दमक/ कोशी प्रदेश सरकारले प्रदेशका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पु–याउने उद्देश्यले पहिलोपटक ‘कोशी घुम्ती अस्पताल’ सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिका–३ बाट शुक्रबार औपचारिक रूपमा घुम्ती स्वास्थ्य सेवाको शुभारम्भ गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको उद्घाटन गर्दै घुम्ती अस्पताललाई ‘स्वास्थ्य पहुँच नपुगेका जनतासम्म सरकारको प्रत्यक्ष सेवा पु¥याउने माध्यम’ का रूपमा परिभाषित गरे । उनका अनुसार, “प्रदेश सरकार अब स्वास्थ्य क्षेत्रप्रति देखिने गरी काम गर्छ, जनताको ढोका ढोका पुग्छ ।” ठूलो बसभित्र अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरिएको यस अस्पतालमा रेडियोलोजी, मुटुको एक्स–रे, ब्लड टेस्ट, रगत नमूना सदरलन तथा प्राथमिक स्वास्थ्य जाँच गर्न सकिने व्यवस्था गरिएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार, “यो अस्पतालमा प्रयोग भएका उपकरणहरूले ग्रामीण क्षेत्रमा तत्काल निदान र उपचार सम्भव बनाउनेछन् ।” मुख्यमन्त्री कार्कीले महामारी फैलिँदा वा आकस्मिक अवस्थामा यस किसिमको मोबाइल अस्पताल अत्यन्त प्रभावकारी हुने बताए । उनले भने, “कोशी घुम्ती अस्पताल नेपालकै पहिलो नमूना प्रयास हो, यसलाई थप परिस्कृत गर्दै अन्य जिल्लासम्म विस्तार गर्ने तयारी भइरहेको छ ।”
त्यस्तै, प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले स्वास्थ्य क्षेत्रलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै भने, “जनताले महसुस गर्न सक्ने किसिमले स्वास्थ्य सेवा अब गाउँसम्म पु–याइनेछ ।”
स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार, करिब ८० लाख रुपैयाँ लागतमा बसमै अत्याधुनिक उपकरण जडान गरी ‘कोशी घुम्ती अस्पताल’ सञ्चालनमा ल्याइएको हो ।
यसै अवसरमा, स्वास्थ्य निर्देशनालयले कमल गाउँपालिकामा एकदिने स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ, जसमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । प्रदेश सरकारले निकट भविष्यमा अन्य जिल्लामा पनि यस्ता घुम्ती अस्पतालहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।