देश–समाज लेख शिक्षा स्थानीय

झुपडीहरूको आस्थाको शैक्षिक धरोहर बनोस् “काठमाडौ विश्वविद्यालय”

:– जयबहादुर श्रेष्ठ —:
आज हामी २१ औं शताब्दीको तेस्रो दशकमा प्रवेश गरिरहेका छौ । विज्ञान र प्रविधिको अप्रत्यासित फड्को माराईले हामी आधुनिक युगबाट उत्तर आधुनिक युगतिर प्रवेश गरिसकेका छौ । यो युगमा विज्ञानले हामीलाई अनेकन आविष्कार दियो । मानव जीवनलाई सहज र सरल पनि बनायो तर विज्ञान र प्रविधिको नवीनतम् आविष्कारहरूले केवल मानव हित र कल्याण मात्र गरेन, बरू कतिपय घटनाहरूले विकसित प्रविधिहरू मानव सहाराका संबाहक पनि बनेका छन् भन्ने सावित भएको छ ।
यही परिप्रेक्ष्यमा विज्ञानका उपलव्धीहरू मानव जातिका लागि अभिषाप होईन, बरदान हुनु पर्दछ भन्ने मान्यता राख्ने काठमाडौं विश्वविद्यालयले “ज्ञान र प्रविधिलाई मानव सेवामार्गी बनाई विश्वस्तरीय विश्वविद्यालय बनाउने जस्तो पवित्र “दृष्टिकोण” राखेर, गुणस्तरीय नेतृत्व र शिक्षाको माध्यमबाट समाज सेवा गर्ने उत्कृष्ट लक्ष र उद्देश्य बनाई, अन्तर्राष्ट्रिय विश्वविद्यालयसंग साझेदारी र सहकार्य गरि अनुसन्धानलाई पहिलो महत्व दिने पहिलो सर्त बनाएर यो विश्वविद्यालयको प्रारूप सन् १९९१ मा शुरू भई सन् १९९४ (तद्अुसार २०५१ वि.सं.) मा काठमाडौं विश्वविद्यालय स्थापना भएको हो ।
यो विश्वविद्यालय, युगले मागेको सक्षम, सफल र कर्मयोगी, विशिष्ट शैक्षिक व्यक्तित्वबाट स्थापित भएको मात्र होईन, आज अत्यन्त दक्ष, अनुभवी र योग्य प्राध्यापकहरूको भीमकाय समूहले यो काठमाडौं विश्वविद्यालयरूपी जहाजलाई सही गन्तब्यमा पु¥याउन अनवरत लागेको पाईन्छ ।
त्यसैले पनि यो विश्वविद्यालय अनेकन चुनौतिहरूलाई अवसरमा बदल्न सक्ने गुणस्तरीय विश्वविद्यालयको रूपमा स्थापित हुन सफल छ । जसले आफ्ना विद्यार्थीहरूलाई नबीनतम् ज्ञानको खोजी गर्नुपर्दछ भन्ने प्रेरणा एवम् हुटहुटी सिर्जना गर्दछ । उच्च शिक्षा हासिल गर्न चाहानेहरूको लागि यो विश्वविद्यालय प्रमुख गन्तव्य बनेको पनि छ ।
नेपालमा सन् १९५९ (बि.सं. २०१६ देखि २०२५– २०८२) सालसम्म आईपुग्दा नेपालमा दर्जनौ विश्वविद्यालयहरू स्थापित भएतापनि अस्तित्वमा रहेका एक दर्जन जति विश्वविद्यालयहरू मध्ये काठमाडौं विश्वविद्यालय स्थापनाको हिसावले दोस्रो र विद्यार्थी संख्याको हिसावले तेस्रो ठूलो संख्या भएको उच्चकोटिको विश्वविद्यालयको रूपमा परिचित छ । जसको मुख्य उद्देश्य व्यक्तिको जीवनमा अपरिहार्य हुने व्यवहारिक ज्ञान, सीप र कला कौशल प्रतिविम्बित हुने अनुसन्धानमूलक अध्ययन अध्यापनमा जोड दिनु रहेको छ । यो विश्वविद्यालयको लामो शैक्षिक यात्रामा यसको कुनै कमिकमजोरी छँदै छैनन् ? भन्ने होईन, तर यसको दुर्वल पक्षलाई सवल पक्षले ओझेलमा पार्न सफल भएको देखिन्छ । यसका हरेक शैक्षिक गतिविधिले ।
काठमाडौं विश्वविद्यलयको कुरा गरिरहँदा एकातिर मुलुकमा यस्तो पवित्र उद्देश्य बोकेर काठमाडौं विश्वविद्यालय स्थापना भएको छ । लक्ष्य अनुसारको काम गरिरहेछ । तर केवल निश्चित वर्गका लागि मात्र सिमित रहेको देखिएको आभाष हुन्छ, भने अर्कोतिर आज पनि नेपाली विद्यार्थीहरूले मुलुकमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने कुरामा बिश्वास नलागेर वर्षेनी विदेशिनेको संख्या लाखौंमा छन् । सामान्य अध्ययनले पनि के देखाएको छ भने, विद्यार्थीहरू कक्षा ८ देखि नै आफ्नो उच्च अध्ययनको लागि विदेशी शैक्षिक संस्थाको छनौटमा लाग्दछन् । अंग्रेजीलाई गीताग्रन्थ भन्दा उच्च ठानेर क्ष्भ्ीत्क्, एत्ब् , र त्इभ्ँी जस्ता अंग्रेजी स्तर मापन परीक्षामा लाम लागिरहेका हुन्छन् । उच्च शिक्षा हासिल गरेर पनि व्यवहारिक ज्ञान आर्जन गर्नपछि परेकाहरू खाडी मुलुकलाई गन्तव्य बनाई रहेछन् । कठिन परिस्थितिसँग संघर्ष गर्दै बिदेशिएका युवाहरूबाट भित्रिएका विप्रेषणले सरकार रात्रीभोजको आयोजना गरिरहेको छ । सरकारले विदेशी ऋणलाई मामाघरमा पाएको दक्षिणा सम्झिरहेछ । हुने र नहुनेहरूको बिचमा यति बिघ्न असमानता छ, हुनेहरू भ्रष्टाचारको गन्धले पोतिएको आवरणमा फूर्ति देखाईरहेको आभाष हुन्छ । नहुनेहरूको व्यथा दारूण बनेको छ ।
देश मूल्य र मान्यता बिहिन बनेको छ । प्रशासनिक क्षेत्र होस् वा प्रहरी, न्याय क्षेत्र होस् वा शैक्षिक सबै निकायहरूमा राजनैतिक भागबण्डाले प्रश्रय पाएको छ । जसले कानूनी राज्यको अवधारणाको धज्जी उडाएको छ ।
विश्वविद्यालयमा भएको दलीय भागबण्डाले शैक्षिक गुणस्तरमा ह्रास आएको छ । गुणस्तरीय शिक्षाको अभावमा विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रूपमा रूपान्तरित बनेका छन् । जिडिपिका सबै सूचकांकहरू ओरालो गतिमा झरिरहेको तीतो यथार्थ छ । समग्रमा देशको हरेक क्षेत्र कहालीलाग्दो अवस्थामा छ ।
यसरी आज भ्रष्टाचारको दलदलमा पसिसकेको देश बिचौलियाबाट निर्वाद् चलिरहेको छ । अब हामी कल्पना गरौं देश अहिलेको यो निरीह परिस्थितिबाट सर्लक्क उकालो लाग्ने अवस्थामा छ त ? सबैको एकीकृत जवाफ छ, छैन ।
त्यसैले पनि काठमाडौ विश्वविद्यालय जुन पवित्र लक्ष्य र उद्देश्यका साथ स्थापित भएको छ, ती लक्ष्य र उद्देश्यलाई अग्रभागमा राखेर यो विश्वविद्यालय सर्वसाधारणको पहँच योग्य हुनुपर्ने देखिन्छ । जसले मुलुकका क्षमता र संभावना भएका जुनसुकै वर्ग र तहका विद्यार्थीहरू हुन् तिनलाई यही देशको माटोमा बाँच्न र बचाउन, खेल्न र खेलाउन, हिँड्न र हिँडाउन सक्ने सक्षम नेतृत्व जन्माउने वा बनाउने जिम्मेवारी काठमाडौ विश्वविद्यालयको काँधमा आएको देखिन्छ ।
काठमाडौं विश्वविद्यालय नाफारहित प्रकृतिको भएको नाताले पनि यस विश्वविद्यालयले प्रदान गर्ने शिक्षा सर्वसाधारणको पर्हुचमा हुनु पर्दछ । जसले दूरदराजका झुपडीका नागरिक जो सधैं अभाव र पीडाले छट्पटिएका छन्, तिनका खाली पाउले काठमाडौ विश्वविद्यालयको प्राङ्गण टेक्ने अवसर पाउनु पर्दछ । कक्षा कोठामा तिनका सकल शरीर प्रवेश गर्ने अवसर हुनुपर्दछ । किसानको हातमा लागेको माटाको सुगन्ध, पसिनायुक्त मजदुरका हातका ठेलाहरूको पनि सम्मान हुनु पर्दछ यो विश्वविद्यालयमा । उनीहरूलाई अवसर दिएर यो विश्वविद्यलयले यति गर्न सक्यो र लक्ष्य अनुसार शैक्षिक संकाय मार्फत् होस् वा सामाजिक वा राजनैतिक क्षेत्रमा असल नेता जन्माउन सक्यो भने ती नेतृत्वहरूले
कक्षा कोठामा आर्जित ज्ञान र सीप प्रयोग गरेर आफ्नो पिछडिएको अन्धकार वस्तिहरूमा सभ्यताका द्विप जलाउनेछन् । यस कार्यले थोरै मात्रामा भए पनि देश विकासको काँचुली फेर्नमा सहायकसिद्ध हुन सक्छ । यति हुनसक्यो भने विपन्न झुपडिहरूको समेत शैक्षिक आस्थाको धरोहर बन्ने छ– यो विश्वविद्यालय । अनि काठमाडौ विश्वविद्यालयको उचाई दर्विलो पृष्ठभूमिमा ठडिएको सगरमाथाको उचाई झैं अनवरत अग्लिईरहन कोशेढंगा सावित हुने छ– यसमा सन्देह छैन ।
(लेखक उपप्राध्यापक हुन् ।)

Author

You may also like