३ हजार ८८ जनाले परीक्षा दिएकोमा २ हजार ३८९ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । ६९९ जना विद्यार्थी भने ननग्रेडेडमा परेका छन् । हामीलाई प्राप्त भएको केही विद्यालयको नतिजा अनुसार दमकबाट सिद्धार्थ बोर्डिङ अंग्रेजी विद्यालयकी मनिका पौडेलले दमकमै सर्वाधिक ३ं दशमलव ९५ जिपीए ल्याएको बुझिएको छ । त्यसपछिको स्थानमा ग्लोबल एजुकेशनल एकेडेमीका रुपेश नेपाल
(विज्ञान संकाय) ले ३ दशमलव ९२ जिपीए ल्याएर विद्यालयका नाम राखेका छन् । ग्लोबलका १९ जना विद्यार्थीले ए प्लस ल्याएर उत्तीर्ण गरेका छन् ।
त्यस्तै झापा मोडल अंग्रेजी विद्यालयले भने शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । झापा मोडलमा ५ जनाले ए प्लस ल्याएका छन् भने २४ जनाले ए को ग्रेड प्राप्त गरेका
दमकमा…छन् । दमकका विद्यालयहरुको नतिजालाई केलाउने हो भने कक्षा १२ को नतिजा सन्तोषजनक रहेको बताइएको छ । सामुदायिक भनिने सरकारी विद्यालयको नतिजा पनि अघिल्ला वर्षहरुको तुलनामा ठीकै पाइएको छ । तर सरकारी विद्यालयमा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको संख्या भने औंलामा गन्ने गरीको न्यून छ । यसबाट आगामी दिनमा सामुदायिक विद्यालयले अब्बल नतिजाका लागि अझै धेरै मेहेनत गर्नुपर्ने देखिन्छ । तर संस्थागत विद्यालयको नतिजामा पनि केही प्रश्न उठाउने ठाउँ देखा नपरेको भनेर भन्न सकिने अवस्था रहेन । किनकि संस्थागत विद्यालय भनेको प्रायःजसो आफूहरुलाई शतप्रतिशत नतिजा निकाल्ने विद्यालयका रुपमा दर्ज गराउने प्रयासमा हुन्छन् । तर यस्तो उपलब्धि हात नलाग्दा ति विद्यालयहरुको उद्देश्य र मेहनत केही मात्रमा खेर गएको कतिपयले विश्लेषण गरेको पाइन्छ । तर यसमा विद्यालयको मात्र नभएर स्वयं विद्यार्थीहरुको मेहेनत र लगनको पनि उत्तिकै जिम्मेवारी र भूमिका हुन्छ ।
कक्षा १२ लाई केही वर्ष यता अथवा भनौं प्रविणता प्रमाण पत्र तह खारेजी भएपछि माध्यमिक तहको अन्तिम परीक्षाका रुपमा लिइन्छ । कक्षा १० अर्थात् साविकको एसएलसीको ठाउँ यसले लिएको छ अहिले । कक्षा १० को परीक्षालाई एसईई भन्न थालिएको छ भने कक्षा १२ लाई मात्र एसएलसी भन्ने बेला आएको छ । माध्यमिक तहको पढाईमा कक्षा १२ पनि समेटिएपछि विद्यालय शिक्षाको अन्तिम द्वार यही भएको छ । क्याम्पसको उच्च शिक्षाका लागि कक्षा १२ लाई मुख्य आधार मान्न थालिएको छ । यसमा कस्तो परिणाम आउँछ, कति राम्रो जिपीए आउँछ, त्यसैमा विद्यार्थीले आफ्नो भावी शैक्षिक दिशा निर्धारण गर्ने गर्दछन् । राम्रो ग्रेड आउने विद्यार्थीहरु क्याम्पसको पढाईमा पनि राम्रै विषयमा अध्ययन गर्ने क्षमता राख्छन् भने कम ग्रेड आउनेहरुले पनि अझ धेरै मेहेनत गर्नका लागि आफूहरुलाई तयार राख्नुपर्ने आवश्यकता देखिन्छ । तर कम ग्रेड आउँदैमा भविष्यमा त्यसमा सुधार गरेर क्याम्पसको शिक्षामा राम्रो नतिजा ल्याउन नसकिने भन्ने होइन । यसपालीको नतिजाले समग्रमा सरकारी विद्यालयले अझै मेहेनत गर्नुपर्ने देखिन्छ भने संस्थागत निजी विद्यालयहरु थप चनाखो बन्नुपर्ने र विद्यार्थीहरुले पनि जागरुक र मेहनती भएर शैक्षिक सत्रको शुरुदेखिनै अध्ययनको कार्यलाई अघि बढाउनुपर्ने देखिएको छ । कक्षा १२ को यसपालीको परीक्षाफलले दिएको सन्देश यहीनै हो ।