देश–समाज मुख्य समाचार स्थानीय

भूटानी शरणार्थीको समस्या समाधानका लागि सरकार र सत्तारुढ दललाई आग्रह

दमक/ भूटानी शरणार्थीहरूले आफ्नो दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिलाई पुनःस्मरणपत्र बुझाएका छन् । उनीहरूले सम्मानजनक स्वदेश फिर्तीका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।
रवि लामिछानेलाई बुझाइएको पत्रमा विगत ३४ वर्षदेखि भूटानी सरकारको दमनका कारण विस्थापित भई नेपालका झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीहरूको समस्या अझै समाधान नभएको उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) लगायत निकायको सहयोगमा धेरै शरणार्थी तेस्रो देशमा पुनर्वास भए पनि करिब ६,५०० शरणार्थी अझै शिविरमै रहेको जनाइएको छ ।
त्यसैगरी प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा हालसम्म भएका १५ चरणका नेपाल–भूटान वार्ताले ठोस निष्कर्ष दिन नसकेको भन्दै पुनः स्वदेश फिर्तीलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । शरणार्थीहरूले आफूहरूलाई सुरक्षित आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराइए पनि अहिले ती सुविधामा कटौती हुँदै गएको गुनासो गरेका छन् ।
पत्रमा शिविरको नाम परिवर्तन गरेर “बस्ती व्यवस्थापन समिति” बनाइँदा शरणार्थी पहिचान नै संकटमा पर्ने चिन्ता व्यक्त गरिएको छ । उनीहरूले पुरानो नाम यथावत् राख्न पनि माग गरेका छन् । शरणार्थीहरूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग समेत यो विषय उठाउन र भूटानसँग वार्ता वातावरण बनाउन प्रधानमन्त्रीको भूमिका आवश्यक रहेको बताएका छन् । उनीहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा त्रिपक्षीय वार्ता अघि बढाई “सम्मानजनक स्वदेश फिर्ती” सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।
यसरी भूटानी शरणार्थीहरूले राजनीतिक नेतृत्व र सरकारसँग आफ्नो दीर्घ समस्या समाधानका लागि ठोस कूटनीतिक पहलको पुनः माग गरेका छन् । सो पत्रमा भूपू शिविर सचिव डीबी सुब्बा र राष्ट्रिय मेलमिलाप समिति भुटानका तर्फबाट कृष्णविर तामाङले हस्ताक्षर गरेका छन् ।

Author

You may also like