अर्थ देश–समाज स्थानीय

चुनाव लक्षित पेट्रोलियम पदार्थको जोहो

दमक/ आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि पेट्रोलियम पदार्थको व्यवस्थापन शुरु भएको छ । साविक मेची अञ्चलका पेट्रोल पम्पहरुले पनि यसको तयारी थालेका छन् । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अनुसार चुनावका बेला अभाव हुन नदिने गरि नेपाल आयल निगमसँग समन्वय भईरहेको छ ।
चुनाव लक्षित गर्दै नेपाल आयल निगमले पेट्रोल, डिजेलसहितका पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा विशेष तयारी थालेको हो । सरकारी अधिकारीहरुका अनुसार निर्वाचनको समय नजिकिँदै जाँदा करिब १० दिनभित्र इन्धनको खपत औसतभन्दा २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
नेपाल आयल निगमका अनुसार चाडपर्वको समयमा जस्तै निर्वाचन अवधिमा पनि सवारी आवागमन, प्रचार–प्रसार तथा प्रशासनिक गतिविधि बढ्ने भएकाले इन्धन खपत ह्वात्तै बढ्ने गर्दछ । यही अवस्थालाई ध्यानमा राख्दै निगमले देशभरका डिपोहरुलाई पर्याप्त इन्धन भण्डारण गर्न निर्देशन दिने तयारी गरेको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निर्वाचन अवधिमा बजारमा इन्धनको अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । उनका अनुसार निर्वाचनको आसपासमा केही दिन सीमावर्ती नाकाहरु बन्द हुन सक्ने भएकाले त्यसअनुसार भण्डारण र आपूर्ति व्यवस्थापन गरिनेछ । निगमका अनुसार हाल दैनिक औसत पेट्रोलको खपत करिब २०–२५ लाख लिटर र डिजेलको खपत ३८–४० लाख लिटर रहेको छ । निर्वाचनको १० दिनअघि मात्रै इन्धन खपतमा २०–२५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सोही आधारमा इन्धनको स्टक व्यवस्थापन गरिने निगमले जनाएको छ । चुनावका बेला सीमा नाकाहरु आंशिक रुपमा बन्द हुन सक्ने भएकाले आयल निगम यसअघि नै सचेत रहेको भट्टले बताए । उनका अनुसार निगमसँग रहेका करिब १७–१८ सय ट्याङकरलाई पूर्ण रुपमा परिचालन गरी ट्याङकरमै समेत इन्धन स्टक राखिनेछ ।
नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्तिको जिम्मेवारी नेपाल आयल निगमले लिँदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेल, हवाई इन्धन तथा ग्यास आयात गर्दै आएको छ । हाल उपभोक्ताले मोबाइलमार्फत भुक्तानी गरेर समेत इन्धन खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
पूर्वमा यस्तो छ तयारी
मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अनुसार साविक मेची अञ्चलका ४ जिल्ला ताप्लेजुङ्, पाँचथर, ईलाम र झापामा ६७ ओटा डिलर छन् । यि डिलर मार्फत सामान्यतया दैनिक २ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । एशोसिएसनका अध्यक्ष टीकाराम पिठाकोटेका अनुसार चुनावका बेला केहि परिमाण निश्चयनै बढि खपत हुन सक्छ । तर त्यस बेला अभाव हुन नदिन नेपाल आयल निगमसँग समन्वय भईरहेको छ । उनले भने, ‘हामीले निगमसँग कुरा गरिरहेका छौं, बरु बिदाको दिनमा भएपनि आउने व्यवस्था मिलाउन हामीले भनेका छौं । अभाव हुन नदिने गरि काम भई रहेको छ ।’
पूर्वका डिलरहरुले भारतको सिलगुडीबाट आईओसी मार्फत पेट्रोलियम पदार्थ ल्याउने गरेका छन् । सडक अवरोधन नभएको वा कुनै विषम परिस्थिति सिर्जना भएको अवस्था बाहेक पहाडी जिल्लाहरुमा समेत अभाव हुन नदिने पिठाकोटेले बताएका छन् ।

Author

You may also like