दमक । पूर्वको सीमावर्ती क्षेत्र काँकडभिट्टाबाट पछिल्लो १ वर्षको अवधिमा २ करोड रुपैयाँ बढीको अवैध सामग्री बरामद भएको छ ।
चोरीपैठारी नियन्त्रणका लागि खटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाको अगुवाईको सुरक्षाकर्मीको टोलीले प्रहरीले एक वर्षे अवधिमा २ करोड बढी मूल्य बराबरका अवैध सामान पक्राउ गरी आवश्यक कार्बाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएको छ । त्यसक्रममा प्रहरीले सुपारी, मोवाइल फोन, किराना सामान, पशुचौपाया, लत्ताकपडा, झोला, सूर्तिजन्य पदार्थ, खाद्य पदार्थ, कस्मेटिक सामानलगायत नियन्त्रणमा लिएको हो । सो अवधिमा २ करोड २ लाख १७ हजार ९ सय १३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीले जनाए ।
आफुले २०७९ माघ २६ गते कार्यालयको नेतृत्व सम्हालेयता हालसम्म भन्सार छलेर भित्र्याइएका सो मूल्य बराबरका सामान भन्सार बुझाउन सफल भएको बताए । खुला सीमानाको फाइदा उठाउँदै स्थानीयले तस्करी गर्दै आएको अवस्थामा नियन्त्रणमा चुनौति रहेको समेत उनले उल्लेख गरे । उनले राजस्व नतिरी सामान ल्याएका ३ वटा गाडीसहित त्यसमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर भन्सारको जिम्मा लगाएको जनाए । जाँचका क्रममा नियन्त्रणमा लिइ भन्सार दाखिला भएका साधनहरुमा एउटा ट्रक, एउटा कार र एउटा टाटा पिकअप छन् ।
काँकडभिट्टा प्रहरीले सीमावर्ती पूर्वी नाकासहित विभिन्न स्थानमा भारतबाट ल्याइने सामानको जाँचमा कडाई गर्दै आएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाकासहित अन्य स्थानमा बर्दी र सादा पोशाकमा परिचालित प्रहरीले अवैध सामानमाथि सुक्ष्म निगरानी गर्दै आएको प्रहरीको दावी छ । अवैध सामान भित्रिन नदिन निगरानी बढाइएको प्रहरीले दाबी गर्दै आए पनि भारतमा उत्पादन भएका तर, नेपालमा प्रतिबन्धित सामान नेपाली बजारहरुमा छ्याप्छ्याप्ति पाइनेक्रम रोकिएको चाँही छैन । राजस्व असुलीमा भन्सार कार्यालयले लिएको लक्ष्य हासिल गर्न मुस्किल समेत पर्ने गरेको छ ।