न गाँस
न बास
न सुरक्षा
न कमाइ
आसै– आसमा बाचेको छ जिन्दगी
उनै गरिबको
आशाहरु निमोठिए
निरासा दिनदिनै बढदै गयो
पुराना आशाका छानाहरु प्वाल परे
फिक्का छ जिन्दगी गरिबको
अतित हुन सकेन बर्तमान
हिजोको जनयुद्ध
र जनआन्दोलन
त्यही घरको झुपडीमा थियो
ओहोरदोहोर गरिरहने
मीठो मसिनो खाने
सर्च अभियान जारी राख्ने
राता मान्छेहरुको हुलहरुको आश्रय त्यही थियो
साम्यवाद
बहुलवाद
समाजवाद
राष्ट्रियता
राष्ट्रवाद
जनवाद
नौलोजनवाद
उदारवाद
अनेकन वादहरुको चर्चा परिचर्चा त्यही हुन्थ्यो
झुपडीमा
मानौ कि
हिजोका दिन
कालरात्री जस्तै थियो
शत्रुहरुका पिल्लर ढाल्न उद्दत
हजारौं स्वरहरु एक्यवद्धताका साथ होमिएका थिए
कहालीलाग्दो थियो पुरानो विरासत
आज सबै रित्ता भए वादहरु
राता मान्छेहरूका राजनीति बदलिए
कहिले नयाँ शक्ति
कहिले पुराना
सबै राता र ताता हातहरुका चिन्ह फेरिए
राजनीति रङ्ग फेरिए
अवसरवाद हावी भयो
पद लोपुप्ता मौलाए
हुल्लडवाद बढे
बेफ्वाकमा वादहरु बाझ्दै गए
राजनीतिक रङ्ग अदलबदल भए
सत्ताको सिढी चढदै गए
हिजोका झुपडीमा सेल्टर लिनेहरु
आज मालिक भए गगनचुम्बीका
नेताहरूले किन बिर्सिए झुपडीहरु ?
यस्तै– यस्तै प्रश्नहरुको घेराबन्दीमा परेर बसिरहेका छन, यो जाडोमा राप र तापमा कठ्याङग्रीएर झुपडीमा बस्ने जनताहरु । उनीहरूले हिजो आशा देखाइयो, भ्रममा पारियो, राजनीति रङ्ग छरियो, बेजोडसङ्ग । यो भ्रम छोड्ने तिनै धनी नेतै हुन, जसले मुनाफा कमाइ रहे । जनतालाई भेडाबाख्रा हुन भन्ने सम्झिए । जनता उनीहरूकै राजनीतिक संजीवनी बुटी सुङदै हिँडे । यस्तो अन्धोभक्त भएर हिँडेकि उनीहरूको नेताको कोहि कसैले बिरोध गरे सिधै आइलाग्न समेत पछि परेनन् । अब बुझौ पुरानो विरासत, बिगतलाई फर्केर हेर्दा नेपाली राजनीति सही दिशामा थियो । नेताहरूले सही दिशा पक्रेर हिडेका थिए । नेपाली जनताको नजरमा हिजो सबैका हाइहाइ थिए । हाम्रा लोकतान्त्रिक गणतन्त्रका शीर्ष नेताहरु वीपी, पुष्पलाल, गणेशमान, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता त्यागी नेता यो देशमा हिजो जीवित रहुन्जेलसम्म देशमा आमूल परिवर्तनको आशा जनजन नेपालीहरुमा उनीहरूले जगाएकै थिए । हुन्सक्ला काम गर्ने सवालमा अनेकन काण्ड उतिबेला मच्चाए भनेर हुइया फिजाउने काम भएकै थियो तर अहिलेको जस्तो ब्रहमलुट गर्ने शीर्ष नेताहरू अहिले छैनन, हिजो थिए । आज ती सबै एकादेशको कथा हुन पुग्यो । सबै कमाउ खाउ, मोजमस्ती गर । कार्यकर्ताको भर्तीकेन्द्र खोल, देशलाई दोहन गरेर राज गर भन्नेहरूको बोलवाला छ, अहिले । नेताहरूको सङकीर्ण सोचका कारण आज पार्टी– पार्टी जस्तो रहेन, चलखेल गर्ने सानो चौतारी रहन पुग्यो । आज दलहरु फेरिए उनीहरूको प्रवृत्ति फेरिएन । एकले अर्काको चरित्र हत्या गर्ने तर्फ उद्दत रहे, प्यानल– प्यानलमा बिभक्त भए । माले, मसाले, डनहरुलाइ काखी चापेर राजनीति अघि बढाए, अहिले उनीहरूलाई काउसो भएको छ । न निल्नु न ओकल्नु भएको छ । हिजोका दिनमा स–शस्त्र द्वन्द्वको बेला शीर्ष नेता बनेकाहरु राजनीति प्रलोभनमा लागेर घाइते, अपाङ्ग, सहिद बेपत्ताहरुको मर्म र भावनामा चोट पुर्याएर आज एकले अर्कोलाई धारेहात लगाउदैछन किन ? उनीहरूले हिजोको कालोरातमा लिएका सेल्टरहरु आज बिर्सेका छन । तिनै घाइते, अपाङ्ग , सहिद परिवारकै आगनबाट प्राडो र पजेरो गाडीमा हुइकी रहेका छन, क्रान्तिकारी भनाउदा नेताहरू । सम्झेर ल्याउदा दुःख लागेर आउँछ , हिजोआज । यो कलमीले हिजोको जनयुद्ध नजिकबाट नियालेको छ , उपनाम दिएर धेरै सिर्जना विभिन्न पत्रपत्रिकामा उठान गरेको छ । उतिबेला यस्तो समय थियो कि जनयुद्धको नाममा कसैले सुराकी दियो कि मरण हुने अवस्था थियो । बिगतको विरासत सम्झेर ल्याउदा मुटुनै भक्कानो पर्छ । अहिलेका गेरुबस्त्र धारी कमाउनिष्टहरुलाइ यो लेख उठान गर्दा नक्कली हो भनेर भन्लान भनुन तर हिजोको राप र ताप पूर्वको झापादेखि सिन्धुपाल्चोकसम्मका कालरात्री भोगेको इतिहास अझै भुलेको छैन, प्रेस मिडियामा काम गर्दा, लेखकले । सत्य तीतो हुन्छ तर यथार्थको धरातलमा रहेर काम गर्ने सिपाहीहरुले अनेकन बाधा अडचन ब्यहोर्नु पर्छ , हो आज जीवनमै गाढा बनेर आएको छ बिगतको बिरासत । हाम्रा नेताहरूले किन हिजोको क्रान्ति बिर्सिए ? आज किन नयाँ पुस्ताहरुको जन्म भयो । उनीहरूको आँखाले दृष्टिगोचर गर्दा हाम्रा नेताहरूलाई हेर्ने अर्को नजर किन नकारात्मकमात्रै भइदियो । हिजोका दिनमा जेन – जीहरुले उठान गरेका माग धेरै – थोरै राम्रै थिए तर उनीहरूको साझा मुद्दा नबनेको कारण उनीहरू आफै खण्डित हुन पुगे । फाइदा भैदियो पुरानै दलहरुलाइ । आज कित्ता – कित्तामा बिभाजित छन, जेन – जीहरु । यसलाई अब कसरी निराकरण गरेर एकरुपतामा लैजाने भन्ने बहसको निक्र्योल उनीहरूले गर्न नसक्दा आगामी फागुन २१ मा हुने निर्वाचन अन्यौल छ । राजनीति मियो सही दिशामा छैन । सबै भागबण्डामा ब्यस्त छन । यतिबेलै गरिबका झुपडीका बासहरु कठाङ्गरिएका छन । हिजो छाना, नाना र दाना भनेर राजनीतिक ललिपप खुवाउने ठुलादलहरु कहाँ हराए, कता गए ? खोइ त गरिबहरुलाइ छानो ? आशै – आशाको त्यान्द्रोमा बसेका दुःखी मनहरुको छानो टाल्ने काम हिजो ठुला तथा साना दलहरुले गर्न सकेनन । अब सबैको आशाको केन्द्र बिन्दु युवाहरुको पुस्ताको सामुहिक नेतृत्वले उठान गर्न सकोस । आशा उनैको लिएर बसेका छन झुपडीका बस्तीहरु । आउ मिलाउ तिम्रा स्वरहरु । आउ मिलाउ तिम्रा हातहरु ।