अँध्यारो पर्दालाई उज्यालो बनाउने शिक्षकहरु नै हुन् । जसले सबैलाई सम्मान गर्न सिकाउँछन् । आदर्शको कुरा र व्यवहार सिकाउँछन् । एक आपसमा भातृत्वको समान भावना राख्न सिकाउँछन् । अज्ञानीलाइ ज्ञानी बनाउँछन् । त्यसैले शिक्षक भनेका मैनबत्तीका सिखा हुन् जो आफू जलेर अरुलाइ प्रकाश छर्छन् । उनीहरू श्रमिक हुन् । श्रममा बीज उमार्छन् । अरुलाई ढाँट्न , छिपाउन जान्दैनन् । त्यसैले शिक्षक महान व्यक्ति हुन् । हुन सक्ला शिक्षकहरु आफू कर्तव्यपथमा लागिरहदा कतै – कतै चुक्न पनि सक्लान् । तर शिक्षकहरु कोहीकसैसँग हात पसारेर खान जान्दैनन् । श्रम गरेर बाँच्न उनीहरू कोहीसँग झुकेर हात फैलाउँदैनन् । शिक्षालाई ज्ञानको ज्योति भनिन्छ ।
शिक्षामा व्यक्ति, समाजलाई अँध्यारोबाट उज्यालो तर्फ लैजाने क्षमता हुन्छ । जुन समाजमा शिक्षाको विकास हुन्छ , त्यस देशको चौतर्फी विकास भएको आभास हामीले पाउन सक्छौं । यसको एउटा उदाहरण हो जापानको शिक्षा । शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र त्यस मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देश गर्छ । जसको परिणाम स्वरुप त्यो देश, समाज, राजनीतिमा अमूल्य र गतिशील परिवर्तन आउँछ । शिक्षाको व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाज द्वारा नै राजनीतिको संचालन हुने गर्छ । त्यसैले असल राजनीति र राजनीतिको लागि शिक्षाको ठूलो महत्व छ । शिक्षकहरु जनचेतना फैलाउने प्रतिक अथवा संवाहक शक्ति हुन् भनि जानीजानी उनीहरूलाई हिजोदेखि आजसम्म राजनीतिक दलको सक्रिय सदस्यता र चुनावी मैदानमा अदृश्य तरिकाले मतदाता नामावलीको क्रमाङ्क लिष्ट बाँढ्ने काम पार्टीहरुले गरे । त्यतिमात्रै होइन पार्टीको चुनावमा मतदान अधिकृत जस्तो पदमा उनीहरूलाई प्रयोग गरे । हिजोको विरासतदेखि आजका मितिसम्म आइपुग्दासम्म राजनीतिक दलहरुले उनीहरूकै लवेदासम्म बनाउदा सहर्ष स्विकार्दै चुनावी मैदानमा शिक्षकहरु समाहित भए ।
भनिन्छ – ‘हाम्रो समाजमा शिक्षक भनेको सामाजिक चेतनाका प्रतिनिधि पात्र हुन् । ६०–७० वर्ष पहिले नेपालमा विद्यालय खोल्ने तत्परता कसले देखाए होलान् ? निश्चित रूपमा त्यस किसिमको सामाजिक चेतनाको दीप बाल्ने काममा केही पढे – लेखेका र सामाजिक चेतना भएका युवाहरू नै संलग्न थिए । ती मध्ये अधिकांश पछि शिक्षक बने । अहिले पनि देख्न र बुझ्न स्पष्ट सकिन्छ कि सभासद, मेयर, अध्यक्ष लगायतका धेरै पदहरुमा कोही न कोही शिक्षकहरु नै निर्वाचित छन् । किनकि उनीहरू योग्यता भएका छन्, बुद्धिजीवीभित्र पर्दछन् भने कतिपय प्रतिनिधिहरु प्रवेशिका परीक्षा उत्तीर्ण समेत नभएका र हस्ताक्षरसम्म गर्न नजान्ने पनि छन् नयाँ नेपालमा । वास्तवमा भन्ने हो भने नेपालमा शिक्षा, शिक्षक र राजनीति संगसंगै अघि बढेका हुन् । राजनीतिलाई व्यापक अर्थमा लिने हो भने शिक्षा र शिक्षक दुबै राजनीतिका अपरिहार्य कडी हुन् । यिनलाई नङ र मासुको रुपमा लिन सकिन्छ । राजनीति – मुलुकमा चेतना, परिवर्तन, विकास र त्यसको व्यवस्थापनका लागि हो भनेर मान्दा एउटा चेतनशील समुदायको रूपमा रहेको शिक्षक त्यस्तो राजनीतिबाट अलग हुन सक्दै – सक्दैन । तर राजनीति भन्दा तिनै पार्टी र तिनकै नेतृत्वको संवाहक शक्तिको रूपमा रहेर झोले भएर हिड्नुपर्छ भन्ने मान्यता भने पटक्कै होइन । यहाँ शिक्षक पदलाई गलत अर्थ लगाउने झुण्डहरु प्रत्येक पार्टीमा छन् हिजोआज । उनीहरूको दिनचर्या कसरी शिक्षकहरुको पहिचान तथा जिम्मेबारीलाई नामेट पारौं भन्ने सोचमा पार्टीका ठुटे नेताहरुको बाहुल्य हाम्रै समाजभित्र छ । उनीहरू चर्चा गर्ने भनेकै हाम्रै पेसा र जिम्मेबारीको हो । पार्टीहरु ‘फुटाउ अनि राज गर’ भन्नेतर्फ उन्मुख छन् । यी सबकुरा असल र मितब्ययिता भएका धेरै शिक्षकहरुले अहिले पनि बुझ्न सकेका छैनन् । अहिले हामीले राजनीतिलाई नकारात्मक रुपबाट बुझ्ने बनाए पार्टीहरुले नै । शिक्षकहरुलाई पदीय भागबण्डा उनीहरूले सिकाए । कुनै पार्टीको झण्डा बोकेर हिँड्ने, जिन्दावाद र मुर्दावादमा सिमित हुने र ब्यक्तिगत लाभ ÷हानीका लागि गरिने दौडधुप नै राजनीति हो भन्ने भ्रम समाजमा पर्न गएको छ । तर, त्यो यथार्थ भने पटक्कै होइन । राजनीति भनेको परिवर्तनको वाहक हो, सत्तामा पुग्ने साधन मात्रै होइन भन्ने कुराको बोधसम्म नगर्ने हाम्रै समाजमा हुँदासम्म उनीहरूलाई राजनीति राम्ररी बुझाउने ल्याकत हामी शिक्षकहरुमा मात्र छ । यहाँ ‘संविधानसभा’ भन्दा ‘संखुवासभा’ बुझ्नेहरु पनि सांसद छन् । आज तिनकै पछिपछि सरुवा र बढुवा, पदोन्नति अनि जागिरका निम्ति जी हजुरी गर्नुपर्ने अवस्था विद्यमान छ यहाँ । हामी कहाँ शिक्षा र राजनीति निरन्तर रुपमा एकअर्कामा परिपुरक भएर आएका छन् । जसलाई जसले जतिसुकै आरोप र प्रत्यारोप गरेपनि हुनेवाला केही छैन यहाँ ।
शिक्षकहरुको पुरानो विरासतको बयान गर्नुपर्दा २०३६ सालपछि राजनीतिक माहोल केही खुकुलो बनेपछि भित्रभित्रै पार्टी संघ, संगठनमा संलग्न कतिपय शिक्षकहरु कम्युनिष्ट पार्टीको पूर्णकालीन सदस्य बने र राजनीतिमा आए । विशाल जनवर्गीय संघ, संगठन बनाउन उतिबेला उनीहरूकै महत्वपूर्ण हात छ । उतिबेला जनमत संग्रहमा बहुदलको प्रचार गर्न पाउनुपर्छ भन्ने माग सहित ने.रा.शि.सं.को जन्म भयो । तत्पश्चात नेपाली कांग्रेस आवद्धका नेपाल शिक्षक संघ लगायत माओवादी लगायतका अन्य शिक्षक संघसंगठनको उदय भएपश्चात अहिले व्यापक रुपमा शिक्षकहरु गोप्यजस्तो गरी पार्टीको सिपाही भएका छन् । उनीहरूलाई मोहोरा बनाएर जनवर्गीय संघ, संगठनहरु मजबुत भएपछि नेताहरु पनि बलियो भए । सानोदेखि उपल्लो दर्जासम्मको पदमा पार्टीका नेताहरुले बस्ने मौका पाए । आखिर त्यो गुमेको विरासत जोगाउने को हुन ? तिनै शिक्षक हुन कि ‘कखरा’ सम्म छिचोल्न नसक्ने बुर्जुवा नेता हुन ? यो सम्म आफूले पदभार ग्रहण गरेपछि बुझ्न सकेनन नेताहरूले । हिजो तिनै शिक्षकले गरिमामय पदमा आसिन गराउँदासम्म सबथोक मान्ने तर आज सिण्डिकेट प्रणालीमा लागेर शिक्षकलाई बाइपास गरेको अवस्था छ । आज राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्वाध रूपमा चल्न सकेको छैन । शिक्षक कर्मचारीलाई उनीहरूको पेशागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्यांकन गरिनुको कारण बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख छन् ।
शिक्षामा राजनीति बढी भयो मात्रै भन्नेको भीड छ अहिले । राजनीति आफैंमा गहिरो शब्द हो । नीतिहरु मध्येको श्रेष्ठतम् नीति राजनीति हो । राजनीति विधिसँग जोडिएको हुन्छ यो परिवर्तन भइरहन्छ । राजनीतिबाट शिक्षा अलग गर्नै सकिन्न । शिक्षामा राजनीति अनेकौं विषयमध्ये एक विषय हो । यसकारण शिक्षामा राजनीति गर्ने पटक्कै होइन । शिक्षाको राजनीति गरौं, ताकि विद्यालयले बढी भन्दा बढी प्रत्येक विषयमा जान्ने विद्यार्थीहरुको बाहुल्यता होस् । शिक्षकले कुनै पार्टीमा आस्था राख्न सक्छ तर राजनीति गर्ने नाममा विद्यालय छोडेरै राजनीति नगरौं । पार्टीको कुनै पनि पदमा नबसी र सकृय सदस्यता नलिइकन अध्ययन अध्यापनमा लागौं । शिक्षकहरु थोरैजसो अहिले पनि छेपारे प्रवृत्तिमा लागेका छन् भित्रभैत्रै । नपढाइ नेताको लवेदा समाएर सरुवा, बढुवा अनि सम्मानका निम्ति एउटा जुझारु शिक्षकको मानलाई मर्दन गरेर, दलीय सिण्डिकेटमा लागेर अहिले पनि राजनीति गरिरहेका छन् । यस्ता कार्य गर्नेहरुका निम्ति सम्पूर्ण शिक्षकहरु एकजुट बनौं । यो प्रथाको बिरोध गरौं ।
( लेखक, नेपाल राहत शिक्षक कमल गाउँ समिति झापाका अध्यक्ष हुन् )