दमक, १ असोज-
झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा चालू शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विविध सांस्कृतिक कार्यक्रम गरी स्वागत गरिएको छ । ५९ औं बाल दिवशका अवसरमा ति विद्यार्थीहरुलाई कक्षा १२ अर्थात् विहानी सत्रको तर्फबाट एक औपचारिक भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।
आइतबार बिहान विद्यालय परिसरमा गरिएको सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख युवराज पौडेलले आफ्नो शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको कर्तव्यपरायणताले ग्लोबल प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था हुन पुगेको बताए । उनले यसैक्रममा प्राप्त सफलता र उचाईलाई कायम राख्नमा सफलता मिलिरहोस् भन्ने कामना गरे । विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले निजी संस्थागत लगायतका विद्यालयका कारण नेपाल शिक्षाको क्षेत्रमा धेरै अगाडि बढिसकेको बताए । विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीले प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा आफूहरु निरन्तर लागिरहेको भन्दै त्यसका लागि प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।
विद्यालय संचालक समितिका अध्यक्ष इन्दिरा बस्नेतको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा विद्यालयका शिक्षा समिति संयोजक तथा संचालक समितिका पूर्व अध्यक्ष खेम प्रसाद भण्डारी शुभकामना मन्तब्य राखेका थिए भने शिक्षक श्याम प्रसाद आचार्यले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका संचालक गोविन्द बहादुर कटुवाल, शिक्षा समिति सदस्यहरु के.पी. शिवाकोटी र नारायण भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा प्रत्येक संकायमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः ६ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार साथै प्रमाणपत्र प्रदान गरिएको थियो । सो विद्यालयमा विज्ञान, मानविकी, कानून, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाई हुँदै आएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुलाई खादा ओढाएर स्वागत सम्मान गरिएको थियो ।