मुख्य राजनीति

कोशी प्रदेशमा नयाँ खेल सुरु

विराटनगर, २१ असोज-
विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने अवस्था रहेपछि शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई राजिनामा दिएपछि नयाँ खेल सुरु भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजिनामापत्र बुझाएका हुन् । त्यसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै ६ दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । मुख्यमन्त्री कार्कीको राजिनामा लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बाले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य (४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपासमेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा भने ती दलहरु अहिलेसम्म अनिणर्ीत छन् ।
मुख्यमन्त्रीबाट राजिनामा दिने क्रममा सहमतिको आव्हान गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्कीले अरू दलहरु मिलेको अवस्थामा आफ्नो दल बाँकी अवधि प्रतिपक्षमा बस्न तयार रहेको बताएका थिए ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको कांग्रेसका थापाले बताएका छन् । ‘अहिले दलको नेता म हुँ, यो दलिय सिस्टम रहेकोले मुख्यमन्त्रीमा दावी छ’ उनले भने,‘तर, मुख्यमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा गठबन्धन दलका शीर्ष नेताले गर्ने निणर्य स्वीकार्य हुन्छ ।’ थापाले यसअघि उपधारा २ अनुसार २ पटक मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका थिए ।
अदालतबाट थापाको बर्खास्तीपछि अदालतकै परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएपछि अब उपधारा ५ अनुसार सरकार गठनको बाटो खुलेको छ । सो उपधारमा प्रदेशसभाको कुनैपनि सदस्यले बहुमत देखाएर मुख्यमन्त्री दावी गर्न पाउँने उनको जिकिर छ ।
नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोको तर्क छ ।


प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएकाले अव माओवादीले सो पद दावी गर्ने उनले जिकिर गरे ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिबारसम्म प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने थियो । तर, प्रदेशसभामा एमालेका ३९ बाहेक अन्य दलको मत प्राप्त नहुने अवस्था देखिएपछि कार्कीले विश्वासको मत लिने प्रस्तावलाई प्रक्रियामा नलगी राजिनामा दिने निणर्य गरेका हुन् । विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि उनले राजिनामा दिने निश्कर्ष निकालेको बुझिएको छ । ३० दिनमै उनी पदमुक्त भए भने उनले नियुक्त गरेका चार मन्त्री १२ दिनमै पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्र्थापनाको फैसला गर्दा उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त नगरेको वा निजले सो प्रकृया परित्याग गरेको अवस्थामा उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति हुने दावी पेश गर्न नमिल्ने फैसला गरेकोले राजीनामा दिँदा मुख्यमन्त्री दावी गर्न सकिने देखेर कार्कीले राजिनामा दिएको बताइन्छ ।
राजिनामा पत्रमा भने कार्कीले प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजिनामा दिएको उल्लेख गरेका छन् । कार्की सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ९२० बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’

You may also like