काठमाडौँ, ११ पुस।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको वर्ष परिणाम आउने गरी काम गर्ने बताएका छन् । उनले यो वर्ष सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको उनले बताए । उनले यसअघि निर्माण भएको पूर्वाधार निर्माणको जस खोसाखोस गर्न छोडेर बाँकी रहेको पूर्वाधार निर्माण सम्पन्न गर्न लागिरहेको बताए ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको बताएका छन् । मंगलबार साँझ देशवासीका नाममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अत्यावश्यक र पूर्व निर्धारित बाहेक कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट ठुला आयोजनाहरुको नियमित अनुगमन गर्न सुरु गरेको पनि उनले बताए ।
उनले भने,‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ताका साथ म सार्वजनिक घोषणा गर्दछु अब सरकारको कार्यशैली फेर्नेछु । अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ ।’
उनले यही साता आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको पनि जानकारी गराए । उनले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरशका छन् । प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’ अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए ।