:- चक्रपाणि गौतम -:
कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । यो एकादशी सनातन ब्रत संस्कारमा अति महत्वपूर्ण ब्रत हो । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिनालाई चतुर्मास भनिन्छ, यी चार महिना गृहस्थ र संन्यासीहरु दुवैका लागि अति महत्वपूर्ण महिनाहरु मानिन्छन । ऋतुविज्ञान अनुसार वर्षा र शरद यी ऋतुहरु मौसम वातावरण र पर्यावरणीय दृष्टिले समेत जटील मानिने भएकाले गृहस्थहरुले विशेष प्रकारका काम्यब्रतहरु गर्न निषेध गरिएको छ भनें संन्यासी वितरागी साधुसन्तहरुलाई पनि यात्रा तीर्थयात्रा निषेध गरिएको हुन्छ । यसर्थ यी चार महिना साधु सन्तहरु एकै स्थानमा बसेर लोकल्याण का लागि चिन्तन गरेर समय बिताउछन भनें गृहस्थहरु स्थानत्याग नगरिकन मनोयोगपूर्वक कृषिकर्म आदिमा लागिरहन्छन । यसर्थ हरिशयनीदेखि हरिवोधिनी–सम्मका चार महिनालाई प्रज्ञाव्रत भनिन्छ ।
कुनै पनि प्रकारका जानी वा नजानी गरिने हिंसा नै पाप हो, संसारमा जीव आफ्ना कर्मले जन्म लिन्छ र मृत्यु पनि आफ्नै कर्मले हुन्छ । कुनै पनि कीट पतंग लगायतका प्राणीहररुको मृत्युको कारण मानव हुनु हुदैन भन्ने शास्त्र बचन छ । शरिर मन र कर्मले गर्ने हिसा तीन प्रकारका हुन्छन । पृथ्वीमा जीव मानव र वनस्पतिको जव बढी विकास हुन्छ अनि हिंसा जागृत हुन्छ । चतुर्मासमा प्रकृतिक रुपले जीवको विकास बढी हुन्छ यसरी बढेका जीवहरु एक आपसमा हिंस्रक वनेका हुन्छन । यस अवस्थामा मानवबाट पनि आफ्ना गतिबिधिहरु संचालन गर्दा हिंसा हुनु स्वाभाविक हो । यसकारण गृहस्थहरुलाई यी चार महिना विशेष गरेर आफ्ना घरमै बसेर नित्य सत्कर्म सत्संग र स्वाध्याय गर्ने नियम निर्धारण गरिएको छ । यसरी घरमै बसेर स्वाध्याय गर्नाले ज्ञानबृद्धि त हुन्छ नै पारिवारिक दायित्व पूरा गर्नु पर्ने गृहस्थले यात्राबाट हुने प्राकृतिक जोखिम पनि भोग्नु पर्र्दैन । यसर्थ घरमा बसेर गृहस्थका विशेष कर्म सम्पादन गर्दै नित्य ब्रत नियम र ज्ञान आर्जनका लागि शास्त्र चिन्तन गर्नु उपयुक्त हुन्छ नै । गृहस्थ जीवनको महत्वपूर्ण वस्तु भनेको घर परिवार नै हो यस कारण वातावरणीय प्रतिकूलताका यी चार महिनामा सन्तान घर र आफ्नु सन्तानलाई पालनपोषण गर्ने खेतबारीको सुरक्षा गरेर बस्नु नै उत्तम हुन्छ । हरिवोधिनी एकादशीदेखिका चारमहिनामा कुनै पनि विवाह व्रतवन्ध घरपैचो पनि गर्न निषेध गरिएको छ । यसको कारण यी महिनाका ऋतुहरुमा स्वास्थ्यका दृष्टिले सजग हुनु पर्ने हुन्छ । आषाढ श्रावण भदौ असौज कार्तिक महिनामा खानपानमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ । असारमा मस्यौरा श्रावणमा साग भदौमा दही असौजमा दुध कार्तिकमा घिउ जस्ता चिजहरुको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण पनि यी महिनामा सामूहिक रुपमा भेला भई गरिने काम्यकर्महरु नगर्न ऋषिमुनिहरुले आज्ञा गरेका हुन ।
हरिशयनी एकादशीदेखि चार महिनाका लागि भगवान विष्णु निदाउनु हुन्छ र यी महिनामा विष्णु भगवानको प्रत्यक्ष दृष्टि नपरे कामनायुक्त कर्महरु सफल हुदैनन यसर्थ सकाम कर्महरु यी महिनामा गर्न हुदैन भन्ने शास्त्रको आज्ञा छ ।
हरिशयनी एकादशीका दिन प्रत्येक सनातनीहरुले घर आंगनमा हरिप्रिया तुलसीका विरुवा रोप्नुपर्छ । हरि सुतेका बेला हामीलाई हरिको प्रियवस्तुले स्वास्थ्य सत्संकल्प र सुविचारको उर्जा प्रवाह गरिरहन्छ यसकारण हरिशयनीमा तुलसी रोप्नै पर्दछ । तुलसीमा कुनै पनि मौसममा हुने फ्लु र विविध रोगहरु नियन्त्रण गर्ने क्षमता हुन्छ यसकारण हरेक घर आंगनमा अनिवार्य तुलसी रोप्न पर्दछ । आंगनमा रोपिएकी तुलसीको सुगन्ध र यसभित्र हुने औषधिय गुणले हाम्रो मनलाई पवित्र बनाउछ भने यी चार महिना तुलसीका पात सेवन गर्दा अति लाभकारी पनि हुन्छ । यसकारण आषाढ शुक्ल एकादशीका दिनदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिनाहरु प्रज्ञा (ज्ञान ) र स्वास्थ्य र पारिवारिक सुरक्षा र अहिंसाका लागि अति महत्वपूर्ण मानिन्छन ।
यसरि चार महिनासम्म समाजकल्याणको चिन्तन र मन शरिरमा उर्जा बढाउने यज्ञहरु गरेर प्राप्त गरेको अन्न धन , र ज्ञानको सदुपयोग गर्दै हरिवोधिनी एकादशीदेखि अभ्युदयकर्म (उन्नति, उठान, विवाह, सन्तानप्राप्ति, उत्सव शुभफल आदि ) प्रारम्भ गर्न शास्त्र र ऋषिमुनिहरुले अनुमति प्रदान गर्दछन । ऋतुविज्ञान अनुसार अवको मौसम मानव स्वास्थ्य र कर्मका लागि अनुकूल रहन्छ । विगतका चारमहीना–सम्म रोकिएका यात्रा आफन्तसंगको भेटघाट कुशलक्षेमको जानकारि आदिका लागि पनि हरिवोधिनी एकादशीपछिको समय अति महत्वपूर्ण मानिन्छ ।
कोशकारहरुका अनुसार हरि भनेको प्रकास ज्योति उज्यालो पक्ष आत्मा पर्यावरण चेतना र उन्नति हो । हरिवोधन हुनु भनेको उन्नति प्रगति र ईच्छा कामना प्राप्तिका लागि प्रयासरत रहनु हो । अझ भन्नु पर्दा हरिशयनी एकादशीदेखि प्राप्त प्रज्ञा धन र विवेकलाई सदुपयोग गर्दै आफू समाज र देशको समृद्धि विकाश र अभ्युदयका लागि आफूलाई निष्ठापूर्वक कर्ममा समर्पण गर्नु नै हरिवोधिनी एकादशीको सामाजिक महत्व हो ।