भद्रपुर । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक भद्रपुर क्रिकेट क्लबले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चार गरी जम्मा आठ टिमको सहभागिता रहनेछ।
भारततर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी ९गुवाहाटी०, ग्लोबल स्टार क्रिकेट क्लब (लखनाऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन्। त्यस्तै नेपालतर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्सरगण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक मनोज सुब्बाले बताए।
आठवटै टिमलाई दुई समूहमा विभाजन गरी लिग ढाँचामा खेलाइनेछ। प्रतियोगिताको विस्तृत खेल तालिका केही दिनमै सार्वजनिक गरिने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए।
पुरस्कारतर्फ प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। साथै उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए।
त्यसैगरी उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताका अवसरमा भारतीय तथा नेपाली खेलाडी र अफिसियलहरूलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाल लगायतले प्रतियोगिताको सफलताको कामना व्यक्त गरेका थिए।