इलाम, १० पुस ।
इलामको सूर्योदय नगरवासीले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने भएका छन् ।
नगरका वडा नम्बर ६ देखि १४ सम्मका वडावासी नागरिकता लिन सदरमुकाम धाउनु पर्ने बाध्यता रहेकामा अब सीमा प्रशासनबाटै नागरिकता वितरण गरिने भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाए ।
मन्त्रीस्तरीय निर्णयपछि गृह मन्त्रलयले त्यसको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । यसअघि सूर्योदय नगरका वडा १ देखि ५ सम्मका बासिन्दाले मात्रै सीमा प्रशासनबाट नागरिकता पाउँदै थिए । अब नगरका १४ वटै वडाका बासिन्दाले सीमा प्रशासनबाट नागरिकता पाउने नगरपालिकासँग बैठक बसेर अब तत्कालै पशुपतिनगर सीमा प्रशासनबाट नागरिकता वितरण थालिने प्रजिअ यादवको भनाइ छ ।
सीमा प्रशासनबाट त्यस क्षेत्रका बासिन्दाले नागरिकता, नागरिकताको प्रतिलिपि र नाबालक परिचयपत्र लिनसक्ने छन् । त्यस क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम पुग्नुपर्दा भौगोलिक हिसाबले धेरै असहज भइरहेको भन्दै पशुपतिनगरमै प्रशासनको सेवा माग गर्दै आएका थिए ।