नेपालका सत्तारुढ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता र देशका प्रधानमन्त्री बालेन्द्र साह भारतीय प्रधानमन्त्री र आफ्ना समकक्षी नरेन्द्र दामोदर दास मोदीको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जाने कुरा टुंगो लागि सके पछि त्यस सम्बन्धी अन्य सबै तयारी पूरा भई सकेको छ । नेपालका अत्यन्त घनिष्ठ मित्र र सबै भन्दा नजिकका छिमेकी भारत र नेपाल बीच परापूर्व काल देखि नै विशिष्ट किसिमको सांस्कृतिक ,राजनैतिक , सामाजिक र आर्थिक सम्बन्ध रहँदै आएको छ ।नेपाल र भारत बीच रहेको खुला सिमानाले दुई देश बीच बेटी रोटीको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगी रहेको अवस्थामा नेपालका प्रधानमन्त्री भारत सरकारको अथिति बन्नुको साथै आफन्त बन्नुमा पनि आफूलाई बढी सहज हुने र खुलस्त सँग आ आफ्ना सरोकारका कुरा हरुबारे कुनै दोभासिया बिना नै अन्तरङ्ग हुन सक्ने थुप्रै आधारहरू बारे प्रष्ट हुन सकिन्छ ।
भारतमा अङ्ग्रेजहरूलाई धपाउन भारतीय स्वतन्त्रता सेनानी हरुसँगै नेपालीहरूले पनि सहयोग पु¥याएको कुरोलाई बिर्सिन सकिन्न त्यसरी नै नेपालमा पनि राणाशासनको अन्त्य गर्न र त्यसपश्चात पनि पटकपटक नेपालमा लोकतन्त्रको बहाली गर्नमा भारतीय जनता र भारतीय सरकारले गरेका बहुआयामिक सरसहयोगले नेपाल आज गणतन्त्रात्मक मुलुकको रुपमा विश्वको सामु उभिन पाइरहेको छ । नेपाली जनताहरूले पनि स्वतन्त्रता समानता र विश्व बन्धुताको आदर्शलाई पालना गर्दै विश्वसँग शान्तिपूर्वक बाँच्न निरन्तर संघर्ष र अभ्यास गर्दै लगिरहेको छ । नेपाललाई जस्तोसुकै आपद्विपत पर्दा पनि भारतीय जनता र भारत सरकारले सक्दो सहयोग गरेर विभिन्न किसिमबाट असल छिमेकी र बेटीरोटीको सम्बन्धलाई अक्षुन्न बनाइरहेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल र भारतबीच सुल्झाउन नसकिएका कतिपय विवादास्पद मुद्दाहरू बारे दुईपक्षीय रुपमा छलफल हुन्छ कि हुँदैन अथवा कुनै निष्कर्षमा पुगिन्छ वा पुगिँदैन भन्ने कुराहरु बारे पनि आम नेपाली जनमानसमा कौतुहलता छाएको छ ।
विगतका सरकारहरूले नेपाल र भारतबीच रहेका सीमा विवादहरूलाई अन्तर्राष्ट्रियकरण गर्न खोज्दा पनि सफल हुन नसकेको अवस्था बारे विज्ञहरूले औल्याइरहँदा रहेका र देखिएका सीमा विवादहरु यथावत नै रहिरहने हो कि भन्ने आशंका समेत गर्न थालिएको छ । नेपालमा विगत लामो समयदेखि नेपाल र भारत बीचको राजनीतिलाई उत्तर र दक्षिणका महाशक्तिशाली र चतुर देशको रुपमा बुझ्ने गरिएकाले नेपालले दुई ढुंगा बीच रहेको तरुलको जस्तो अवस्थिति झेल्नु परेको सत्यलाई कसैले पनि छोप्न सक्दैन । अब चिनियाँ कम्युनिष्ट शासकहरूलाई रिझाएर बढी सहयोगको अपेक्षा गर्नु नेपालको लागि आफै पनि आत्मघाती कदम हुन सक्छ त्यस्तै दिल्ली दरबारलाई पनि रिझाएर उत्तरका डूगन सरकारलाई चिढ्याउने कार्यहरूबारे पनि नेपालका अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले प्रष्ट हुनु जरुरी छ । दुई देश बीचको सम्बन्ध समदुरीको आधारमा होइन कि समानता र सम्मान को आधारमा हुनुपर्दछ । अहिले तिब्बत स्वायत क्षेत्र नभएर सङ्घीय जनवादी चीनको अभिन्न भूभाग बनिसकेको छ । सिक्किम पनि स्वतन्त्र राज्य नभएर भारतीय गणतन्त्रको अभिन्न भूभाग बनिसकेको छ ।
भारतभन्दा चीन शक्तिशाली हो वा चिनभन्दा भारत शक्तिशाली हो भन्ने कुरामा विमर्श गर्नुभन्दा जरुरी नेपालको अपेक्षा र उपेक्षालाई एउटा सार्वभौम सत्ता सम्पन्न मुलुकहरुले कसरी सम्बोधन गर्दछ भन्ने कुरामा चासो राख्नु जरुरी छ । जसरी नेपालको हकहित र स्वार्थलाई तथा राष्ट्रिय स्वाभिमानलाई भारतले नजरअन्दाज गर्न मिल्दैन त्यसरी नै नेपालले पनि भारतको सुरक्षा चासो र नेपालको खुल्ला बाटो प्रयोग गर्दै इस्लामिक आतंकवादी समूहहरूले भारतलाई अस्थिर बनाउने तथा भारतभरि दंगा फसाद र उपद्रो मचाउने गरी गरिने क्रियाकलापहरुलाई पनि नेपालले कुनै पनि हिसाबले नजरअन्दाज गर्न मिल्दैन । अबको समय भारतको कूटनीतिको विरुद्ध नेपालले चिनियाँ कार्ड खेल्न नेपालकै लागि पनि अफाप बन्न सक्ने प्रशस्त सम्भावना रहेकोले नेपालले आफ्नो परराष्ट्र नीतिलाई समय सान्दर्भिक र परिस्थिति अनुकूल रूपान्तरण गर्नुपर्ने हुनाले भारतको पक्षमा पनि नलाग्ने र चीनतिरबाट पनि तटस्थ रहने गरी गरिने निर्णयहरू पटकपटक असफल हुँदै गरेको देखिएकोले नेपालले विश्वको उदारवादी खुला र भूमण्डलीकरण हुँदै गएको आर्थिक राजनीतिक वैश्विक समीकरणलाई खुला हृदयले आत्मसाथ गरेर नेपालको भूपरिवेष्ठित आर्थिक राजनीतिक बाध्यताहरूलाई गहिरो चासोका साथ नेपालको पक्षमा पार्नु जरुरी छ । भारत दिनानुदिन आर्थिक राजनीतिक र सामरिक महाशक्तिको रुपमा विश्वको अगाडि देखा परिरहेको अवस्थामा नेपालले भारतीय उद्यमशीलता र बलियो हुँदै गएको अर्थतन्त्र बाट लाभार्जन गर्नु जरुरी छ ।
भोटमा सुन छ कान मेरो बुच्चे भन्नेझैं नेपालका राजनैतिक अर्थशास्त्रीहरूले गुजुल्ट्याएको नेपालको परराष्ट्र नीतिलाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको परराष्ट्र नीति जस्तो प्रगतिशील बनाउनु जरुरी छ । विगतमा न त नेपालले चीनबाट नै अत्यावश्यक सरसहयोग पाउन सके न त भारतले नै नेपाललाई भनेबमोजिम अनुसारका सरसहयोग गरेर नेपाली जनताका आलोचनात्मक विचारहरूलाई पन्छाउन सके परिणामस्वरूप नेपाल यथास्थितिवादी राष्ट्रको रुपमा रहिरहने बाध्यात्मक अवस्थाबाट गुज्रिनु पर्यो । नेपाल पटकपटक प्राकृतिक आपदा भोग्दै आएको राष्ट्रको रूपमा सबैभन्दा अगाडि रहेको देखिन्छ । भारतीय विदेश नीतिको पहिलो सारांश छिमेकीलाई पहिलो प्राथमिकता दिइने भनिएकोले भारतले नेपाल बङ्गलादेश भुटान म्यानमार श्रीलंका माल्दिभ्स अफगानिस्तान लगायतका भारतका छिमेकमा रहेका मुलुकहरू लाई अनेकौं किसिमबाट सरसहयोगहरु गर्दै गरिएको इतिहासहरू हाम्रो समक्ष छर्लङ्ग छ । नेपालको अर्थव्यवस्था र भारतीय अर्थतन्त्र एउटै आर्थिक पद्धतिबाट सञ्चालन हुँदै गरिएकोले सीमापारिका मुलुकहरूमा भइरहेको आर्थिक प्रगतिलाई नेपालले पनि आत्मसात गर्नु जरुरी छ र त्यसै बमोजिमको सरसहयोगहरूको लागि भारतीय सरकारसँग अपेक्षा गर्नु पनि जरुरी छ ।
अहिले भारतभरि नै बुलेट ट्रेनहरु सञ्चालन गर्ने लहर नै चलिरहेको छ । रेल मार्ग सडकमार्ग, नदी नियन्त्रण गर्ने लगायतका कार्यहरूलाई भारतीय सरकारले प्राथमिकतामा राखेकोले नेपालले भारतमा नदीलाई प्रयोग गर्न र व्यवस्थापन गर्न बनाउने गरिएको तटबन्धहरू जस्तै नेपालमा पनि तटबन्धहरू निर्माण गर्ने प्रविधिहरू भारतबाट प्राप्त गर्न सकेमा नेपालले जलसंकटबाट र बाढीको थप विभीशीकाबाट नेपाललाई छिटोभन्दा छिटो मुक्त बनाउन सक्छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह आफै पनि उच्चशिक्षित प्राविधिक योग्यता भएका इन्जिनियर भएकाले नेपाललाई चाहिने आवश्यक प्रविधिहरू भारतबाट सहयोगको रूपमा प्राप्त गर्न सक्ने ठूलो अपेक्षा गर्न सकिन्छ । नेपालमा यातायातका साधनमध्ये रेल सेवा विश्वमा नै सबैभन्दा पिछडिएको अवस्थामा रहेको छ । भारत सरकारको सहयोगबाट अयोध्यादेखि जनकपुरसम्म तीर्थयात्रीहरूको लागि आवागमन सहज बनाउनको लागि रेल सेवालाई पुनः सञ्चालन गरिएकोले त्यसलाई दिगो र राष्ट्रिय स्तरमा नै विस्तार गर्नु जरुरी छ ।
नेपालमा प्रविधिमैत्री विद्यालयहरू विश्वविद्यालयहरू र वातावरण मैत्री शिक्षा मन्दिरहरू बनाउनु र निर्माण गर्नु आवश्यक भएकोले गुणस्तरीय मानव साधनहरूको विकास गर्नको लागि भारतको सहयोग अत्यन्त नै फलदायी हुन सक्छ भन्ने बारे नेपाली जनता हरूमा ठूलो आशा पलाइरहेको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको उच्च शिक्षा भारतमा नै भएकोले भारतीय राजनीतिको दशा दिशा र कुटनीतिको सवालमा उनी पनि कोहीभन्दा कम छैनन् भन्ने कुरामा हाम्रो विश्वास अडिएको छ । प्रधानमन्त्रीले नेपाललाई प्रविधिको हब बनाउने, गुणस्तरीय शिक्षाको लागि विद्यालय र विश्वविद्यालयहरूलाई समुन्नत बनाउने, स्वास्थ्य सुविधाहरूलाई सुविधाजनक र प्रविधियुक्त बनाउने लगायतका कार्यहरुलाई अगाडि बढाउन भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी सँग खुलस्त रुपमा आँखामा आँखा जुधाएर काँधमा काँध मिलाएर असल मित्र सरह सुख दुख र जनताका सरोकारका कुराहरू बारे संवेदनशील बन्न र व्यवहार गर्न सहमत गराउन सक्नुपर्दछ । अहिलेसम्म पनि भारतीय क्रिकेट खेलाडीहरूले खेलमा जित्दा नेपाली क्रिकेट प्रेमीहरूले खुसियाली मनाउँदै गरेको घटनाहरूको साक्षी नेपाल र भारतका जनता स्वयं नै भएकाले भारतले आफ्नो छिमेकी मुलुक तर अत्यन्त नै घनिष्ठ र संवेदनशील सम्बन्ध रहेको नेपालप्रति बसूधैव कुटुम्बकमको नीतिलाई अक्षरस पालना गर्नु जरुरी छ । यसैमा नेपालको विदेश नीति र भारतीय विदेश नीति को सफलता अन्तर्निहित छ ।

Author

You may also like