अर्थ मुख्य

झापामा प्राङगारिक मलको माग बढ्दै

दमक, १ असोज-
रासायनिक मल प्रयोग निरुत्साहित गर्ने उद्धेश्यले खेतीमा लागेका झापाका केही किसानले व्यवसायिकरुपमा प्राङगारिक मल समेत उत्पादन गर्न थालेका छन् । प्रति क्वीन्टल ३ हजार रुपयाँमा धमाधम विक्री हुन थाले पछि किसानले प्राङगारिक खेती गर्ने किसानलाई लक्षित गरी मल उत्पादन थालेका हुन् ।
माटो र पर्यावरणलाई ध्यान दिँदै प्राङगारिक खेतीमा लागेका झापाका किसानले मलको समेत व्यवसाय गर्न थालेका छन् । रासायनिक मलको विकल्पको खोजीमा लागेका किसानले प्राङगारिक मलको माग गर्न थाले पछि मल उत्पादन गरेर विक्री समेत गर्न थालेको दमक वडा नं. ९ की किसान चम्पाकुमारी अधिकारी खनालले बताइन् । खनालका अनुसार अघिल्लो बर्ष २ लाख मूल्यको मल विक्री गर्न सफल भएको छ । यो बर्ष मलको माग अझ बढेर गएको उनले बताइन् ।
सरकारले समेत सहयोग गरेपछि ठूलो परिमाणमा मल उत्पादन गर्ने किसान तथा कृषि सहकारी संस्थाले भर्मिक कम्पोष्ट घर नै बनाएर मल उत्पादन थालेका छन् । गड्यौलाको सहयोगमा झार पात र पशुचौपायको मलबाट गड्यौले मल उत्पादन गर्दै आएको सेतुमारी कृषि सहकारी संस्थाका कर्मचारी सुरज सुनुवारले बताए । सुनुवारका अनुसार खेतीका लागि चाहिने मल आफै उत्पादन गर्दै आएको छ ।
त्यसो त केही बर्ष यता प्राङगारिक खेती गर्ने किसानलाई लक्षित गरी सरकारले समेत प्राङगारिक मल उत्पादनमा जोड दिएको छ । जिल्लामा उत्पादनमा आधारित अनुदान समेतको कार्यक्रम संचालन गरिएको छ । गएको बर्ष २ करोड बजेट मल उत्पादनका लागि नै विनियोजन गरी मल उत्पादन थालिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । विष्टका अनुसार बुद्धशान्ति र विर्तामोडमा मल उत्पादन कारखानाको भवन निर्माण गरी उत्पादन समेत थालिएको छ ।
झापा कृषि संघ संस्थाहरुले मात्र प्राङगारिक मल उत्पादन गरी विक्री गर्दै आएका थिए । तर प्राङगारिक मलको पनि माग बढ्न थालेपछि किसान समेत व्यवसायिकरुपमा मल उत्पादन थालेको उनीहरुको भनाइ छ ।

Author

You may also like