दमक÷ निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु नियुक्ति गरेसँगै जिल्ला तहमा पनि आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारी अघि बढेको छ । यसै क्रममा झापामा निर्वाचन अधिकृतका कार्यालयहरु रहने स्थानबारे अध्ययन शुरु भएको छ ।
निर्वाचन आयोगले झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका जिल्ला न्यायधीश उमेश प्रसाद लुईटेललाई नियुक्त गरिसकेको छ । यस्तै झापा क्षेत्र नंं. १ को निर्वाचन अधिकृतमा गोपी विश्वकर्मा, क्षेत्र नं. २ मा महेश प्रसाद खत्री, क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृत लुईटेलनै, क्षेत्र नं. ४ को निर्वाचन अधिकृतमा भीम प्रसाद भूर्तेल र झापा क्षेत्र नं. ५ मा बिदुर कुमार कार्कीलाई नियुक्त गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो । यस्तै निर्वाचनको मिति नजिकिदै गर्दा सम्वन्धित क्षेत्रमानैं निर्वाचन अधिकृतको कार्यालयहरु निर्माणको काम पनि शुरु भएको छ ।
झापाको क्षेत्र नंं ५ को निर्वाचन अधिकृतको कार्यालय भने दमकमा राख्ने तयारी गरिएको छ । क्षेत्र नं ५ का लागि दमक ८ मा रहेको अर्गानिक कृषि बजारको भवनमा निर्वाचन कार्यालय स्थापना गर्ने तयारी गरिएको हो । यसको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहितको टोलीले निरिक्षण पनि गरि सकेको छ । त्यस क्रममा प्रमुख जिल्ला अधिकारी गेललाले वरीपपिर कम्पाउण्ड भएको र फराकिलो तथा खुल्ला स्थल रहेकोले यस क्षेत्रमा निर्वाचन कार्यालय सुरक्षित ढंगबाट सञ्चालन गर्न सकिने र उपयुक्त स्थल रहेको जनाएका छन् ।
५० हजार मतदाता र ४९ केन्द्र थप
आगामी निर्वाचनका लागि झापामा ५० हजारभन्दा धेरै मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरणअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा झापामा ५० हजार दुई सय २६ मतदाता थपिएका हुन् ।
थपिने मतदाताको संख्यामा पुरुषको २७ हजार तीन सय दुई छ भने २२ हजार नौ सय २४ महिला मतदाता थपिएका हुन् । २०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार तीन सय ११ थियो भने हाल अर्थात २०८२ को निर्वाचनमा उक्त संख्या बढेर ७ लाख १३ हजार पाँच सय ३७ पुगेको छ ।त्यस्तै, गत निर्वाचनमा ७ सय ६६ वटा मतदान केन्द्र रहेकामा यसपटक ४९ वटा मतदान केन्द्र पनि थपिएको छ । जसअनुसार मतदान केन्द्रको संख्या आठ सय १५ वटा पुगेको छ । जिल्लामा मतदान स्थल भने बढाइएको छैन । झापामा दुई सय ८५ वटा मतदानस्थल रहेका छन् ।
कहाँ कति मतदाता ?: झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं. ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् । क्षेत्र नं. ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७७ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५१७ जना मतदाता छन् । त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता छन् ।
त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७११ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका ८१५ मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

Author

You may also like