मोरङ, ७ असोज-
जिल्लाको डाँगीहाट फुटबल क्लबको आयोजना हुदै आएको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको छैठौ संस्करण यही असोज २८ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने भएको छ ।
बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा सो प्रतियोगिता सञ्चालनको तयारी भइरहेको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताए ।
जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले ८ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले ५ लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जनाए । उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि ६२ लाख ९० हजार खर्च हुने स्टिमेट रहेको छ ।
प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौ, विग्रेड ब्वाइज क्लब काठमाडौ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने छन् ।
प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ । बेलबारी गोल्डकपमा गत वर्ष एपीएफ काठमाडाँै विजेता तथा रारा फुटबल क्लब उपविजेता बनेको थियो ।
