– ‘जयत्सेन पाण्डव’ –
@ अन्य विशेषताका अतिरिक्त झापाले देशकै अग्रणी बाैद्धिक र सचेत राजनीतिक जिल्लाकाे गाैरव बाेकेकाे थियाे । र , त्यसकाे अगुवाइकाे श्रेय यस जिल्लाकाे यही सदरमुकाम शहर भद्रपुरले पाउने गरेकाे थियाे । यहाँका शैक्षिक, सामाजिक, स्वास्थ्य संस्थाहरू जिल्लाकै जेठा पनि हुन् । तर, अहिले भद्रपुरकाे सदर बजार र आसपास क्षेत्र हेर्दा बैराग लाग्छ । बाैद्धिक साख त सखापै छ !… अझ याे बजारकाे अवस्था-व्यवस्था त झन कस्ताे भएकाे छ भने मानाे भद्पुरमा कहिल्यै पाइला नहालेकाे मान्छे पहिलाेपल्ट इण्डिया-बिहारकाे गलगलियातिरबाट भद्रपुरकाे दुई नम्बर मार्केट छिचाेलिरहँदा समेत आफू बिहारमै छु भन्ठान्दाे हाे । जनसंख्याकाे यस्ताे उपद्रै अतिक्रमण भइरहेकाे मात्र हाेइन संस्कारगत संस्कृति नै धमाधम बिटुल्लिरहेकाे देख्ता ‘जात नेपाली नश्ल’-लाई कस्ताे लाग्दै हाेला नि ? कठैबरा !
@ भद्रपुरमा चाहिँ ‘गाउँ-गाउँमा सिंहदरवार’-भन्ने नारा अनुसार व्यवहार कहिल्यै प्रयाेगमा आएन ! यहाँ त संविधान-निर्देशित ‘संघीय गणतन्त्रकाे स्थानीय सरकार’ कतै-कतै मात्र अस्तित्वमा छ ! यहाँकाे ‘स्थानीय सरकार’ भनेर पाहिलाे पाइलाेमा चिनिनुपर्ने कतिपय ‘निर्वाचितहरू’ कता छन् ? -भनेर समस्या परेकाहरू एकापसमा साेधासाेध गरी मन भर्ने गर्दैछन् । यस नगर क्षेत्रस्थित जेठाे र ठूलाे सरकारी अस्पताल आइजाइ हुने बाटाे दूर-देहातका गाेठाले बाटाहरूभन्दा पनि गए-गुज्रेकाे अवस्थामा हुनु नै नगर सरकारका सम्बन्धित क्षेत्रीय जिम्मेवारहरूकाे असली ‘कार्य-परिचायक’ नमूना हाेइन र ?
@ जिल्लाका सबै सरकारी कार्यालयहरू भद्रपुर नगरकै साविक चन्द्रगढीमा रहेका छन् । भदाै २४ गते यता बीचका चाडपर्वहरूपछि जिल्लावासी सर्वसाधारणकाे अधिक सम्पर्क हुने कार्यालयहरूमा घुसखाेरी र दलालहरूकाे चलखेल अत्यधिक बढेकाे पीडितहरूका गुनासाहरू घुइँघुइँती छ । अनेकका ‘नयाँ’ कमिशनखाेरहरूले अबाेध नागरिकलाई तर्छाएर झारझाेर गर्न थालेकाे पनि सुन्नमा आइरहेका छन् । वास्तविकता के हाे ? भनेर साेध्ने र है-खै गर्ने निकाय कुन हाे ? कार्यालय बाहिर भइरहेका यस्ता जनघाती गतिविधि कार्यालयभित्रका सरकारी कानहरूले सुन्दैननन् ? केले छेक्तैछ त ? आदि बक्र प्रश्नहरू पनि सुधारापेक्षुहरूले गर्ने गरेका छन् है, अप्ठ्याराे नपराेस् !
@ भद्पुर वार्ड नं. ८ काे गणेष मन्दिरभन्दा केही कदम पश्चिम- दक्षिण सडकमै रहेकाे एउटा खाली थाेत्राे-पत्रु भइसकेकाे घर निकै समयदेखि लागु पदार्थका दुर्व्यसनीहरूकाे स्वतन्त्र अखडा बनेकाे थियाे । यहाँ लागु पदार्थ उपभाेक्ताकाे, लगभग दैनिक जमघट हुने मात्र हाेइन, वार्ड नं. ५ काे मेची किनार बस्तीका बाटाहरू प्रयाेग गरी इण्डियाबाट छिराइएका लागु पदार्थकाे थाेक तथा खुद्रा काराेबार पनि हुने गरेकाे बताइन्छ ! जेन-जेड आन्दाेलनपछि निर्मीत सामाजिक परिवेशमा झन उभार चुलिएकाे अवस्था त खपिसक्नै थिएन । छेउछाउका भद्रभलाद्मी-बुद्धिजीवीहरूले नियन्त्रक ‘सरकारी’-हरूलाई झ्याउँझ्याउँती जानकारी गराए पनि कसैकाे कानमा बतास लागेकाे थिएन । हाल काठमाडाैं निवासी साे घरका मालिक (बालकृष्ण चाैधरी : मेची क्याम्पस-भद्रपुरका पूर्व प्रमुख !)-काे पहलमा ‘सुधार’-काे पहल हुँदैछ ‘अरे-अरे’ भन्ने सुनिँदैछ । अब उसाे के हुने हाे काेनि !
@ गणतन्त्रकाे संविधानले दिएकाे अन्य सयाैं ‘स्थानीय सरकार’ जस्तै याे ‘भद्रपुर सरकार’ पनि एक हाे, मात्र हाेइन, झापा जस्ताे पूर्वी नेपालकाे एक विशिष्ट जिल्लाकाे सदरमुकाम रहेकाे नगर सरकार पनि हाे । यसै भएकाले हाेला यस सरकारका कुनै-कुनै क्षेत्रीय एकाइ (वार्ड)-मा जनताका पवित्र विश्वासले निर्वाचित प्रमुख (वार्ड अध्यक्ष) वार्डवासीका कतिपय उम्दा समस्याका प्रतिकाे जिम्मेवारीबाट बिल्कुल बिमुख छन् । वार्डका कतिपय उपेक्षित टाेलका वसाेवासीले नै उनकाे नाक-मुख देख्नसम्म नपाएकाे धेरै भइसक्याे भन्छन् । तपाईंहरूकातिर पनि यस्ताे वार्ड-टाेल छ ? भए एक्लाे भइएन भनेर सन्ताेक गर्न पाइने भाे भन्ने अभिप्राय मात्र है ।
@ यस्ता झाँकी भेटेसम्म पछार्दै जाउँला नि !….
+++++