देश–समाज राजनीति समाचार स्थानीय

विवादका विच नेकाको विशेष महाधिवेशनको तयारी

काठमाडौं/ विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विवाद उत्कर्षमा पुगेका बेला विशेष महाधिवेशन पक्षधरले भने कार्यक्रम स्थलमा तयारी तिब्र पारेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । शुक्रबार बिहानै देखि कार्यकर्ताहरू चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्न व्यस्त भए । बहुमत महाधिवेशन प्रतिनिधिको दावि गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ । तर कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधान विपरित भएको भन्दै सहभागी नहुन नेता काराकर्तालाई आग्रह गर्दै आएको छ ।
यसैक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनले पार्टी फुट्छ भनेर अतिरञ्जनापूर्ण प्रचार भइरहेको बताएका छन् । सञ्चारकर्मीसँग उनले पार्टीको विधानमा भएको प्रावधानको प्रयोग गर्दा कांग्रेस नफुट्ने पनि तर्क गरे । विशेष महाधिवेशनले पार्टीलाई आन्तरिक रुपबाट बलियो बनाउने, ग्रासरुटदेखि केन्द्रसम्म एकाकार गर्ने र पार्टी परिवारलाई एकै ठाउँ बसेर छलफल गरी भविष्यको बाटो तयार गर्ने उनले बताए । विधानमा भएको व्यवस्थालाई नजरअन्दाज गर्न कांग्रेस सभापति शेरबहादुर देउवालगायत कसैले पनि नपाउने उनले बताए । पार्टीको विधानलाई पालना नगरेको खण्डमा अनुशासनहिनता बढेर जाने उनले बताए । उनले आफूहरु प्रजातन्त्रवादी रहेको बताउँदै प्रजातन्त्रवादीले विधान पालना गर्नुपर्ने बताए ।
संवादका लागि अपिल
चुनावअघि पार्टीको नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुले २५ भन्दा बढी केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल गरेका छन् । सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरुले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राखी कांग्रेसलाई निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी रहेको जनाएका छन् । संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।’ परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने उनीहरको मत छ ।
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेसभित्रको विवाद तत्काल मिलाउन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आग्रह गरेको छ । महाराजगन्जस्थित देउवा निवासमा सभापति देउवालाई भेट्दै भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको युवा नेताहरूले यस्तो आग्रह गरेका हुन् । युवा टोलीले वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएका आन्तरिक समस्याको समाधानका लागि पार्टी सभापति देउवासमक्ष एकता र मेलमिलापको पहल गर्न आग्रह गरेको नेविसंघले जनाएको छ ।
रोकियो पत्रकार सम्मेलन
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेको समयमा कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलनको आयोजना गर्ने भनिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका थिए । तर मुख्य सचिव पौडेललेनै अर्को सूचना जारी गरेर पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

Author

You may also like