-: ‘व्यंग्यनारान पाँडे’ :-
हालकाे सरकार बनेकाे दिनदेखि हाे कि केपी ओली पक्रा परेकाे दिउँसाेदेखि हाे पाँडेकहाँ नआएकाे ‘हरिराम पुरेत बाजे’ नामक मान्छे अस्ति, गणतन्त्र दिवसकाे बिहानै, अकस्मात कताबाट हाे, मातेर झिल्लु अवस्थामा आइपुग्याे । पाइलैपिच्छे खुट्टा एक-आपसमा ठाेक्काउँदै र शरीरलाई ढल्नबाट बलैले जाेगाउँदै पाँडेकहाँ आएकाे थियाे ऊ !……
हालकाे सरकार बनेपछि लगत्तै एक बेलुकी ऊ पथरिया कि जलथल कताकाे हाे कुन्नि, कुनै झाेडा गाउँकाे, भू.पू. वनजाँचे हल्दारकाे घरमा हल्दार्नीले भित्रभित्रै चलाउने गरेकी जाँड पसलमा बङ्गुरका चानासँग ताेङ्बा नारेर उही हल्दारसँग कस्सिएर ‘पाेल्टिस’-काे गफेडा लाइरहेकाे थिएछ । भान्सामा रेडियाे बजिरहेको थियाे अरे । समाचारकाे समयमा समाचार आउँदा मात्र उसले केपी ओली पक्रा परेकाे सुनेकाे हाे अरे । र, झन्नै बहाेश भएकाे अरे ! त्यसकाे भाेलिपल्ट बेहानै फेरि ‘मुड अफकाे ओखति’ भन्दै एक बाेत्तल डल्लै जङ्गेपानी धाेकेपछि बटारिँदै पार्टीकाे लाेकल अड्डामा गएर साेही मुडमा साे पार्टीको ‘कमरेड पद’-सँग छाेडपत्र गरेछ । तर, अहिले पनि,मातेका बेला, उसले बाटामा भेटेका जाे-काेहीसँग, आफूलाई ‘भूतपूर्बक कम्रेट’-काे साइनाे लाएर इज्जत गर्न कडा धम्कीका साथ सुझाउने गर्थ्याे अरे । इत्यादि । भूपू कम्रेट हरिराम आफ्नामा आउन छाेडेकाे अवधिमा पाँडेले यस्ता-यस्ता कुरा चाहिँ पगितै सुन्दै आएकाे थियाे ।…
अतः पाँडे सँधै झैं बसिरहेकाे बरण्डाकाे दुईवटै रेलिङ बलियाे समाएर मरीतरी लर्खराउँदै उक्लिँदादेखि नै ऊ बर्बराउन थाल्याे-…. “जे भा’नि आफ्नाे सओदर भूतपूर्वक पाटीका सओदर ‘बा’ हुन् नि मेरा, म जिम्दै छँदाछँदै उन्का बारेमा जे पा’ तेइ लेख्न पाइँछ ? हामेरकाे नेपालका अक्बार-मेडिआका पत्रिका छाप्ने लाइसिन छ भन्दैमा आदर्निए-ढाेगनिए, तीन्चारखेप देशकै मुख्खे कार्बारी र जिम्मावाल प्राइमिस्टर भइसक्या जैसा बेक्तित्ताेलाई भँरभनेदेखुन् मुनपरी लेख्न पाइँछ ? पाइँछ भनेर चइँ काँ लेख्या छ ? मेडिआ भएँ भन्दैमा साँढे हुन पाइँछ ? ाबीउ राँगाे झ्याइँ बटारिन पाइँछ र हओ पाँडेजी ?…म चइँ सिड्याे थेँ भने नि ? बुजेउ कि बुजेनउ तपइँले हँ ?…म यस्पी-निस्पेक्टरै भा पनि नि हउ पाँडेजी ! …इ-इ-इ सप्पै मेडिआका झ्याक्ने-झ्याक्नीहर्लाई च्याप्पका च्याप्प चाइनेकेरे…पाता कस्सेर झ्यालखानमा पुगाउन सक्तिन चइँ थें भने…तेस्सिमालाने… म एउडाे बाऊकाे छाेरै हुन्नथें, लु जा ! बरू बाऊकाे अङ्स-सङ्स चाइन्थेन मलाई ।…जे पर्ला साेइ टर्ला ! …रटेका सँसृत भट्याउन जानेकै छ, पँडित भनिँदै छइँछु…आइ डन्ट केयार ! यु अन्डरइसटेन ?… अहँ डर-तरास् त नाे-नट नि ! अन्तखेरि म जत्तिकाकाे ‘बा’-काे जे पा तेइ पाेल खाेलेर बेजाेत गर्णे…? हेर्लाम नि म पनि… त्तेरिमा सालाहेरू !…”
उनी बाैलाहा जस्ताे बाेकेकाे बाेलेकै गर्न थालेपछि पाँडेकाे धैर्य पनि टुट्याे र रिसाएकाे घाेर्ले स्वरले झपार्दै भन्याे -” ओए पुरेत बाजे, चूप लाग्ने कि नलाग्ने ? गल’त्याई मागेकाे हाे ? हँ ? याे के तरिका हाे – मातेर अर्काका घरमा आएर टुप्पाे न फेदका कुरा एकाेराे…”
तर, पाँडेलाई सजिलै उछिन्दै उसले भन्याे -” हाे त नि हओ अनित्याँड !… हामेरका ‘बा’-ले ‘सुख्खी र सन्ताेष्की नेप्पाली’ साेतह ‘समबिर्द नेपाल’-काे पइत्र र तेत्ति टेसिलाे मन्त्र-टुक्का उखानेर उत्राे गरेकाेलाई तेसरी हेप्नी ? …… कल्ले लायाे तेसरी हेप्न ? कुन उल्लुले सिकायाे तेसरी हेप्न र रेला गरेर उजाति गर्ण हँ ?…मेरा छेउमा आएर हेपुन् त – म तिन्का कन्सिरीका भुत्ला चाइनेकेरे नउखेली छाडुँला त ?…तिन्का आँखा झिकेर गुच्चा नखेली छाेडुँला त ? …तिनका चाइनेकेरे दाँत झारेर गट्टी नखेली छाेडुँला त ?… तिन्का टङ्डी नताेडे त म एउडै बाऊबड जन्म्या छाेरै हाेइन, यत्रैसिति !… मैले पाटीकाे कम्रेटबड मात्तै रिजाएन देकाे ! मैले पाटीका ‘बा’-लाई ‘बा’ मान्नबड यत्राे खान रिजाएन दिनु थ्याे र ?…..दिन्न ल ! कल्ले के खुत्याउँछ खुत्याओस् ।… इइइस खुत्याउँछ ! लु त लु, खुत्याइहालाेस्, अइइइले नै… जस् नाउँ ! लु त ! …तेरिमा लानेहेरू !”…
पाँडेलाई दिक्क लाग्नु स्वाभाविक थियाे तापनि यस्ताे अँटेरी- ज्याद्राे मत्थुसँग सिङ जाेर्नु पनि आफ्नै वेइज्जत हुने थियाे । यस्ताे अक्करिलाे समयमा बुद्धिले पनि साेचे जस्ताे काम गरेन । र, दाँत किट्तै भन्याे -“ओए बाजे, तिम्रा भूतपूर्व ‘बा’-बाट के कति नेपाली सुखी बनेका थिए ? नेपाल देशलाई के कति समृद्ध बनाइएकाे थियाे कि लुटैलुटले अझ टाट र निख्लाम बनाइएकाे थ्याे हँ ? जाँड खाएर जे पायाे त्यही बाेल्दै …”
कुर्सी भाँच्ला जस्ताे गरी जिउ जुरुक-जुरुक उचाल्दै-थेचार्दै र पाँडेका नाकमा ओैंला नचाउँदै ,फेरि पनि उसैले उछिन्दै डङ्का पिट्याे -“ल हेर त ! हे भग्बान् , नारान सिभ ! … लाज-सर्मकाे अलिइइइकति पनि क्यारलेसै नगरी तपइँ किन बम्केका नि !..किन बम्केका हओ पाँडे चटार्रेकाे साँढे जैसाे ?… हन तपइँलाई हामेरका ‘बा’-ले दइनिककाे डेल्ली घुट्क्याउने पानी मात्तैमा एकतीस सहे रुप्पे र मैनामा साठ्ठी हज्जार ठखर्च गर्णे हइसेत राक्छन् भन्ने थाही छैन कि क्या हाे, हन ?… तेस्ताे, क्या दामी पानी ! सिँघापुर हाे कि हङ्गकनकाे कम्पनी माल हाबाजाजले ल्याइदिने गर्छ था छ छैन ?…हामेरका बा पनि नेपाली हुन् र नेपालीकाे ताे हइसेत हुनु सुख्खी नेपाली हुनु हाेइन्त अनित्याँड ?… पानीमा मात्तै उत्राे खर्च गर्ने याे बिस्साे सन्सारकाे हाेल ओर्लमा आर्काे कुन चइँ मूलङ्खरे छ ? मेरा छेउमा आओस् त ताे !… हत्तेरिका हउ सर्साेती माता, इ पाँडेलाई अल्कति भा पनि बुद्दि भन्ने गिदीकाे खाेराक किन चइँ नदेकाे तपइँले ?….ओहाे इनले मलाई ठाढै हेपेरै पाे बाेल्छन् त ? हँ ? के अरे ?…अन्तखेरी एइ झाँपा सरदकाे हाेइन ताे दम्मक न’र ? तिँहीँ छ त उत्राे अठार तल्ले भिमटाओर बिल्डिङ , ताे देख्नु पर्थाे कि नाइँ हँ ?… कुराे गर्छाै बाेकाेले पाठाे ब्यायाे भनेर भन्ने कथ्था-कुथुङरी जैसाे !…ताे चइँ ‘सम्बिर्द नेपाल’-काे नम्ना-एजाम्पुल नभ’र के हाे त ?… तपइँका बाजेकाे खप्पर ?…… ए… तीन कडाेर जनसङ्खे जम्मैलाई एक्कैखेप सुख्खी, ‘लाङराङ-लुङरुङ नाे नट् एल्लाउ’ खाले हँस्सिला-पाेटिला बनाउन त बिस्नु भग्बानले पनि सक्तैनथे ?…मलाई साेद न भग्बानका ट्यामकाे धर्म-सँसृतिका कुरा साश्रमा के लेख्या छ भन्-र । …हन म एस एरिआकाे छेत्रमा पुरेतजी-पँडितजी भन्-र सप्पैले ढाेग्ने र सक्नेहरले सँद्दै अउँसी-पुर्नेमा दच्छिना दिने ‘सिरी हरिराम गुरु’ हाेइन्त ?… ‘सुख्खी नेप्पाली’ त माथि सिम्हदर्बारका ठूलाठालाबड पालै-पालाे हुँदै तल हामेरका घराँगनमा आउने जिनिस पाे हाे त ।… उ… उतिखेरदेखुन् पर्चन्न-देउपाहर्काे पालाे आउँदै हामेरका ‘बा’-पछि अैलेसम्मनमा बल्लतल्ल त बाल्यान सा,…ती रभि लाम्छ्याने, गग्गन थापा, ग्यानबादुर साईहर्काे पालाे आइरछ ।…अब बिस्तारै हर्ख साम्पाङ, किस्न सिटउला, हामेरकै मुसीकी मम्मीहेरु र रामदुलारीहर्काे पालाे आइहाल्छ नि माथि-माथिकालाई टन्नतम् ‘सुख्ख’ पुगेसि ! ‘सुख्खी नेप्पाली : सम्बिर्द नेप्पाल’ भन्ने जिनिस उभ्भाेक गर्ण हतार्रिएर हुन्छ ?…दम्मककाे साे-उक्त टाओरभन्दा लङ्कै अल्गाे काटमाडुँकाे झन्नै अक्काश छुने धर्रा पनि टेल्भिजिनका फेसुकहर्मा देख्या छैनउ तपइँले ?…पाेचाेकाे पनि हजुरबाऊ नै पाे रछउ त हँ – अैलेका मेडियाहेरू जैसै… कस्साे अरे ? मेराे भूत्पूर्बक पाटीका ‘मउसुप बा’-ले तीत्तीन खेप पर्दानमन्त्रीकाे मुकुट ला’र पनि केइ गरेनन् अरे ?…हन ‘बा’ मउसुपले एस्ता-एस्ता ‘सुख्खी नेप्पाली : सम्बिर्द नेप्पाल’ झल्झली पारिदिँदा पनि र सप्पैतिर लाखम्-कडाेरउँ बिकासै बिकासकाे सिल्यान्यासकाे न्यूच बर्खाैदेखुन् छत्ताछुल्ल बाेडकास भइराख्या कानभरि सुन्दा पनि तपइँले काैनै सपाेटकाे पर्तिकिरिया नदिने र गन्धे मुख ला’र चाइनेकेरे म जैसाे पइत्र भाओना बाेकेकाे पँडित-पुरेत वेक्तित्ताेलाई उल्टै नेघेटिप गाली जैसाे ….धतत्तेरी, के कुरा गर्नु हउ एस्ता पच्छेपातीसित ? ….लु भइहालाे म आफ्फैले आफ्फैलाई ‘बाई’ भनें !… लु खा त !!”….
पाँडेले चड्कन लाउन हातमा धार लाउने साेच्तै र उसका गाला हेर्दै मात्र थ्याे, के बुझेर हाे काेनि, हरिराम उठेर धर्खराउँदै र गन्गनाउँदै हिंडी पाे गयाे ! र, ऊ गएतिर हेर्दै पाँडेले आफैलाई भन्याे -“देखिस् त पाँडे, यस्ता-यस्ताका यस्ता सिँगाैरीकाे दग्धी देशका सबै कित्ता-कान्लामा चलिरहेका हाेलान् र अठार वर्षे संघीय गणतन्त्र धुरुधुरु राेएर बाँचिरहेकाे हाेला नि ? ‘बाेल्याे कि पाेल्याे’-काे वातावरण अझै ज्यूँका त्यूँ छँदैछ र अझै हामीले कति निसासिनु पर्ने हाे काेनि !!”…..