यतिबेला नेपाली राजनीति फेरि निर्वाचनको बहसमा केन्द्रित हुन थालेको छ । स्थानीय तह र प्रदेश तहको निर्वाचन कहिले हुने, निर्वाचनको मिति कसरी तय गर्ने र आगामी निर्वाचनमा कुन दलले बाजी मार्ला भन्ने विषय चिया पसलदेखि राजनीतिक वृत्तसम्म चर्चाको विषय बनेको छ । महत्वपूर्ण चाडपर्व सकिएसँगै राजनीतिक गतिविधि पनि क्रमशः बढ्न थालेका छन् । निर्वाचनको औपचारिक घोषणा भइनसक्दै राजनीतिक दलहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चुनावी तयारीमा जुटिरहेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू पनि आफू आबद्ध दलको राजनीतिक प्रभाव बढाउने र आगामी निर्वाचनमा जनमत आकर्षित गर्ने उद्देश्यले विकास निर्माणका कामलाई तीव्रता दिन थालेका देखिन्छन् ।
तर अहिलेको मूल प्रश्न कुन दलले जित्छ वा कुन दलले हार्छ भन्ने मात्र होइन । प्रश्न हो– आगामी निर्वाचनले देशको राजनीतिक संस्कार र आम नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउँछ ? नेपाललाई अब सत्ता परिवर्तन मात्र चाहिएको हो कि शासन गर्ने शैली र राजनीतिक चरित्रमै परिवर्तन आवश्यक छ ? यो बहस आजको आवश्यकता हो ।
नेपालको राजनीति लामो समयदेखि परिवर्तनको यात्रामा छ । व्यवस्था बदलियो, संविधान बन्यो, निर्वाचन भए, नयाँ राजनीतिक दलहरूको उदय भयो र पटक–पटक सरकार परिवर्तन भए । तर आम नागरिकको जीवनमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन । जनताले खोजेको परिवर्तन केवल नेता र राजनीतिक दलको अनुहार परिवर्तन थिएन । उनीहरूले शासन गर्ने शैली, राजनीतिक संस्कार र राज्य सञ्चालनको चरित्रमा परिवर्तन चाहेका थिए । यही अपेक्षा पूरा हुन नसक्दा पुराना राजनीतिक दलप्रति असन्तुष्टि बढेको छ भने नयाँ राजनीतिक शक्तिप्रति नागरिकको आकर्षण देखिएको छ ।
राजनीति होइन, राजनीतिक संस्कार बदलिनुपर्छ
नेपाली राजनीतिको एउटा प्रमुख समस्या सत्ता केन्द्रित सोच हो । निर्वाचनअघि जनतासँग अनेक प्रतिबद्धता गरिन्छन्, घोषणापत्र सार्वजनिक हुन्छन् र विकासका सपना बाँडिन्छन् । तर निर्वाचनपछि ती प्रतिबद्धता कार्यान्वयनभन्दा सत्ता व्यवस्थापन, भागबन्डा र व्यक्तिगत राजनीतिक स्वार्थ प्राथमिकतामा पर्ने गरेका छन् । स्थानीय तहमा समेत विकास निर्माणका कामलाई जनताको आवश्यकताभन्दा दलगत प्रभाव र आगामी निर्वाचनसँग जोडेर हेर्ने प्रवृत्ति देखिनु चिन्ताको विषय हो ।
राजनीति पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थ प्राप्त गर्ने माध्यम होइन, जनताको सेवा गर्ने जिम्मेवारी हो भन्ने मान्यता स्थापित हुनुपर्छ । नेतृत्वमा आलोचना सुन्ने क्षमता, गल्ती स्वीकार गर्ने साहस र जनताप्रति उत्तरदायी हुने संस्कार विकास हुन आवश्यक छ ।
सुशासन र भ्रष्टाचारविरुद्ध व्यवहारिक अभियान
भ्रष्टाचार नेपाली राजनीतिको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो । भ्रष्टाचार नियन्त्रणको नारा लगाएर मात्र देश परिवर्तन हुँदैन । त्यसका लागि निष्पक्ष अनुसन्धान, पारदर्शी प्रशासन, कानुनी शासन र प्रमाणका आधारमा दोषीमाथि कारबाही आवश्यक छ । भ्रष्टाचारको आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्नु हुँदैन, तर राजनीतिक पहुँच र शक्तिका आधारमा अनुसन्धान रोक्ने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन । कानुन सबैका लागि समान हुनुपर्छ । प्रधानमन्त्रीदेखि सामान्य नागरिकसम्म सबैले कानुनको पालना गर्नुपर्ने व्यवस्था नै लोकतान्त्रिक सुशासनको आधार हो ।
पुराना र नयाँ राजनीतिक शक्तिबीच स्वस्थ प्रतिस्पर्धा
नेपाली राजनीतिमा पुराना र नयाँ शक्तिबीचको प्रतिस्पर्धा स्वाभाविक छ । नयाँ राजनीतिक शक्तिले परिवर्तनको अपेक्षा बोकेका छन् भने पुराना दलसँग लामो राजनीतिक अनुभव र संस्थागत अभ्यास छ । तर देश निर्माणका लागि पुराना र नयाँबीचको द्वन्द्वभन्दा विचार, नीति र परिणाममा आधारित स्वस्थ प्रतिस्पर्धा आवश्यक छ ।
पुराना दलले विगतका कमजोरीको समीक्षा गर्दै आफूलाई सुधार गर्नुपर्छ । नयाँ दलले पनि लोकप्रिय नारा र सामाजिक सञ्जालको चर्चामा मात्र सीमित नभई संस्थागत क्षमता, लोकतान्त्रिक अभ्यास र परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्छ । सरकारको आलोचना गर्नु प्रतिपक्षको जिम्मेवारी हो भने आलोचनालाई शत्रुता नठानी सुधारको अवसरका रूपमा लिनु सरकारको दायित्व हो ।
युवालाई भाषणमा होइन, निर्णय प्रक्रियामा स्थान
नेपालका लाखौँ युवा रोजगारी र अवसरको खोजीमा विदेश जान बाध्य छन् । देशभित्र सम्भावना नदेखेर विदेशिनुपर्ने अवस्था राष्ट्रिय विकासका लागि गम्भीर चुनौती हो । राजनीतिक दलहरूले युवालाई चुनावी अभियान, सभा र कार्यक्रममा सहभागी गराएर मात्र हुँदैन । नीति निर्माण, बजेट विनियोजन, उद्यमशीलता, शिक्षा र रोजगारी सिर्जनामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ ।
कृषि आधुनिकीकरण, पर्यटन, सूचना प्रविधि, उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । देशको भविष्य युवाका नाममा गरिने भाषणमा होइन, उनीहरूका लागि सिर्जना गरिने अवसरमा निर्भर हुन्छ ।
संघीयताको अनुभूति नागरिकसम्म पुग्नुपर्छ
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अवलम्बन गरेको छ । तर संघीयताको वास्तविक अनुभूति नागरिकले स्थानीय तहसम्म पाउन सकेका छन् कि छैनन् भन्ने प्रश्न अझै महत्त्वपूर्ण छ । प्रदेश सरकारलाई आवश्यक अधिकार, स्रोत र जिम्मेवारी स्पष्ट रूपमा हस्तान्तरण गर्नुपर्छ । स्थानीय सरकारलाई विकास निर्माण र सेवा प्रवाहमा सक्षम बनाउनुपर्छ । संघीयता खर्च बढाउने संरचना मात्र नभई जनताको नजिक सेवा पु¥याउने माध्यम बन्नुपर्छ ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनको बहस गर्दा पनि संघीयताको प्रभावकारिता मुख्य एजेन्डा बन्नुपर्छ । कुन दलले कति सिट जित्छ भन्नेभन्दा कुन तहको सरकारले जनतालाई कस्तो सेवा दिन्छ भन्ने विषयमा बहस हुनुपर्छ ।
संविधान र लोकतान्त्रिक संस्थाको सम्मान
संविधान कुनै एक दल वा नेताको निजी दस्तावेज होइन । यो सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक आधार हो । संविधानमा आवश्यक सुधारका विषय उठ्न सक्छन्, तर त्यस्ता सुधार व्यापक छलफल, नागरिक सहभागिता र राष्ट्रिय सहमतिका आधारमा हुनुपर्छ । संसद्, न्यायपालिका, संवैधानिक निकाय र प्रेस स्वतन्त्रताको सम्मान लोकतन्त्रका आधारभूत सर्त हुन् । बहुमत प्राप्त सरकारले पनि संवैधानिक सीमाभित्र रहेर शासन गर्नुपर्छ भने प्रतिपक्षले पनि लोकतान्त्रिक मर्यादा र संसदीय जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
अबको राजनीति जनताको दैनिक जीवनसँग जोडिनुपर्छ
सामान्य नागरिकका लागि राजनीतिक परिवर्तनको अर्थ के हो ? उसले सहज रूपमा स्वास्थ्य सेवा पाउनु, गुणस्तरीय शिक्षा प्राप्त गर्नु, रोजगारी पाउनु, किसानले उत्पादनको उचित मूल्य पाउनु र सरकारी कार्यालयमा सम्मानपूर्वक सेवा पाउनु नै वास्तविक परिवर्तन हो । त्यसैले राजनीतिक दलहरूले ठूला भाषण र आकर्षक घोषणापत्रभन्दा जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनको मुखमा मात्र विकास निर्माणका कामलाई तीव्रता दिने होइन, पाँच वर्षको कार्यकालभरि योजनाबद्ध र पारदर्शी रूपमा काम गर्नुपर्छ । विकासका नाममा गरिने खर्चको जवाफदेहिता हुनुपर्छ । सडक, भवन र भौतिक संरचना निर्माण मात्र विकास होइन । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी र सामाजिक सुरक्षामा नागरिकले अनुभूति गर्ने सुधार पनि विकासका आधार हुन् ।
अबको बाटो के ?
नेपाली राजनीतिले अब पारदर्शी र जवाफदेही शासन व्यवस्था, भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी तथा उत्पादनमा केन्द्रित आर्थिक नीति, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षण तथा राष्ट्रिय मुद्दामा राजनीतिक दलबीच सहकार्यलाई प्राथमिकता दिनुपर्छ । निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास हो, तर निर्वाचन जित्नु मात्र राजनीतिक सफलताको मापदण्ड हुन सक्दैन । जनताको विश्वास जित्नु र उनीहरूको जीवनमा परिवर्तन ल्याउनु नै नेतृत्वको वास्तविक सफलता हो ।
अन्ततः नेपाली राजनीतिमा अबको बाटो सत्ता परिवर्तनको मात्र होइन, सोच र संस्कार परिवर्तनको हुनुपर्छ । नेता बदलिनुभन्दा नेतृत्वको चरित्र बदलिनुपर्छ, सरकार बदलिनुभन्दा शासन गर्ने शैली बदलिनुपर्छ र राजनीतिक भाषणभन्दा जनताको जीवनमा परिवर्तन देखिनुपर्छ । नयाँ नेतृत्वले पुराना गल्ती दोहो¥याउनु हुँदैन भने पुराना राजनीतिक दलले पनि जनताको बदलिएको चेतना र अपेक्षालाई बुझ्नुपर्छ ।
देश बनाउने जिम्मेवारी कुनै एक नेता, दल वा सरकारको मात्र होइन । यो सम्पूर्ण नागरिक र राजनीतिक नेतृत्वको साझा दायित्व हो । राजनीतिमा विचार र सिद्धान्त फरक हुन सक्छन्, प्रतिस्पर्धा पनि हुन सक्छ । तर राष्ट्रिय हित, सुशासन र जनताको समृद्धिका सवालमा सहकार्य आवश्यक छ । त्यसैले अबको निर्वाचनको बहस जित र हारमा मात्र सीमित हुनु हुँदैन । निर्वाचनपछि देश र जनताको जीवनमा के परिवर्तन आउँछ भन्ने प्रश्न नै राजनीतिक बहसको केन्द्रमा रहनुपर्छ । यही नै आजको आवश्यकता र नेपाली राजनीतिले समात्नुपर्ने सही बाटो हो ।