दमक/ झापाको दमक नगरपालिका वडा नं. ४ कृष्णमन्दिर दक्षिण अर्नाखाडीमा दमक बहुप्राविधिक शिक्षालयको १६ कोठाको तीन तले भवन निर्माण गर्न थालिएको छ । सो भवनको शुक्रबार एक कार्यक्रमका बिच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक विधि विधानअनुसार पूजा गरी शिलान्याश गरेका हुन् । शिलान्यास गरिएको सो शिक्षालयको भवन ४ करोड ६४ लाख रुपैयाँमा ठेक्का लागेको र जतिसक्दो चाँडो निर्माण कार्य सक्ने योजना रहेको शिक्षालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी गराए । सो शिक्षालय हाल दमक–२ को बेलडाँगीमा संचालन हुँदै आएको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि बेलडाँगीबाट अर्नाखाडीमा स्थानान्तरण गरिने बताइएको छ । भवन निर्माणका लागि दमक नगरपालिकाले अर्नाखाडीको ३ विगाह १० कठ्ठा जग्गा उपलब्ध गराएको र १० कठ्ठा थप नम्बरी जग्गा स्थानीय १३ जना दाताहरुले दान गरेका हुन् । कार्यक्रममा सबै जग्गादाताहरुलाई अविर टिका, माला लगाई सम्मान पत्रले सम्मान गरियो । शिक्षालयमा हाल तीन वर्षे ईन्जिनियरिङका सिभिल डिप्लोमाको पढाई भइरहेको छ भने आगामी साउनदेखि मेकानिकल, अटोमोबाइल र रेफ्रिजरेशन ईन्जिनियरिङको अध्ययन अध्यापन गराउने गरी स्वीकृति समेत प्राप्त भइसकेको छ । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) को आंगिक क्याम्पसका रुपमा रहेको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले शिक्षालयको स्थापना र संचालनले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । उनले अब जीवन र जीविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पु¥याउँदै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने परिपाटी अब अन्त्य गर्न आवश्यक भएको औंल्याए । प्रमाण पत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने उल्लेख गदै ओलीले भने, –‘अब हाम्रो शिक्षा व्यवहारिक मात्र नभएर विदेशसम्म प्रमाणपत्र बिक्ने हैसियतको हुनुपर्छ , त्यसले मात्र उच्च शिक्षा अध्ययनका लागि विदेश जाने परिपाटी हट्ने छ ’ यहाँका सबै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफू जानकार रहेको चर्चा गदैं यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रहेका ओलीले शिक्षालय भवनसम्म आउने सडक चाँडै कालोपत्रे हुने बताए ।
कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाले केही योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताए । उनले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गरे । कार्यक्रममा सिटिईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले कार्यक्रमको अध्यक्षता गरेको हैसियतमा समापन र सदस्य सचिव जीवनारायण काफ्लेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रदेश नं. १ का सांसदहरु होमबहादुर थापा र नम्वरलाल धिमाल, दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाई लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन शिक्षालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले गरेका थिए ।