समाचार

राजवंशी समुदायको पहिलो न्यायाधिस वन्दै पूणर्

गौरीगञ्ज, १ असोज-
मुख्य त झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने भूमिपुत्रका रुपमा रहेको राजवंशी समुदायबाट पहिलो न्यायाधिसका रुपमा पूणर्प्रसाद राजवंशीको नियुक्त प्रक्रिया अघि बढेको छ ।
झापाको दक्षिणी देहात कचनकवल गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई काठमाडौंमा लामो समयदेखि वकालत गर्दै आएका राजवंशी सहितलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । राजवंशी कानून व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै ६ जना कानून व्यवसायी पनि रहेका छन् ।
पछिल्लो पटक बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले राजवंशी समुदायबाट सम्भवत पूणर् पहिलो न्यायाधिस वन्न लागेकोमा खुसी व्यक्त गरे । न्यायालय जस्तो सम्मानित अंगमा राजवंशी समुदायको प्रतिनिधित्व हुनु समुदायको नयाँ पुस्ताका लागि ठूलो प्रोत्साहन र आत्मबल बढ्ने सुनाए ।
राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाको पनि बुझाइ छ ।
पथरिया मावि पथरियाबाट २०५० मा एसएलसी गरेका पूणर्ले मेची क्याम्पस भद्रपुरबाट आईएल पास गरेका थिए । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट बीएल गरेका उनले नेपाल ल क्याम्पसबाट स्नातकोत्तर गरेर सेवा प्रवेश गरेका थिए । ४८ वर्षीय राजवंशी २२ वर्षदेखि सर्वोच्च अदालतमा वकालत पेसामा थिए ।
लामो समयदेखि वकालत पेसामा रहेका योग्य, दक्ष व्यक्तिका लागि न्यायपरिषद्ले ‘न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका-२०७९’ जारी गरेको थियो । निर्देशिका जारी भएपछि २ सय ७४ जनाले मापदण्डअनुसार न्यायाधीश बन्नका लागि निवेदन दिएका थिए । त्यसमध्ये राजवंशीसहित ८१ जनाको नाम सूचीमा परेको थियो । उनीहरूमध्ये न्यायपरिषद्को शुक्रबार बसेको बैठकले राजवंशीसहित २७ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निणर्य गरेको हो ।
न्यायाधीश सिफारिसपछि संविधानको निष्पक्ष र सफल कार्यान्वयनको जिम्मेवारी काँधमा आएकाले त्यसलाई कुशलतापूर्वक पूरा गर्ने राजवंशीले धारणा व्यक्त गरेका छन् ।
२७ जनामा जिल्ला न्यायाधिसबाट १८ , न्याय सेवाबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम सिफारिस भएको हो । न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् ।
मुलत ः झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी जाति पिछडिएको वर्ग समुदायमा पर्छ । २०७८ को जनगणनाअनुसार मुलुकभित्र राजवंशी जातिको कुल जनसंख्या १ लाख ३२ हजार छ ।

Author

You may also like