देश–समाज राष्ट्रिय समाचार

लामिछानलाई १५ दिन र प्रसाई ५ दिन म्याद थप

काठमाडौँ । सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको हो ।
अदालतले कास्की प्रहरीको मागअनुसार पक्राउ परेका केही प्रतिवादीहरूको हकमा बयान कार्य बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको र प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत प्रमाण प्राप्त हुन बाँकी रहेकाले म्याद थपिएको जनाएको छ । लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी पटक पटक म्याद थप्दै अनुसन्धान गरिरहेको छ ।
यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।
यसअघि असोज ६ मा पनि प्रसाईँलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भए । करिब दुई महिनाको बिचमा उनी दोस्रो पटक पक्राउ परेका हुन् ।

Author

You may also like