दमक/ कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिर १५ गते तथा कोशी प्रदेश अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुँदैछ । कोशी प्रदेशमा नियमित १५औँ महाधिवेशन पक्षधर (शेरबहादुर देउवा समूह) मा स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिहरू खुल्ने क्रम जारी रहेको छ । प्राप्त विवरण अनुसार प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित तीन र समानुपातिकतर्फ दुई गरी पाच जना सांसद उक्त पक्षमा सक्रिय देखिएका छन् भने समानुपातिककै अर्की एक सांसद बैठकमा सहभागी भए पनि निर्णय गरिनसकेको बताइएको छ । स्थानीय तहतर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य राई र उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । जो पार्टीको जिल्ला सभापतिसमेत भइसकेका छन् ।
नेपाली काग्रेस प्रदेशका महामन्त्री भूपेन्द्र राईका अनुसार प्रत्यक्ष निर्वाचित सांसदहरू पूर्वमुख्यमन्त्री केदार कार्की, भुपेन्द्र राई र रामबहादुर खत्री सक्रिय रहेका छन् । त्यस्तै, समानुपातिक तर्फ खगेश्वरी पौडेल, सुनिता गच्छदा चौधरी र इन्दिरा थापा नियमित महाधिवेशनको पक्षमा खुलेको दाबी महामन्त्री राईले गरे ।
यद्यपि, समानुपातिक सांसदमध्ये पौडेल सक्रिय रूपमा लागेको देखिए पनि अन्य दुई सांसदले भने फरक धारणा राखेका छन् । केही दिनअघि विराटनगरमा भएको बैठकमा सहभागी भएको स्वीकार गर्दै सांसद चौधरीले महाधिवेशनमा जाने वा नजाने विषयमा अहिले नै कुनै टुङ्गो नलागेको र पछि मात्रै थाहा हुने बताइन् । उनी नेता विजय गच्छदार निकटकी हुन् । शेखर कोइराला निकट मानिने अर्की सांसद थापाले भने आफू कुनै पनि लाइनमा नखुलेको र तटस्थ रहेका छन् । प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
पार्टी सभापति गगनकुमार थापाले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नयाँ पार्टीमा लाग्ने भए पदबाट राजीनामा दिन सुझाव दिँदै राजीनामा नदिए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएपछि यो विवाद चर्किएको हो। सभापति थापाको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै त्रियुगा नगरपालिकाका मेयर बस्नेतले १५औँ नियमित महाधिवेशनप्रति जनलहर बढ्न थालेपछि संस्थापन पक्ष आत्तिएर कारबाही गर्ने चेतावनी दिएको आरोप लगाउनुभएको छ । आफूहरूले पदका लागि राजनीति नगरेको मेयर बस्नेतको भनाइ छ ।
यता, सभापति थापाको चेतावनीविरुद्ध कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई ‘प्रधानमन्त्रीका उम्मेदवारज्यू’ भनी सम्बोधन गर्दै कडा प्रतिवाद गरेका छन् । गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले थापालाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनाव लडेको सन्दर्भ जोड्दै कार्कीले हिजोको निर्वाचनमा रूखमा भोट हालेको
कोशी…… र मागेको स्मरण गराएका छन् । रूखमा भोट नहालेको भनी उजुरी परेका, तथाकथित अनुशासन समितिले स्पष्टीकरण सोधेका र स्वयं थापाले नै भ्रष्ट भन्दै पार्टीबाट निकाल्नुपर्छ भनेकाहरू अहिले उतै किर्ना जसरी टाँसिएर बसेको कार्कीले आरोप लगाए । यसैगरी, प्रदेश महामन्त्री भूपेन्द्र राईले पनि फेसबुक तथा संवादमार्फत कसले अर्को पार्टीमा लागेको, अर्को पार्टीको महाधिवेशनमा भाग लिएको र चुनाव चिन्ह रूख छोडेको भनी प्रश्न गरेका छन् । आफूहरूले रूख र कांग्रेस नछोडेको स्पष्ट पार्दै राईले संस्थापन पक्षले विशेष अधिवेशन गरेको र आफूहरूले नियमित १५औँ महाधिवेशन गर्न लागेको फरक मात्र रहेको उल्लेख गरेका छन् ।