मुख्य

दमक अस्पतालको सेवा सुधार्न माओवादीको अल्टिमेटम

दमक/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक अस्पतालभित्र देखिएको बेथिति १५ दिन भित्र हल गर्न चेतावनीसहित अल्टिमेटम दिएको छ । बिहीबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाई ज्ञापन पत्र बुझाएर माओवादी केन्द्रले यस्तो चेतावनी दिएको हो । माओवादीले सरकारी अस्पतालका रुपमा दमक

अस्पतालभित्र देखिएका समस्या हल नगरे त्यसविरुद्ध आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदै माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमले अस्पतालमा देखिएको अस्तव्यस्त अवस्था तत्काल सुधार गर्न स्थानीय सरकारको ध्यानाकर्षण गरिएको बताए । पार्टीका नगर अध्यक्ष कुल बहादुर बस्नेत (रवि ) र इन्चार्ज गौतमको हस्ताक्षर रहेको ज्ञापनपत्रमा अस्पताल ब्यवस्थापन समिति तुरुन्त गठन गर्नुपर्ने, दमक अस्पताल सञ्चालन गर्न स्थानीय सरकार असफल भएको हुँदा प्रादेशिक अस्पतालका रुपमा विस्तारका लागि तुरुन्त निर्णय गरी सिफारिस गरियोस् भन्ने लगायत माग उल्लेख छ ।

अस्पतालले दिने सेवामा चरम लापरवाही हुने गरेको, ल्याव बन्द रहेको र स्वास्थ्य बीमाबाट पाइने औषधिसमेत नपाएको भन्ने सेवाग्राहीको गुनासो बारम्बार आएकाले आफूहरुले जनताको समस्यालाई चुप लगेर हेरिरहन नसक्ने भन्दै संघर्षमा उत्रनु परेको केन्द्रका नगर इन्चार्ज गौतमको भनाइ छ । माओवादी केन्द्रले बिहीबार नै दमक अस्पतालमा पुगेर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डाक्टर निरज आचार्यलाई सोही ज्ञापनपत्रको बोधार्थ बुझाएका थिए । यसअघि समेत गत जेठ २६ गते पनि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको माओवादीले जनाएको छ । ज्ञापनपत्र बुझदै नगर प्रमुख थापाले भने माओवादी केन्द्रको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या सामधान गर्न पहल गर्ने बताएका छन् ।

Author

You may also like