मुख्य

३१५ भूमिहीनलाई जग्गाको निस्सा

दमक/ दमक नगरपालिका–७ का ३ सय १५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप जग्गाको निस्सा प्रमाण दिन शुरु गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधान समितिबाट प्रदान गरिएको जग्गाको निस्सा प्रमाण वितरणको बिहीबार औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

दमक ७ को वडा कार्यालय परिसरमा आयोजित सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले स्थानीय सरकार नगरबासीहरुको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका लागि सधैं साथमा रहेको बताए । नगर प्रमुख थापाले जग्गाको निस्सा वितरणको काम यसअघिनै सक्ने तयारी रहेको भएपनि राष्ट्रिय तथा प्रदेश तहका निर्वाचनका कारण काम रोक्नु पर्ने बाध्यताका कारण केही समय ढिलो हुन गएको पनि उल्लेख गरे । उनले जग्गाको स्वामित्व प्राप्तीका लागि निस्सा प्राप्त गर्नु अनिवार्य भएको चर्चा गर्दै सबै नगरबासीहरुले यसलाई महत्वका साथ लिनु पर्ने सुझाव दिए । कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले नागरिकहरुका मौलिक हकका रुपमा रहेका सबै हकहरुको संरक्षणको दायित्व स्थानीय सरकारको भएकाले यो दायित्वबाट नगरपालिका पछि नहटने बताइन् । नगरपालिकाले जनमुखी र नगरबासी बालबालिकादेखि बृद्धबृद्धा सम्म महिला पुरुष सबैका लागि ल्याएका कार्यक्रमहरुबारे सुसूचित हुँदै सहभागी बन्न आग्रह गरिन् । उपप्रमुख भट्टराईले नगरपालिकाको नजरमा पर्न नसकेका विषय त्था समस्याहरुका बारेमा जानकारी गराएर सचेत नागरिकको भूमिका निर्वाह गर्न पनि नगरबासीहरुलाई आग्रह गरिन् । दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले २०५३ सालताका सो भूगोलमा अत्यन्तै न्यून संख्यामा भूमिहीन सुकुम्बासीहरुको संख्या रहेको भएपनि त्यसयता ठूलो संख्यामा सुकुम्बासीहरुको बसोबास यस वडामा रहेको तथ्याकंले देखाएको जानकारी गराए । उनका अनुसार जग्गाको धनीपूर्जा प्राप्तीका सो वडामा ५ सय ५६ जनाले वडामार्फत् आयोगमा निवेदन पेश गरेको जानकारी दिँदैं ३१५ बाहेकका अन्य निवेदनहरुमाथि पनि सूक्ष्म छानबिन गरेर धनीपुर्जा प्रदान गर्ने प्रकृया अघि बढाइने वडाध्यक्ष पौडेलले बताए । उनले सुकुम्बासी तथा भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा आफू सदैव प्रयत्नशील रहेको चर्चा गर्दै नगरपालिकाबाट भए गरेका निर्णयहरुको कार्यान्वयनमा सहयोग पु¥याउन वडाबासीहरुलाई आग्रह पनि गरे । सो अवसरमा दमक शहर सुदृढीकरण समिति संयोजक प्रकाश प्रसाइँले यहाँँका साझा समस्याहरुको समाधानका लागि सबैले फराकिलो सोच बनाएर अघि बढनु पर्ने आवश्यकता औंल्याए । उनले दमक शहरलाई व्यवस्थित रुपमा विकास गर्ने र यसको सौन्दर्यकरणमा नगरपालिकाको नेतृत्वबाट भइरहेका कामहरुमा रचनात्मक सहयोगको अपेक्षा समेत गरे ।

 

Author

You may also like