देश–समाज मुख्य विविध स्थानीय

दमकमा छठका लागि ३ सय वटा पूजास्थल निर्माण

दमक, २ मंसिर

आम नेपालीहरुको साझा पर्वका रुपमा विकास हुँदै गएको छठ पर्वका लागि दमकमा यस बर्ष ३ सयवटा पूजास्थल (घाट) निर्माण गरिएको छ ।
मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठ पर्वमा गत बर्ष २ सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण भएको थियो । हिन्दुको अलावा प्रत्येक बर्ष अन्य समुदायका व्यक्तिहरुको रुचि र सहभागिता बढ्दै गरेका कारण यो बर्ष ‘नेपालीहरुको चाड’का रुपमा लिएर घाट संख्या पनि बढाइएको छ । ‘अव यो पर्व सवै नेपालीको बनिसकेको बुझियो र त्यही अनुसार घाटको संख्या बढाएर उल्लासपूणर् रुपमा मनाउने तयारी भइरहेको छ । ’- मैथिली सेवा समिति दमकका अध्यक्ष कृष्ण साहले भने ।
दमक ७ स्थित रतुवा नदीको घाटमा एकैठाउँ छैठ पूजाका लागि पण्डाल सहितको घाट निर्माण शुक्रबार अन्तिम चरणमा पुगेको जनाए । उनले आर्थिक विपन्न र असहायका लागि २५ वटा घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाएको सुनाए । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोहि बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्य हाम्रो हो ।’- साहले प्रष्ट्याए ।
छठस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको ३ वटा सुरक्षा विट खडा गरिएको छ । यो बर्ष पहिलो पटक ६ ठाउँमा फोहोर व्यवस्थापनस्थल र १२ वटा शौचालय निर्माण गरिएको छ । मैथिली सेवा समितिले संस्थागत रुपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजाको यसखाले कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
बिहीबारबाट छठ ब्रतको शिलशिला अघि बढेको छ । बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा-अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
मंसिर ४ गते उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने छठका क्रममा कात्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा-मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।
व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा-अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथीकै दिन ‘नहाय-खाय’ विधिसँगै जोडेर गर्ने गरेका पनि पाइन्छ । व्रत विधानल ेभनें कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा-अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का बासिन्दा पण्डित महेशकुमार झा बताउँछन् । बिहिबारदेखि ‘अरबा-अर्बाइन’ गरेका वर्तालुले आज शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् ।
पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ ।
-केराको मूल्य दोब्बर बढ्यो-
छठपूजामा केराको माग अत्याधिक हुने भएकाले झापामा छठपर्वमा केराको मूल्य दोब्बर बढेको छ ।
अन्य दिन ३ देखि ५ सय रुपैयाँप्रतिघरी विक्री हुने केरा छठको समयमा ८ सयदेखि १ हजार रुपैयाँसम्ममा विक्री भएको पाइएको छ ।
यो पर्वमाा सक्नेले केराका घरी घरी नै नसक्नेले केराको काईयो चढाउने गरेका छन् । छठपर्वमा केरा नभई नहुने भएकाले बजारमा यसको माग बढेपछि व्यपारीले मूल्य बढाएका हुन् सक्ने अनुमान छ । दमकका छठ पर्व मान्नेहरुले पनि दोब्बर बढी मूल्य तिरेर केरा किन्न बाध्य भएका छन् । ‘हामीले के भन्ने र ? यसमा सम्बन्धित निकायले मूल्य नियन्त्रण गर्नुपर्ने हो । मूल्य त यो बेला दोब्बरै बढेको छ ।’- छठको आयोजक मैथिली सेवा समिति दमकका अध्यक्ष साहको प्रतिक्रिया छ ।
छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै ४ करोडको केरा भारतबाट आयात गरिएको छ ।
छठमा सिङ्गै केराको घरी भगवानलाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि नपुग्ने भएर भारतबाट केरा भित्र्याउनु परेको सुनाए । उनले भने ‘गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो भनें यस वर्ष ४ करोडको झन्डै ७० ट्रक केरा भित्रिएको छ ।’

You may also like