उर्लाबारी, २४ वैशाख । सहकारी अभियानमा मोरङको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मुलुककै उत्कृष्ठ बनेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्तर्गत उर्लाबारीमा शनिबार मोरङका सहकारी संस्थाहरुका अध्यक्ष र सचिवहरुबीच गरेको गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सो कुरा जानकारी गराएका हुन् । पुरस्कारको कार्यक्रम भने केही पछि हुने बताए । २० औं अध्यक्ष सचिव गोष्ठी उर्लाबारी उर्लाबारी ४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न भएको हो । बरिष्ठ उपाध्यक्ष कोशी प्रदेशमा छवटा सहकारी संस्था संकटमा रहेता पनि मोरङमा भने सहकारीहरु राम्ररी सञ्चालन भइरहेको बताए ।
मुलुकमा ३२ हजार सहकारी र १४ लाख सहकारीका सदस्यहरू रहेको बताउँदै उनले संस्थालाई दिगो रुपमा चलाउन आग्रह गरेका छन् । बचत तथा ऋण सहकारी संस्थाको ७७ वटै जल्लामा सञ्जाल भएको बताउँदै प्रमुख अतिथि पोखरेलले संकट मोचनका लागि सहकारी अभियान सुरु भएको जानकारी गराएका छन् । सहकारी संस्थाले अर्थतन्त्र दर्बिलो बनाएको, समाज रूपान्तरणमा सहयोग पु¥याएको, सांस्कृतिक जागरण ल्याउन सफल भएको बताउँदै उनले अर्थनीतिलाई टेवा पुर्याएको बताएका छन् । सहकारीलाई आधार बनाएर नेपाल सरकारले तीन खम्बे अर्थनीतिलाई अगाडि सारेपछि इरानले पनि अनुशरण गरेर अन्य देशका लागि पनि नेपाल उदाहरणीय बनेको उनले बताएका छन् ।
सहकारी संस्थाहरूमा महिलाहरूको ५६% सहभागिता रहेको बताउँदै उनले सञ्चालकहरू सक्रिय ढंगले लागिपर्न आग्रह गरेका छन् । सहकारी संस्थामा आपराधिक मानिस प्रवेश भएका कारण समस्या आएको बताउँदै उनले ९५ करोड एकै जनाले पेश्की लिएको, ९९ करोड ऋण लिएको जस्ता उदाहरणहरु दिँदै यस्ता कामबाट बच्न सबैलाई आग्रह गरे । उनले आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा दिएर सक्षम बनाउन आग्रह गर्दै सहकारीका सदस्यहरूको भावना अनुसार सञ्चालकहरूले काम गर्नुपर्ने बताए । उनले सहकारीका सदस्यहरू बाहेक अरु कसैसँग आर्थिक कारोबार नगर्न अनुरोध पनि गरे ।
त्यसैगरी, सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन विषयमा संघका सचिव जीवन बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारीहरु सुशासनमा सञ्चालन नहुँदा थोरै सहकारी बिग्रँदा समग्र सहकारी अभियानको विश्वसनियता माथि प्रश्नचिन्ह उठ्ने गरेको बताउँदै सुशासन र सदस्य केन्द्रीयताले नै सहकारी संस्थाको दीगोपना कायम हुने जनाए । उनले संस्थाहरुको वासलात बृद्धि मात्रैलाई सफलताको सूचकमा नलिई सदस्यकोे जीवनस्तर परिवर्तनमा संस्थाले गरेका कार्यहरु, सदस्य सहभागिता, विस्तारित मञ्च, निरन्तर सदस्य शिक्षा र सुशासनका अभ्यासहरुको पालना मापनलाई सफलताको सूचकमा समावेश गर्नु आवश्यक भएको औंल्याए ।
संघले २०६० सालदेखि हरेक वर्ष सहकारी सम्बन्धि विविध विषयका गोष्ठीहरु सञ्चालन गरी आफ्ना सदस्य संस्थाहरुको प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको उनले बताए ।
त्यसैगरी जोखिममा आधारित अनुगमन र जोखिम अवस्था विश्लेषण विषयमा कोशी प्रदेश सहकारी विभागका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गरेका छन् । उनले जोखिम र अनिश्चितता, जोखिम र अनिश्चितता बीचको फरक, वित्तीय सहकारीका जोखिम, सहकारी संस्थामा जोखिमका मुख्य प्रकार, तरलता जोखिम, सूचना प्रविधिमा जोखिम, वित्तीय सहकारीका जोखिम व्यवस्थापनको सिद्धान्त, जोखिम व्यवस्थापनका अन्य पक्षहरू, रचना दृष्टिकोण ,रचना प्रक्रिया ,जोखिमका संकेत, जोखिम अवस्थाको परिणाम, अनुगमन, पुँजी पर्याप्तता, जोखिम व्यवस्थापनका सामान्य सिद्धान्त, सहकारी जोखिम व्यवस्थापनको आन्तरिक संरचना, जोखिमको संकटबाट सुरक्षा गर्ने प्रावधान, शीघ्र सुधार र कारबाहीको सूचीकरण, समग्र जिल्लाको अवस्थाका बारेमा जानकारी गराए ।
आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिव गरी करिब तीन सय जनाको सहभागिता रहेको संघले जनाएको छ । सो अवसरमा सहकारीका पूर्व केन्द्रीय महासचिव तथा मोरङ १ का पूर्व सांसद घनश्याम खतिवडा र संघका झापा अध्यक्ष तुलाराम न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा संघका जिल्ला अध्यक्ष प्रेम प्रकाश कोइरालाले कार्यक्रमको संक्षिप्त जानकारी गराएका थिए । त्यसैगरी बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले संघको परिचय दिएका थिए ।