गोपाल झापाली, काठमाडौं
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार बिहानै देखि भृकुटीमण्डप क्षेत्र एमालेमय बन्यो । पुष महिना शुरु भई सकेकाले काठमाडौको मौषम निक्कै चिसो हुन थालेको छ । तर एमालेले विशिष्ट राजनीतिक अवस्थामा नयाँ नेतृत्व चयन गर्ने गरि शुरु गरेको महाधिवेशनले भने एमाले पङ्तीलाई तताएको देखियो ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन भई भृकुटीभण्डपमा शुरु भएको महाधिवेशनको बन्द शत्रले नयाँ नेतृत्व चयनका लागि मुख्य दिन भएमाले बिहानै देखि उम्मेद्वार तथा समर्थकहरुको भिडभाड रहयो । विभिन्न झाँकी, र्याली, नाचगान सहित कार्यकर्ताहरु आफुले चाहेको नेतालाई निर्वाचित गराउन भोट माग्न व्यस्त देखिन्थे । एमालेका नेता कार्यकर्ताहरु मात्रै होईन कतिपय सेलीब्रेटी तथा कलाकारहरु समेत नाचगान सहित भोट माग्न सहभागी थिए ।
महाधिवेशन स्थल एमालेजनका लागि राजनीतिक नेतृत्व चयन गर्ने उत्सव बने पनि यो कतिपयका लागि आम्दानी गर्ने थलो पनि बन्यो । बन्दशत्र शुरु भए देखिनै एमालेका चुनाव चिन्ह अंकित टोपी, मफलर, ज्याकेट बिक्रि गर्नेहरुले पनि मौका छोपे । यस्तै वामपन्थी चिन्तन समेटिएका विभिन्न पुस्तक, नेताहरुका फोटाहरुको कारोवार पनि राम्रो भयो । बदाम, सुन्तलाका भारी बोकेर आउनेहरुले पनि राम्रै आम्दानी गरे । कतिपय जिल्लाबाट त अर्गानिक उत्पादनका विभिन्न स्टल समेत राखिएका थिए । भट्मास, दाल, मह, मसला, अचार, अल्लोका कपडा लगायतका सामाग्रीको पनि बन्दशत्र स्थलमा राम्रै व्यापार भएको देखिन्थ्यो ।
हुन त एमालेका धेरै नेता कार्यकर्ताको चाहना सर्वसम्मत् नेतृत्व चयन होस् भन्ने थियो । तर त्यो हुन सकेन । मुख्य दुई प्यानल र केहि प्यानल बाहिर समेत रहेको जनाउँदै चुनावी मैदानमा उत्रिए । त्यसैले चुनावी प्रतिष्पर्धा कडा हुने अनुमान सहित उम्मेद्वारहरु चुनावी मैदानमा भेटिए । प्रतिष्पर्धाको अनुमानकै कारण केन्द्रिय कमिटीमा पटक पटकको अनुभव भई सकेका र राजकीय जिम्मेवारी समेत सम्हालि सकेका नेताहरु पनि ढुक्क देखिएनन् । पर्चा, पम्प्लेट, पोष्टर सहित मात्रै होईन कयौ उम्मेद्वार बाजागाजा सहित मतदाताको ध्यान आकर्षित पार्ने प्रयासमा देखिए ।
एमालेको चुनावी मैदानमा दिन भरि सुदुरपश्चिमको देउडा देखि हिमाली क्षेत्रको सेलो, पूर्वी नेपालको साकेला र च्याव्रुङ पनि गुञ्जियो भृकुटीमण्डपमा । आफुले चाहेको उम्मेद्वारलाई निर्वाचित गराउन विभिन्न जातीय बाजागाजा र पोशाक सहित समर्थकहरुका जुलुस पुतलीसडक देखि बागबजार सम्म ओहोर दोहोर गरि रहे ।
देशै भरिएका एमाले नेता कार्यकर्ता मात्रै होईन, राजनीतिमा चासो राख्नेहरु सवैको ध्यान तानेको भृकुटीमण्डपले कस्तो नेतृत्व चयन गर्ला भन्नेमा धेरैको चासो देखिन्छ । आम निर्वाचनको झल्को दिने गरि भएको एमाले महाधिवेशनले एमालेलाई मात्रै होईन, अन्य राजनीतिक दलहरुलाई पनि राजनीतिक गतिविधिलाई तिव्रता दिन वातावरण बनाएको पनि एमालेजनको दावि छ ।
११ जना निर्विरोध
नेकपा (एमाले)को जारी ११ औं राष्ट्रिय महाधिवेशअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् । पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएका हुन । यो समाचार तयार पर्दासम्म निर्विरोध चयन हुनेहरुमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल, मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।