देश–समाज राजनीति विचार/वहस स्थानीय

महन्थ ठाकुर र नेपाली राजनीतिमा पदको मोह

: — त्रिलोचन कोइराला —:
महन्थ ठाकुर आदर्शवादी नेता मानिन्छन् भन्ने दाबी नेपाली राजनीतिमा वर्षौँदेखि दोहोरिँदै आएको एउटा सुविधाजनक मिथक हो। तर आदर्शवाद कुनै पदवी होइन, व्यवहार हो। त्याग, आत्मसंयम र सही समयमा जिम्मेवारी हस्तान्तरण गर्ने नैतिक साहस बिना आदर्शवाद केवल भाषणको सजावट बन्छ। आज ८३ वर्षको उमेरमा पनि पद, हैसियत र सत्ता वरिपरि नै घुमिरहने राजनीतिक यात्राले महन्थ ठाकुरको कथित आदर्शवादलाई गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ।
दुई जना कार्यकर्ताले दुवै हात कसेर समात्दै निर्वाचन कार्यालय पु¥याउनु परेको दृश्य केवल शारीरिक कमजोरीको संकेत होइन, त्यो दृश्य नेपाली राजनीतिमा व्याप्त सत्ता–लालसा र पदको लतको जिउँदो चित्र हो। राजनीति सेवा हो कि आजीवन जागिर? यदि सेवा हो भने कुन बिन्दुमा नेतृत्वले आफैँलाई रोकेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ? सहाराविना उभिन नसक्ने अवस्थामा पुगेको नेतृत्वले राज्यलाई के मार्गदर्शन दिन सक्छ भन्ने प्रश्न यस दृश्यले निर्दयी रूपमा उठाइदिएको छ।
महन्थ ठाकुर पटक–पटक सांसद बने, मन्त्री बने, सत्ता र प्रतिपक्ष दुवैको स्वाद चाखे। अनुभवको कमी थिएन। तर अनुभवको पराकाष्ठा भनेको कुर्सीमा टाँसिनु होइन, समयमै विदा लिन जान्नु हो। २०७९ को प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवार बन्दै गर्दा उनले जनतासामु भनेका थिए— “यो मेरो अन्तिम चुनाव हो।” त्यो वाक्य आज स्मरण गर्दा राजनीतिक नैतिकताको मजाक जस्तो लाग्छ। यदि त्यो झुटो वाचा थिएन भने, अहिलेको उम्मेदवारी के हो? आत्मप्रवञ्चना कि जनतालाई दिएको वचनप्रति खुला अवहेलना?
राजनीतिमा वाचा मत तान्ने औजारमा सीमित भयो भने लोकतन्त्रको आत्मा मर्छ। अन्तिम चुनाव भन्दै भावुक अपिल गर्ने र फेरि अर्को निर्वाचनमा उम्मेदवार बन्नु नैतिक पतनको स्पष्ट उदाहरण हो। यस्तो व्यवहारले केवल एक नेताप्रति होइन, सम्पूर्ण राजनीतिक प्रणालीप्रति जनविश्वास क्षय गर्छ। महन्थ ठाकुरको राष्ट्रिय सभाको उम्मेदवारी यही कारण गम्भीर आलोचनाको केन्द्रमा छ।
झन् गम्भीर र खतरनाक पक्ष के छ भने उनी आफ्नै दल लोसपासहित नेकपा एमाले, नेपाली कांग्रेस र जसपाका नेपालका साझा उम्मेदवार बनेका छन्। सिद्धान्त, विचार र घोषणापत्रका नाममा एक–अर्कामाथि वर्षौँ आरोप–प्रत्यारोप गर्ने दलहरू आज एउटै व्यक्तिको नाममा सहमत हुनु कुनै राष्ट्रिय सहमति होइन, यो सत्ता भागबण्डाको निर्लज्ज सौदा हो। यहाँ न नीति बाँकी छ, न विचार, न नैतिक धरातल। बाँकी छ त केवल अंकगणित, कुर्सीको सौदाबाजी र शक्ति सन्तुलन जोगाउने डर।
यदि कुनै राजनीतिक उथलपुथल भएन भने महन्थ ठाकुर राष्ट्रिय सभामा सुरक्षित हुने लगभग निश्चित छ। तर यही ‘सुरक्षित’ बनाउने संरचनाले लोकतन्त्रलाई खोक्रो बनाएको छ। यहाँ चुनाव जनताको निर्णय होइन, दलहरूबीचको गुपचुप सहमतिबाट तय हुँदैछ। यस्तो व्यवस्थाले युवालाई राजनीति प्रवेशको प्रेरणा होइन, घृणा दिन्छ। यसले समाजमा खतरनाक सन्देश फैलाउँछ— राजनीति विचारको लडाइँ होइन, जीवनभर कुर्सी नछोड्नेहरूको क्लब हो।
यो गलत सन्देश केवल ठूला दलबाट मात्र होइन, अन्य दलहरू पनि यही भागबण्डाको खेलमा सामेल हुँदै गएपछि झन् गहिरो बनेको छ। जब सबै दल अन्ततः हिस्साबन्डामा रमाउँछन्, तब लोकतान्त्रिक प्रतिस्पर्धा समाप्त हुन्छ र संसद जनताको प्रतिनिधि संस्था होइन, सत्ता बाँडफाँडको थलोमा झर्छ।
निर्वाचन कार्यालयमा महन्थ ठाकुर बोलेनन्। त्यो मौनता केवल शारीरिक कमजोरीको परिणाम थिएन, त्यो नेपाली राजनीतिमा जवाफदेहिताको मौनता थियो। जब नेता बोल्न सक्दैन, हिँड्न सक्दैन, निर्णय लिन सक्दैन, तब उसको उपस्थितिले राज्यलाई केही दिन सक्दैन। राजनीतिमा प्रतीकात्मकता महत्त्वपूर्ण हुन्छ, तर त्यो प्रतीक त्याग र जिम्मेवारीको हुनुपर्छ, असहायताको होइन।
नेतृत्व भनेको पद धारण गर्नु मात्र होइन, सही समयमा विदा लिनु पनि हो। विश्वका धेरै लोकतान्त्रिक मुलुकमा नेताहरूले निश्चित उमेरपछि सक्रिय राजनीति त्यागेर सल्लाहकार वा मार्गदर्शकको भूमिका रोज्छन्। त्यो परिपक्वता हो। तर नेपालमा राजनीति जीवनभरको जागिर बनेको छ, जहाँ अवकाश शब्द नै अपरिचित छ। महन्थ ठाकुर त्यसै संस्कृतिको उपज मात्र होइन, अहिले त्यसका प्रतीक बनेका छन्।
आदर्शवादी नेता भन्नु इतिहासका केही पानाले मात्र सम्भव हुँदैन। वर्तमान व्यवहारले त्यो छवि प्रमाणित गर्नुपर्छ। आजको सन्दर्भमा महन्थ ठाकुरको निर्णयले आदर्शवाद होइन, स्वार्थवादको गन्ध दिन्छ। उनी नयाँ नेतृत्व उभ्याउने अभिभावक बन्न सक्थे, तर उनले फेरि पनि कुर्सीकै बाटो रोजे।
यो प्रसंग कुनै एक व्यक्तिको मात्र आलोचना होइन, यो सम्पूर्ण राजनीतिक संस्कृतिमाथि गरिएको अभियोग हो। जब ८३ वर्षे, असहाय अवस्थामा रहेका व्यक्तिलाई साझा उम्मेदवार बनाइन्छ, तब त्यो दलहरूको वैचारिक र नेतृत्वगत असफलताको प्रमाण बन्छ। नयाँ नेतृत्व आएमा पुरानो शक्ति सन्तुलन भत्किने डरले नै यस्तो निर्लज्ज सहमति सम्भव भएको हो।
महन्थ ठाकुरको राष्ट्रिय सभाको उम्मेदवारीले एउटा नांगो सत्य उजागर गरेको छ— नेपालमा राजनीति परिवर्तनको माध्यम होइन, पुराना अनुहार र शक्ति जोगाउने संरक्षण कवच बनेको छ। व्यवस्था बदलिन्छ, संविधान बदलिन्छ, नारा फेरिन्छ, तर सत्ता मोह र भागबण्डाको संस्कार झन् गहिरो बन्दै गएको छ। अन्ततः प्रश्न उनको उमेर वा स्वास्थ्यको होइन, जिम्मेवारीको हो। देश, जनता र लोकतन्त्रप्रतिको जिम्मेवारी कहिले व्यक्तिगत चाहनाभन्दा माथि राखिन्छ? यदि ८३ वर्षको उमेरमा पनि पद त्याग्न नसकिने हो भने, त्यो आदर्शवाद होइन, लोकतान्त्रिक असफलता हो।
यो लेख कडा छ, किनकि अवस्था कडा छ। सत्य मीठो हुँदैन। यदि नेपाली राजनीतिले साँच्चै सुधार चाहन्छ भने, महन्थ ठाकुर जस्ता अनुभवी नेताहरूले नै उदाहरण देखाउनुपर्छ— वाचा पूरा गरेर, पद त्यागेर र नयाँ पुस्तालाई ठाउँ दिएर। नत्र इतिहासले उनीहरूलाई आदर्शवादी होइन, पदको मोहमा लोकतन्त्र थिच्ने पात्रका रूपमा मात्र सम्झिनेछ।

Author

You may also like