काठमाडौं, – नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको क्षमता अभिवृद्धिका लागि गरिएको भौतिक संरचनाको निर्माण कार्यमा महत्वपूर्ण प्रगति गरेको छ। कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिका लागि काम गरिएको थियो।
आजदेखि विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म खुला रहने जानकारी विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दिए। उनले भने, “ट्याक्सी वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ, र समानान्तर ट्याक्सी वे निर्माणको काम जारी छ।”
नेपालको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यले गरिएको यस विस्तारको परियोजनामा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र पूर्वतर्फको ह्याङ्गर एप्रोनका साथै अन्य संरचनात्मक सुधार समावेश छन्।
आयोजनाले अनुमान गरेको छ कि यो काम पूरा गर्न लगभग १५ अर्ब रुपैयाँ खर्च हुनेछ। आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। रातिको समयमा गर्नुपर्ने भौतिक संरचनाको काम लगभग सकिएको भएपनि सम्पूर्ण परियोजना सम्पन्न गर्न करिब डेढ वर्ष लाग्ने बताइएको छ।
यस परियोजनाले विमानस्थलको क्षमता वृद्धि गर्दै हवाई यातायातको सुरक्षासँगै सेवा सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।