मुख्य स्थानीय

झापामा हात्तीको त्रास कायमै

दमक/ झापामा जङ्गली हात्तीको त्रास कायमै छ । दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ ।
पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने शुक्रवार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार शुक्रवार बिहान मात्र जङ्गली हात्तीले दमक नगरपालिका–३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर रु ६० हजारको सामान खानुको साथै नष्ट गरेको छ ।
प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ । फ्रिज भत्काउँदा रु २५ हजार बराबरको क्षति पुगेको उनले बताए । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको रु सात हजार बराबरको चामल, मकै खाइदिएको उनको भनाइ छ ।
मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ ।
जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । पछिल्लो समय गाउँसँगै हात्ती सहर केन्द्रित हुन थालेको छ ।
केही समयअघि कनकाई नगरपालिकाको सुरुङ्गा बजार, चारआली बजारलगायका क्षेत्रमा प्रवेश गरेर हात्तीले पसल भत्काउने, व्यापारीले राखेको फलफूल खाइदिने गरेको थियो । रैथाने हात्ती हुल बाँधेरभन्दा पनि एक्लै हिँड्ने गरेको प्रहरीको भनाइ छ ।
झापामा हात्ती नियन्त्रण गर्न हरेक विधि अपनाइएपनि सफल हुन सकेको छैन । वर्षौदेखिको हात्तीको त्रास कायमै छ । मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७९–८० मा मानव हात्ती द्वन्द्वका क्रममा झापामा मात्रै ८ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
यस अवधिमा दुई गैह्र नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । यसै गरी यस आर्थिक वर्षमा दुई वटा हात्ती समेत विद्युतीय तारमा परि मारिएको छ । हात्तीको आक्रमणमा परि ज्यान गुमाउने गैह्र नेपालीमा एक जना भुटानी र एक जना भारतीय नागरिक रहनुभएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
हात्तीका कारण ज्यान गुमाउने गैह्र नेपालीको हकमा राहत रकम पाउने व्यवस्था नरहेको जिल्ला वन कार्यालयले जनाएको छ । यसै गरी झापामा पछिल्लो १२ वर्षमा मात्रै हात्तीको आक्रमणमा परि ६१ जनाको ज्यान गएको छ जसमा ७ जना विदेशी नागरिकसमेत परेका छन् । झापामा हात्तीको आक्रमणबाट अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ५ जनाले हात्तीको आक्रमणमा परि ज्यान गुमाउनु परेको थियो भने यसै गरी आर्थिक वर्ष २०७७/७८ ३ जनाको ज्यान गएको थियो ।
यसैगरी २०७६–७७ मा २ जना , आव २०७५–७६ मा १ जना, र आव २०७४–७५ मा ५ जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रमणमा परी ६१ जनाको मृत्यु भइसकेको छ ।
यस वर्ष हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेहरूमा खेतमा काम गरिरहेका बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी, सामुदायिक वनभित्र घाँस काटिरहनुभएका बाह्रदशी–१ का जगतबहादुर भुजेल, घरभित्रै सुतिरहनुभएकी शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारी, मकैवारिमा काम गरिरहेका बुद्ध शान्ति गाउँपालिका ४ का भीमबहादुर भट्टराई, स्कुटरमा घर जाँदै गरेकी बुद्ध शान्ति–५ की सम्झना श्रेष्ठ, चिया बगान छेउमा च्याउ खोज्न गएकी भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हात्तीको आक्रमणमा परि ज्यान गएको थियो । यसै गरी गैह्र नेपाली भुटानी शरणार्थी कमैया राईलाई दमक–३ स्थित सामुदायिक वनमा र अर्का गैह्र नेपालीलाई मेचीनगरको धुलाबारी बजारमा हात्ती आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो ।
सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षति बापत ५२ लाख १९ हजार चार सय पचहत्तर रूपियाँ राहत रकम उपलब्ध गराइएको जनाइएको छ ।

Author

You may also like