मुख्य राजनीति

कार्यकर्तालाई निराश नहुन सिटौलाको निर्देशन

विर्तामोड, २१ असोज –
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् ।
कांग्रेस झापा जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निरास नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।
संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले उदाहरण दिदै भने -‘संविधान बनेको तीन बर्षभित्र आउनुपर्ने शिक्षा ऐन अहिलेसम्म आएको छैन, पालिकापिच्छे फरक-फरक नियम छ, गुणस्तरीय शिक्षा दिने सवालमै समस्या छ ।’ कानून नबन्दा प्रदेश सरकारहरु विकासे एजेन्सीजस्तो भएको उनको भनाई थियो । संविधान कार्यान्वयन गर्ने मूल कानून नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग नभएको बताउँदै सिटौलाले कानून नहुँदा संविधान नै निरर्थक देखिन थालेको टिप्पणी गरे ।
नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा ७ वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आयआर्जन बृद्धि गर्ने खालका विकासे योजना ल्याउन उनले सरकारलाई सुझाव दिए ।
वडा तहमा गएर जनताका समस्या बुझ्दै समाधानका लागि काम गर्न आह्वान गर्दै नेता सिटौलाले गरिव, किसान, मजदुरको पक्षमा काम गर्दै नमूना वडा तथा पालिका बनाउन पार्टीबाट वडा एवं पालिका तहमा निर्वाचित जनप्रतिनिधिलाई आह्वान समेत गरे ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समाजको अभिभावक पार्टी भएको बताउँदै कांग्रेसकै काँधमा बढी जिम्मेवारी भएको बताए । हारको मानसिकताले निराश र जितको मानसिकताले बढी उत्साहित नभई संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै नेता शर्माले सामाजिक एकतालाइ कायम राख्ने गरी कांग्रेसले नीतिगत निणर्य गर्न जरुरी रहेको बताए ।
राजनीतिक दलहरु समय अनुकुल परिस्कृत भएर आउने तर कहिल्यै बुढो नहुने बताउँदै नेता शर्माले कांग्रेसले सँधै समाजलाई केन्द्रमा राखेर निणर्य गरेको दावी गरे । २०८४ को निर्वाचन एउटा स्वभाविक प्रक्रिया हुने बताउँदै नेता शर्माले संगठन बनाउन एकढिक्का भएर लाग्न आह्वान गरे ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु नैनसिंह महर, सुशिला ढकाल आचार्य, गोमा भट्टराई लगायतले बोलेका थिए ।

Author

You may also like